१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माथिल्लो दोर्दी ‘ए’को उत्पादन जेठ अन्तिमबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१६:oo

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । लमजुङको दोर्दी खोलामा लिबर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा थपिन लागेको हो । 

संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी सुरुङमा परीक्षण सुरु गरेको हो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकाले जेठ अन्तिमबाट व्यावसायिक विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट ०७६ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । प्रसारण लाइनको समस्या, कोभिड महामारी र बाढीपहिरोका कारण उत्पादन तालिका धकेलिँदै आएको हो । 

यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको आयोजनाले जनाएको छ । आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । नदीको वहाबमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ । दोर्दी गाउँपालिका–६, ढोडेनी र ७ फलेनीमा निर्माण गरिएका आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युत्गृहमा लगेर पानी खसाल्नेछ ।

आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको हो । आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको एक सय ३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको दुई सय २० केभी प्रसारण लाइनमा जोडिनेछ ।

ad
ad