निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १९ आइतबार
  • Sunday, 03 July, 2022
रामशरण मैनाली
२०७९ जेठ ४ बुधबार ०८:३५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसरी गर्न सकिन्छ आगलागी नियन्त्रण

Read Time : > 2 मिनेट
रामशरण मैनाली
२०७९ जेठ ४ बुधबार ०८:३५:००

आगलागीबाट बच्न चाहिने सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक पूर्वतयारी गर्ने हो भने आगलागीबाट जोगिन सकिन्छ

गलागी कुनै पनि स्थान र समयमा हुन सक्छ । प्राकृतिक तथा अन्य मानव सिर्जित जुनसुकै कारणबाट आगलागी हुन सक्छ । यसबाट ठूलो जनधनको क्षति हुन सक्ने भएकाले समयमै रोकथामका उपायबारे जानिराख्नुपर्छ । आगलागी नियन्त्रणका लागि निम्न उपाय या प्रविधि प्रयोग गर्न सकिन्छ :

वाटर हाइडेन्ट : यसलाई खानेपानीको जुनसुकै मुख्य पाइप लाइनमा जडान गर्न सकिन्छ । मानव बस्ती बाक्लो भएको स्थानमा ५० मिटरको दूरीमा र आवश्यकता हेरी यसको जडान गर्न सकिन्छ । यसको आवश्यकतालाई ध्यान दिई करिब सय वर्षअघिको सरकारमा रहेका नीति–निर्माताले यसको पहिलो जडान काठमाडौँबाट सुरु गरेका थिए । काठमाडौँका कतिपय स्थानमा यसलाई अहिले पनि सुरक्षित अवस्थामै रहेको देखिन्छ । साँघुरो सडकका कारण वारुणयन्त्र प्रवेश गर्न नसक्ने र जाम या अन्य कारणले वारुणयन्त्र समयमा आउन नसक्ने अवस्थामा तत्काल वाटर हाइडेन्टबाट पानी निकाली स्थानीयस्तरबाट पनि अग्नि नियन्त्रण गर्न सकिन्छ । 

फायर एक्स्टिंग्विसर : आगलागीको सुरुवातमै यसको प्रयोग तत्काल गरी आगलागी नियन्त्रण गर्न सकिन्छ । यसमा प्रयोग हुने पाउडरलाई दुई केजीदेखि १० केजीसम्मको विभिन्न आकारका राता सिलिन्डरमा भरेर तयार गरिन्छ । यसका लागि एबिसी पाउडर भएको सिलिन्डर प्रयोग गरिन्छ । यसलाई ग्यास उद्योग, पेट्रोल पम्प, एयरपोर्ट, बैंक तथा वित्तीय कारोबार हुने क्षेत्र, ठूला भवन, कारखाना, सिनेमा हल, रेस्टुरेन्ट, अस्पताललगायत क्षेत्रमा तयारी अवस्थामा राखिन्छ ।

प्राकृतिक तथा अन्य मानव–सिर्जित जुनसुकै कारणबाट आगलागी भए पनि यसबाट ठूलो जनधनको क्षति हुन सक्ने भएकाले समयमै रोकथामका उपायबारे सबैले जानिराख्नुपर्छ

फायर सुट : अग्नि नियन्त्रकले आगोबाट शरीर बचाउन यसलाई पोसाकका रूपमा प्रयोगमा ल्याउँछन् । यस्तो पोसाक स्थानीयस्तरमा समेत उपलब्ध गराउन सके स्थानीय बासिन्दाले सुरक्षित भई अग्नि नियन्त्रण गर्न सक्छन् ।

वनक्षेत्रमा आगलागी : कतिपयले नयाँ घाँस राम्ररी पलाउने गलत विचारले वनक्षेत्रमा जानी–जानी आगो लगाउँछन् । कहिलेकाहीँ लापरबाहीका कारण पनि वनक्षेत्रमा आगलागी हुन्छ । समयमै सबै सचेत हुनु जरुरी छ ।

