
भरतपुर महानगरपालिकाको निर्वाचनलाई देशैभरबाट मुख्य चासोका साथ हेरिएको छ
भरतपुर महानगरपालिकाबाट मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छिन् । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले जनताले विगतको कामकाे मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन् ।
आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने उनले बताइन् । उनले जितपछि भरतपुरलाई देशकै नमुना सहर बनाउने पनि घोषणा गरेकी छिन् ।
मेयरकी उम्मेदवार दाहालले भनिन्, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिका लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमुना सहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु ।’
दाहाल सत्तागठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार हुन् । उनको मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेबाट विजय सुवेदी र नेपाली कांग्रेसका स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेल रहेका छन् । भरतपुर महानगरपालिकाको निर्वाचनलाई देशैभरबाट मुख्य चासोका साथ हेरिएको छ।