मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे ।
२०७९ जेठ १ आइतबार १६:०६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

५६ वर्षपछि भैरहवा विमानघाट अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत, सोमबार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

Read Time : > 1 मिनेट
२०७९ जेठ १ आइतबार १६:०६:००

२०२३ फागुन १७ गते तत्कालीन युवराज वीरेन्द्र शाहबाट उद्घाटन भएको भैरहवा विमानघाट ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिणत भएको छ। तत्कालीन श्री ५ को सरकार र भारतीय सहयोग मिसनद्वारा संयुक्त रूपमा भारतीय सहायता कार्यक्रमअन्तर्गत निर्माण भएको विमानघाट अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिणत भएको हो ।

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७४ पुस मसान्तभित्र सम्पन्न भइसक्नुपर्ने थियो। विमानस्थल निर्माण कार्य २०७९ मा आएर मात्र सम्पन्न भएको छ।

विमानस्थलको सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रमको सबै तयारी पूरा भएको विमानस्थन निर्ण परियोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। सोमबार बिहान नै जजिरा एयरको विमान उक्त विमानस्थलमा अवतरण गर्नेछ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधारकिल्लाका रूपमा मानिएको छ। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनिया “कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गरेकाे हाे।

कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा उक्त ठेक्का लिएको थियो।  समयमै निर्माण कार्य सम्पन्न नभएपछि आयोजनाले सातपटक म्याद थप गरेको थियो। २०७२ को भूकम्प र मधेस आन्दोलनका कारण निर्माणको म्याद सरेको थियो। विमानस्थल निर्माण गर्ने क्रममा आवश्यक नदीजन्य पदार्थ समयमै नपाउँदा पनि विमानस्थल निर्माण कार्य प्रभावित भएको आयोजनाको दाबी छ। उक्त कम्पनी र स्थानीय ठेकेदार कम्पनीबीचको आन्तरिक समस्याले पनि विमानथल निर्माणको काम प्रभावित भएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरि विमानस्थल दुई चरणमा बनेको छ। आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी–वे, टर्मिनललगायतका संरचना निर्माण भएका छन्। आइसिपी–२ अन्तर्गत हवाइजहाज, पाइलट र विमानस्थल बिचको समन्वयको लागी प्रविधिक काम भएको छ। ६ अर्व २२ करोडको लागतमा सुरु भएको विमानस्थलको लागत ८ अर्ब ८२ करोड पुगेको छ। पहिलेको तुलनामा छोटो भिजिविलिटी कम हुँदा पनि उडान अवतरण गर्नसक्ने आधारका केही भागहरु थप गरेका कारण विमानस्थल निमार्ण बजेटमा केही बृद्धी भएको परियोजनाले जनाएको छ । साढे २२ सय भन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो। विमानस्थल निमार्णका लागी २३ अर्व बढी रकम मुआब्जा वितरण गरिएको थियो।

पर्यटन व्यावसायीहरू उत्साहित
गौतमबुद्ध अन्तर्राष्टि विमानस्थल उद्घाटन हुने भएसँगै पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री आउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि सोही समयमा उद्घाटन  हुनु सुखद कुरा भएको सिद्धार्थ होटेल एसाेसिएसन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए। 

भारतीय सीमासँग जोडिएको नगर भएकाले विमानस्थल खुलेसँगै नेपाल–भारत सीमानाका पनि २४सै घन्टा खोल्ने वातावरण बनाउनुपर्ने होटेल व्यवसायी तथा होटेल मौर्यका सञ्चालक रामबहादुर कोइरीले बताए। गौतम बुद्ध विमानस्थलबाट धार्मिक पर्यटनका लागि लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारी , रेसुंगालगायतका धार्मिक स्थानसम्म जान सकिने भएकाले पनि यो उपयुक्त विमानस्थल बन्ने व्यवसायीहरूको अनुमान छ।