Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०८:५६:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सहरका दोहोरी ‘फोहोरी’ 

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०८:५६:००

छिट्टै भाइरल हुने लोभले दोहोरीको मर्मविपरीत गाउनेको भिडले दोहोरी गीतमा छाडापन मौलाउँदै गएको कलाकारहरू नै बताउँछन् 

गायक गायिकामा ‘लाइभ दोहोरी’ गाएर युट्युबमा सार्वजनिक गर्ने क्रम बढ्दो छ । यस्ता नयाँ–नयाँ दोहोरी दिनहुँजस्तो युट्युबमा भेटिन्छन् । यस्ता गीत हेर्ने दर्शक पनि उल्लेख्य हुने गरेका छन् । तर, यस्ता अधिकांश लाइभ दोहोरी द्विअर्थी र छाडा हुने भएकाले परिवारबीचमा बसेर सुन्नसमेत नसकिने खालका छन् । 

छिट्टै भाइरल हुने लोभले दोहोरी गीतको मर्मविपरीत गाउनेको भिडले दोहोरी गीतमा छाडापन मौलाउँदै गएको कलाकारहरू नै बताउँछन् । झिलझिल सितारा..., ऐना हेरेर..., घामजस्तो चम्किलो..., सररर पानी घट्टामा... जस्ता चर्चित लोकगीतका गायक पुरूषोत्तम न्यौपाने सस्तो लोकप्रियताका लागि दोहोरीमा अपाच्य, उच्छृंखल शब्दको प्रयोग बढेको बताउँछन् । उनी भन्छन्, ‘कुनै वेला दोहोरी साँझ गीत–संगीत सिक्ने पाठशालाजस्तै थिए । गीत–संगीतमै भविष्य खोज्नेहरूले दोहोरी साँझलाई पाठशालाका रूपमा लिन्थे । तर, अहिले चर्चाका लागि मात्रै दोहोरी गाइरहेका छन् ।’ पहिलाका दोहोरी गीतमा गाउँघरका शब्दलाई भाका मिलाएर गाइएका हुन्थे । तर, अहिले कुनै ठाउँको भाका संकलन गरेर कोठाभित्र बसेर शब्द थोपरिने उनको भनाइ छ । 

‘हिजोका दोहोरीमा मौलिकता, शिष्टता हुन्थ्यो, समाजका दुःख र वेदना अटाउँथ्यो’, उनी भन्छन्, ‘अहिले परिवारसँगै बसेर सुन्न नसक्ने खालका छन् । दोहोरी गाउने कलाकार स्वयंले पनि परिवारसँग बसेर सुन्न सक्छु कि सक्दिनँ भनेर आफैँ मनन गर्ने वेला आएको छ ।’

प्रविधिको विकाससँगै गीत–संगीतको उत्पादन, प्रयोग र प्रचारको शैलीमा परिवर्तन आएको छ । २०६० को दशकको मध्यतिर अडियो क्यासेट विस्थापित भएसँगै गीत–संगीतमा सिडी र भिसिडी भित्रिए । त्यसपछि इन्टरनेटको पहुँच बढेपछि गीत–संगीतमा क्षेत्रमा निकै परिवर्तन आयो । गीत–संगीतका एल्बम नचल्ने अवस्था आएपछि कलाकार र सर्जकहरूका लागि युट्युब सहारा बन्यो । केही वर्षयता कलाकारका लागि युट्युब आम्दानीको राम्रो माध्यमसमेत बनेको छ ।

‘दोहोरीले मनोरञ्जन मात्रै होइन, सामाजिक विषयको उठान गर्नुपर्छ’ 
लोक गायिका हरिदेवी कोइराला लोक दोहोरीमा क्षणिक मनोरञ्जन मात्रै हुनु नहुने बताउँछिन् । उनी लोक दोहोरीले सामाजिक विषय पनि उठान गर्न सक्ने बताउँछिन् । ‘लोक दोहोरी नेपाली लोकसंस्कृतिको चिनारी हो । दोहोरीमा नेपाली मौलिक शब्द, संगीतको सिलसिला मिलाएर प्रस्तुत गरिन्छ ।’ उनी भन्छिन्, ‘नेपाली माटो र भूगोलको कथालाई दोहोरी मिलाएर गाउनुपर्छ, अनि मात्रै जीवन्त दोहोरी बन्छ ।’

उनको भनाइमा दोहोरी गीतमा महिला–पुरूषले सिलसिला मिलाएर सवाल–जवाफ गर्दै गाउँछन् । पुरुषसँगै महिला कलाकारको भूमिका बराबर हुने भएकाले दोहोरी गीत महिला सशक्तीकरणको माध्यम भएको उनको दाबी छ । समाजमा दोहोरी गीतलाई लैंगिक समानताको अनुपम उदाहरणको रूपमा लिन सकिने उनी बताउँछिन् । तर, अचेलका दोहोरी निकै फरक रहेको उनको बुझाइ छ । 

‘दोहोरी समाजको कुनै विषयवस्तुको गाम्भीर्यतालाई बुझेर पक्ष–विपक्षको सवाल–जवाफ हो’, उनी भन्छिन्, ‘दोहोरीमा सिलसिला मिलाएर मनोरञ्जनात्मक तथा कलात्मक रूपमा विषयवस्तुको उठान हुनुपर्छ । फगत मायाप्रेमका गीतलाई दोहोरी भन्न मिल्दैन । त्यो क्षणिक मनोरञ्जनका लागि मात्रै हुन्छ ।’

