१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मताधिकार प्रयोग गर्न भारतबाट स्वदेश फर्किंदै नेपाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५७:oo

चन्दननाथ नगरपालिका–९ श्रीडुस्का जुम्लाका ३६ वर्षीय विष्णुप्रसाद उपाध्याय २४ वैशाखमा नेपालगन्ज नाका भएर स्वदेश फर्किए । उनी पाँच वर्षमा हुने स्थानीय तहको निर्वाचनमा मत जाहेर गर्न भारतको सिम्लाबाट फर्किएका हुन् । 

‘आगामी पाँच वर्षका लागि गाउँघरमै हुने जनप्रतिनिधि छानिँदै छन् । त्यसैले राम्रो जनप्रतिनिधि छानियोस् भनेर मतदान गर्न स्वदेश फर्किएको हुँ,’ विष्णुप्रसादले नयाँ पत्रिकासँग भने, ‘नेता बिग्रिए भनिरहँदा हामीले पनि आफ्नो अधिकार प्रयोग गर्‍यौँ, गरेनौँ भन्ने महत्वपूर्ण हुने रहेछ । त्यो बुझेकाले फर्किएको हुँ ।’ 

विष्णुप्रसादसँगै सोही ठाउँका कवि उपाध्याय पनि स्वदेश फर्किएका छन् । कसैको लहैलहै र बहकाउमा नभई आफ्नै विवेकले मतदान गर्न आफू स्वदेश फर्किएको उनले बताए । ‘गाउँमा रोजगारी सिर्जना नभएकाले बाध्यतावश हामी विदेसिनुपरिरहेको छ । तैपनि, निर्वाचनको माहोलले तान्यो । राम्रा उम्मेदवार छनोट गर्ने वेला पनि यही हो । त्यसैले स्वदेश फर्किएको हुँ,’ कविले भने । 

भारतको कुल्लु मनालीबाट फर्कंदै गरेका भगवतीमाई गाउँपालिका–३ मेहलतोली दैलेखका ३५ वर्षीय दशरथ चन्द पनि नाकामै भेटिए । पत्नी र एक छोरासँगै उनी स्वदेश फर्किएका हुन् । उनले स्थानीय तहको निर्वाचन अत्यन्त महŒवपूर्ण भएकाले मताधिकार प्रयोग गर्न स्वदेश फर्किएको बताए । 

नेपालगन्ज नाकामै भेटिएका आठबिसकोट नगरपालिका–९ बटाला, रुकुमका ३३ वर्षीय विकास केसीले पनि मताधिकार प्रयोग गर्न स्वदेश फर्किएको बताए । स्थानीय तहको निर्वाचन आफ्नो गाउँठाउँको विकासका लागि प्रत्यक्ष सरोकार राख्ने निर्वाचन हो,’ विकासले भने, ‘त्यसैले मताधिकार प्रयोग गर्न आएको हुँ ।’

आठबिसकोट नगरपालिका–९ रुकुमकै परनित खत्री पनि विकासप्रेमी जनप्रतिनिधि छान्ने मतदाताको कर्तव्य पूरा गर्न स्वदेश फर्किएका हुन् । यी प्रतिनिधि पात्र हुन् । पछिल्लो समय निर्वाचनमा सहभागी हुँदै मताधिकार प्रयोग गर्न स्वदेश फर्कने नेपाली बढिरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ मीनबहादुर विष्टले निर्वाचन र खेतीपातीको समय भएकाले दुईवटै कामका लागि फर्कनेहरू बढी रहेको बताए । 

बेलहिया नाकाबाट पाँच दिनमा १५ हजार नेपाली फर्किए

स्थानीय तह निर्वाचनमा सहभागी हुन भारतीय सहरबाट धमाधम नेपाली स्वदेश फर्किएका छन् । मंगलबार मध्यराति नाका बन्द हुनुअघिसम्म नेपाली स्वदेश फर्किरहेका थिए । पछिल्लो सात दिनयता भारतबाट फर्कने नेपालीको संख्या बढेको भैरहवास्थित इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

बेलहिया नाका भएर लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत गण्डकीका स्याङ्जा, कास्की, बाग्लुङ, पर्वत, म्याग्दीका मतदाता स्वदेश फर्किएका छन् । बेलहिया नाकाबाट प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच दिनमा १५ हजार नेपाली स्वदेश फर्किएका छन् । 

प्रहरी निरीक्षक श्रेष्ठले भारतबाट दैनिक दुई हजारभन्दा बढी नेपाली फर्किएको जानकारी दिए । उनका अनुसार गत बिहीबारअघि भने स्वदेश फर्किनेको संख्या सामान्य अवस्थाजस्तै थियो । ‘पछिल्लो पाँच दिनको तथ्यांक हेर्दा धेरै नेपाली फर्किएको देखिन्छ । उहाँहरूमा निर्वाचनमा सहभागिताको उत्साह पनि देखिएको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।