पानी भण्डारण : आगलागीको समयमा आगो निभाउन कतिपय मानवबस्तीमा पानीको अभाव हुन्छ । स्थानीयस्तरमा आगलागी नियन्त्रणमा सहयोग पु¥याउन प्रत्येक घर र समुदायले आफूसँग उपलब्ध भाँडामा पानीको अतिरिक्त भण्डारण गरी आगलागीकोे समयमा प्रयोग गर्नुपर्छ ।

पानीका स्रोतको संरक्षण : स्थानीयस्तरमा उपलब्ध ढुंगेधारा, इनार, पोखरी, कुवा, जरुवा, कुलो, ताल आदिको समय–समयमा सरसफाइ र मर्मतसम्भार गरी आगलागीमा प्रयोग गर्न सकिन्छ । 

तालिम :  तालिमप्राप्त व्यक्तिको काम गर्ने क्षमता उत्कृष्ट हुन्छ । स्थानीयस्तरमा अग्नि नियन्त्रण तथा विपत् व्यवस्थापनबारे तालिम दिएर दक्ष जनशक्ति तयार गर्नुपर्छ ।
सञ्चारमाध्यमको भूमिका : आधुनिक सञ्चारमाध्यमले आगलागी नियन्त्रणसम्बन्धी सचेतना सामग्री प्रकाशित गरी जनतालाई सुसूचित 
बनाउन सक्नुपर्छ । 

अग्लो भवन : अग्ला भवन निर्माण गर्दा सो क्षेत्रमा आगलागी, भूकम्पलगायत प्रकोपको बढी जोखिम हुन्छ । त्यसैले, धेरै अग्ला भवन निर्माण गर्नु पनि आगलागीबाट असुरक्षित हुनु हो । 

राहत व्यवस्थापन : अग्निपीडितलाई राहत वितरण गर्दा भेदभाव गर्नुहुँदैन । पीडितलाई अस्थायी बसोबासका लागि स्कुल, मठ–मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि स्थानमा राख्नुपर्छ । त्रिपाल, जस्तापाता, खाद्य सामग्री, लत्ता–कपडा, औषधि आदिको व्यवस्था गर्नुपर्छ । 

आवश्यक सामग्री : आगलागी नियन्त्रणका लागि आवश्यक सामग्री पिक, साबेल, कोदालो, बाल्टिन, सिँढी, डोरी, हेल्मेट, पानी तान्ने मोटर, पाइप, ड्रमलगायत आधुनिक उपकरण सजिलै भेटिने स्थानमा राख्नुपर्छ ।

परिवारका ठूला मानिस कामका लागि घरबाहिर जाँदा बाध्यतावश बालबालिकाबाट खाना पकाउनुपर्ने अवस्था सिर्जना हुँदा अज्ञानताका कारण आगलागी हुन सक्छ । घरमा चुलोमा बलेको आगोलाई कसरी सुरक्षित गर्ने भन्नेबारे बालबालिकालाई राम्रो जानकारी दिनुपर्छ । चुलोनजिक आगोले छिटो टिप्ने पेट्रोलियम पदार्थ, रसायन, पराल, खर (फुस), छवाली, भुसलगायत सामान राख्नु हुँदैन । बालबालिकाले भेट्ने स्थानमा सलाई, लाइटर राख्नुहुँदैन ।

आफ्नो क्षेत्रको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वडाका जनप्रतिनिधिको सम्पर्क नम्बर साथमा राख्नुपर्छ र आवश्यक परेको वेलामा तुरुन्त खबर गर्नुपर्छ । जाडोको समयमा विपन्न नागरिकले कपडाको अभावमा आगो तापेर गुजारा चलाउनुपर्ने स्थितिसमेत हुन सक्छ । यस्तो अवस्थामा सुतेको समयमा आगलागी भई ठूलो जनधनको क्षति हुन सक्छ । स्थानीयस्तरमा रहेका समुदायले आगलागीलगायत विभिन्न विपत् सामना गर्नुपर्ने अवस्था छ । त्यसका लागि आगलागीबाट बच्न प्रयोग गरिने सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक पूर्वतयारी गर्ने हो भने आगलागीबाट जोगिन सकिन्छ । र, आगलागीबाट हुन सक्ने सम्भावित धनजनको क्षतिबाट बच्न सकिन्छ ।