पछिल्लो समय देश–विदेशमा हुने सांस्कृतिक कार्यक्रममा दोहोरी गायक–गायिकाको माग बढ्दो छ । यसले कलाकारलाई आर्थिक रूपमा भरथेग मात्रै गरेको छैन, गीतको प्रचारमा पनि सहयोग पुगेको छ । स्टेज कार्यक्रममा सुनेका गीत मन परेपछि खोजीखोजी सुन्नेहरूको संख्या बढ्दै गएको उनको बझुाइ छ । तर, पछिल्ला समय दोहोरी गीतमा समाजिक विषय समावेश गर्नुको सट्टा द्विअर्थी दिने शब्द प्रयोग हुँदै गएकोमा उनको गुनासो छ । 

उनी भन्छिन्, ‘दोहोरीमा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगरौँ । गीतको शब्दमा मिठास हुनुपर्छ, अनि मात्रै दोहोरीजस्तो हुन्छ । हामी गीतको शिष्टताभित्र बसेर गाउँनुपर्छ । दोहोरीमा उच्छृंखल शब्द प्रयोग हुँदै गयो नेपाली लोकसंगीतको अस्तित्व रहँदैन ।’

केही कलाकारले दोहोरीलाई एकैछिन रमाइलो दिने गीतको रूपमा बुझेको संगीतकार बिबी अनुरागी बताउँछन् । उनी भन्छन्, ‘मेला–महोत्सवमा पनि सभ्य गीत–संगीतमा भन्दा फोहोरी गीतमा दर्शक धेरै झुम्मिन्छन् । त्यस्ता कलाकारलाई नै प्राथमिकता दिन्छन् । यसकारण पनि गीत–संगीतमा विकृति फैलिँदै गएको छ ।’

राम्रा सिर्जनाले बजार नपाउँदा पनि दोहोरी गीतमा द्विअर्थी शब्द बढी प्रयोग हुँदै गएको उनको भनाइ छ । कतिपय ‘लाइभ दोहोरी’ च्यानलका राम्रा सिर्जना पनि आइरहेका छन् । ‘कतिपय दोहोरीमा उच्छृंखल र अपाच्य शब्द भेटिँदैन । तर, त्यस्ता सिर्जनाहरूलाई कसैले मन पराउँदैनन्,’ उनी भन्छन्, ‘सबै दोहोरी छाडा भए भन्न मिल्दैन । कतिपय च्यानलले राम्रा सिर्जना पनि गरेका छन् । राम्रा सिर्जनालाई प्रोत्साहन गर्नुपर्छ ।’

तर गीत–संगीतको विकृति नियमन गर्ने राज्यको निकाय नहुँदा यस्ता विकृति मौलाउँदै गएको उनको बुझाइ छ । उनी भन्छन्, ‘गीत–संगीतप्रति राज्यको पनि चासो हुनुपर्छ । राज्यले गीत–संगीतको सेन्सर गर्ने नीति ल्याउनुपर्छ । राज्यले गीत–संगीतको क्षेत्रलाई खुला छाडेको छ । यसमा एक–दुईजनाले पहल गरेर मात्रै पुग्दैन । राज्यको तर्फबाट विकृति नियन्त्रण गर्ने संस्था भएपछि यस्ता समस्या समाधान हुन्छ ।’

दोहोरीले सबैको मन जित्न सक्नुपर्छ : रमेश बिजी

लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजी पछिल्लो समय नेपाली लोक दोहोरी क्षणिक प्रसिद्धि र पैसाका कारण फोहोरी हुँदै गएको बताउँछन् । व्यावसायिक भएर दोहोरी विकृति र विसंगति भित्रिएको उनको बुझाइ छ । उनी भन्छन्, ‘नेपाली समाजमा दोहोरी गीतको आज पनि विशिष्ट स्थान छ । दोहोरीले सबैको मन जित्न सक्नुपर्छ । गालीगलोज गर्ने, कसैको मानमर्यादा गिर्ने खालको गीत गाउनुहुँदैन । नेपाली गीत–संगीतको मौलिक पहिचान बोकेको लोक दोहोरी विधालाई कहिल्यै फोहोरी बनाउनुहुँदैन ।’

पछिल्लो समय दोहोरी गीतमा देखिएको विकृति हटाउन लोक दोहोरी प्रतिष्ठान लागिपरेको उनले बताए । उनी भन्छन्, ‘केही दिनअघि मात्रै राष्ट्रिय लोक दोहोरी प्रष्तिठानले दोहोरी साझ र लाइभ दोहोरीमा गीत गाउने कलाकारहरूलाई बोलाएर यस विषयमा सचेत गराएको छ । दोहोरीमा बालबालिकालाई समेत यौनका विषयमा गीत गाउन लगाएको पायौँ । अरूको भाका चोरेर लाइभ दोहोरी गाउन लगाइएको पनि भेटिएको छ । दोहोरी गाउँदा छाडा शब्द प्रयोग गर्न नपाउने र बालबालिकालाई दोहोरी गाउन नदिनेलगायत विषयमा सचेत गराएका छौँ ।’ 

अबका दिनमा लाइभ दोहोरीका स्टुडियोले अपाच्य, उच्छृंखल खालको शब्द प्रयोग गरेर दोहोरी गाएको भेटिए कारबाही गरिने उनले चेतावनी थिए । दोहोरीका नाममा व्यवसायीकरण गर्ने कलाकारलाई दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘सबै कलाकार सचेत हुनुपर्छ । दोहोरीलाई फोहोरी बनाउने कसैको अधिकार छैन । यसलाई सबैले मिलेर सरक्षण गरौँ । छाडा गीत गाउने गायक–गायिकालाई प्रतिष्ठानको सेवा–सुविधाबाट वञ्चित गर्छाँै ।’