१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ जेठ ४ बुधबार ०९:५२:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बाग्लुङ नगरपालिका प्रमुखमा कांग्रेस विजयी

Read Time : > 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०९:५२:००

१४ वटा वडा रहेको यस पालिकामा कांग्रेसले सात, माओवादीले एक, नेकपा एकीकृत समाजवादीले दुई, एमालेले तीन  र स्वतन्त्र एक वडामा विजयी

जिल्ला सदरमुकाम रहेको बाग्लुङ नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठले निवर्तमान नगरप्रमुख नेकपा एमालेका जकराज पौडेललाई भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन । नगरप्रमुखमा श्रेष्ठले १४ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् भने पौडेलले आठ हजार आठ सय २१ मत प्राप्त गरेका हुन् । 

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि श्रेष्ठ र पौडेलबीच नै प्रतिस्पर्धा भएको थियो । अघिल्लो निर्वाचनमा पौडेलले श्रेष्ठलाई झन्डै २२ मतको फरकले पछि पार्दै विजयी भएका थिए भने यसपटक श्रेष्ठ पाँच हजार आठ सय ५७ को मतान्तरमा विजयी भएका छन् ।

नगर उप्रमुखमा नेकपा माओवादी केन्द्रका राजु खड्का विजयी भएका छन् । पाँचदलीय गठबन्धनकै पक्षका उनले कुल १२ हजार चार सय २६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत प्राप्त गरेका छन् । 

बाग्लुङ नगरपालिकामा गठबन्धनका दल एकातिर थिए भने नेकपा एमाले राप्रपालाई सँगै लिएर चुनावी मैदानमा होमिएको थियो । नगरप्रमुखमा विवेकशील साझा पार्टीका सुरज खड्काले ५३, नेकपा मालेका मञ्जुमाया क्षेत्रीले २६ कांग्रेस बिपीका धना आचार्यले १२, नेपाल दलित पार्टीका भक्तबहादुर विकले ५९ र नेपाल परिवार दलका निलप्रसाद आचार्यले १२ मत प्राप्त गरेका छन् । 

नगर उपप्रमुखमा नेकपा समाजवादीका जीवन आचार्यले ५०, नेपाल दलित पार्टीकी शान्ति नेपालीले ४२ र स्वतन्त्र ताराकुमारी रिजालले ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । समाजवादीका जीवन आचार्यले भने नेकपा माओवादीका उम्मेदवार राजु खड्कालाई सहयोग गरेका थिए । 

नगरप्रमुखमा विजयी भएका श्रेष्ठ नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष  हुन् । उनी जिल्लामा लोकप्रिय छन् । विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेका श्रेष्ठ आमजनताबीच अब्बल नेताको रूपमा परिचित छन्। उपप्रमुखका विजयी भएका खड्का पनि बाग्लुङ कालिका भगवती मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएर लोकप्रियता कमाएका व्यक्ति हुन्  । उनी नेकपा माओवादी केन्द्र बाग्लुङ नगरपालिकाका सचिव हुन् । 

नगरपालिकामा अघिल्लो निर्वाचनमा नेकपा एमालेको बहुमत रहेकोमा यसपटक भने नतिजा उल्टिएको छ । १४ वटा वडा रहेको यस पालिकामा कांग्रेसले सातवटा वडा जितेको छ भने नेकपा माओवादी केन्द्रले एउटा वडा जितेको छ । त्यसैगरी, नेकपा एकीकृत समाजवादीले दुईवटा वडा जितेको छ । एमालेले भने तीनवटा वडा र स्वतन्त्रले एक वडामा प्यानलै जितेको छ ।