Skip This
बेवास्ताले बढ्दै रेबिज संक्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Saturday, 27 July, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ जेठ ४ बुधबार o८:o९:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बेवास्ताले बढ्दै रेबिज संक्रमण

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार o८:o९:oo

रेबिजको लक्षण देखिएपछि टेकु अस्पताल पुर्‍याइएकी काठमाडौंकी २७ वर्षीया मनिता जोशी(नाम परिवर्तन)को शनिबार ज्यान गयो । उनलाई घरमै पालेको कुकुरले एक महिनाअघि टोकेको थियो । घरकै कुकुरले टोक्दा रेबिज नहोला भनेर उनले बेवास्ता गरिन् । तर, पछि रेबिजको लक्षण देखिएपछि अस्पताल पुगेकी थिइन् । 

परीक्षणपछि उनमा रेबिज देखियो र सोही कारण ज्यान गुमाउनुपरेको चिकित्सकहरूले बताए । घरमै पालेको कुकुरले टोक्दा रेबिज हुँदैन भन्दै रेबिजविरुद्धको खोप नलगाउँदा जोशीले जस्तै ज्यान गुमाने बढिरहेको चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार वैशाख महिनामा मात्रै टेकु अस्पतालमा रेबिजका कारण ज्यान गुमाउने ६ जना पुगिसकेका छन् । जसमध्ये अधिकांश घरपालुवा जनावरको टोकाइबाट रेबिज संक्रमण भएका छन् । 

खोप निःशुल्क पाउँदा पनि बेवास्ता गर्छन् : डा. विमल शर्मा चालिसे कन्सल्टेन्ट डाक्टर, टेकु अस्पताल
रेबिजविरुद्धको खोप र इम्युनोग्लोबिनको प्रयोगबाट शतप्रतिशत बच्न सकिन्छ । खोप लगाएर बच्न सकिने रोगको उपचारका लागि समेत अस्पताल पुग्ने बिरामी दैनिक बढ्नु सामान्य विषय होइन । तीन डोज खोप लगाउँदा संक्रमणबाट बचाउन सकिन्छ, तर, बेवास्ता गर्नेहरूको संख्या अत्यधिक छ ।

वैशाख दोस्रोे साता बाजुराकी ५२ वर्षीया सुशीला ओलीको रेबिज संक्रमणबाट ज्यान गयो । उनलाई पनि घरमै पालेको कुकुरको बच्चाले दुई महिनाअघि टोकेको थियो । सानो घाउ केही दिनमै निको भएपछि वास्ता गरिनन् । तर, पछि रेबिजले गम्भीर बनाएपछि नेपालगन्ज अस्पताल लगिएको थियो । नेपालगन्जमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको थियो । उपचार ढिला सुरु गरेका कारण उनको ज्यान गयो । 

रेबिजका कारण बर्सेनि तीन दर्जनले गुमाउँछन् ज्यान
नेपालमा रेबिजविरुद्धको खोप नि:शुल्क उपलब्ध हुन्छ । तर, पनि यही रोगका कारण प्रत्येक वर्ष दुईदेखि तीन दर्जन व्यक्तिको ज्यान गइरहेको सरकारी तथ्यांकले देखाउँछ ।पछिल्लो दशक रेबिजको लक्षण देखिएपछि अस्पताल पुग्ने दर बढे पनि लक्षण देखिनुअघि नै अस्पताल आउने दर भने बढ्न सकेको छैन । जसको एउटा प्रमुख कारण घरपालुवा जनावरले टोक्दा बेवास्ता गर्नु एक हो । यसले जोखिम बढाइरहेको चिकित्सकहरूको भनाइ छ । संक्रामक रोगको उपचार हुने शुक्रराज अस्पताल टेकुमा मात्र आर्थिक वर्ष २०७७/७८ मा दुई दर्जनभन्दा बढीको ज्यान गएको छ । पछिल्लो तीन महिनामा मात्रै १० जनाको रेबिजकै कारण ज्यान गएको अस्पतालको तंथ्याकले देखाउँछ । धेरैजसो विकसित देशहरूले घरपालुवा कुकुरमा रेबिज उन्मूलन नै गरिसकेका छन् । तर, नेपालजस्ता विकासोन्मुख देशहरूमा अझै पनि कुकुरमा रेबिज उन्मूलन नहुँदा मान्छेमा सर्ने र मृत्यु हुने क्रम बढिरहेको चिकित्सकहरू बताउँछन् । 

 नि:शुल्क पाउने खोपसमेत नलगाउँदा चुनौती
डा. विमल शर्मा चालिसे जनावरले टोकेपछि पनि बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने, घरपालुवा जनावरले टोक्दा असर गर्दैन भनेर बेवास्ता गर्ने र लक्षण देखिइसकेपछि मात्र अस्पताल पुग्ने गरेका कारण रेबिजबाट हुने मृत्युदर बढिरहेको बताउँछन् । उनी भन्छन्, ‘रेबिजको लक्षण देखिएपछि अस्पताल पुग्ने दर मात्रै बढेको हो, समयमा सही उपचार नहुँदा हुने मृत्युदर उस्तै छ ।’ साथै, संक्रमणपछि व्यवहारमा परिवर्तन आउने, पानी र हावासँग डराउने, खाना खान नसक्नेजस्ता लक्षण देखिँदा पनि झारफुकको भर पर्ने भएकाले रेबिज संक्रमणको यकिन तथ्यांक नभएको चिकित्सकहरू बताउँछन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रत्येक वर्ष रेबिज संक्रमणका कारण करिब तीन दर्जन मानिसको ज्यान जाने गरेको छ । महाशाखाको तथ्यांकअनुसार आव ०७६/७७ मा यकिन तथ्यांक नभए पनि आव ०७५/७६ मा १८ र आव ०७४/७५ मा ३२ जनाको रेबिजबाट ज्यान गएको छ ।

बर्सेनि करिब ५० हजार प्रभावित
आव ०७६/७७ मा ५६ हजार ६ सय १९, आव ०७५/७६ मा ३५ हजार दुई सय ५० र आव ०७४/७५ मा ३५ हजार ६ सय ८१ जना जनावरको टोकाइबाट प्रभावित भएको तथ्यांक छ । 
ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोलका अनुसार हरेक वर्ष विश्वमा ५९ हजार मानिसले रेबिजका कारण ज्यान गुमाउने गर्छन् । जसमध्ये ४० प्रतिशत बालबालिका छन् । सामान्यतया, विकासोन्मुख देश अर्थात् अफ्रिका र एसियाजस्ता स्वास्थ्य तथा भेटरिनरी सेवा नपुगेका देशमा रेबिज संक्रमणबाट बढी प्रभावित हुने गरेको पाइन्छ । मानिस मात्रै होइनन्, रेबिजका कारण बर्सेनि लाखौँ कुकुर र अन्य जनावरको समेत मृत्यु हुने गरेको छ ।