१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ बैशाख २१ बुधबार ०६:४०:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वीरगन्ज महानगर : ‘शक्ति र पैसा’को बलमा प्रतिस्पर्धा

Read Time : > 5 मिनेट
२०७९ बैशाख २१ बुधबार ०६:४०:००

पहिचान र समृद्धि दिन सक्ने जनप्रतिनिधिको खोजीमा मतदाता, हरहालतमा जित हासिल गर्ने उम्मेदवारको एकसूत्रीय एजेन्डा

मतदाता
०७४ : १,०८,४९८
०७९ : १,२४,६४७

वीरगन्ज महानगरमा मेयरका अन्य उम्मेदवार
गोकर्णप्रसाद कोइरी (नेमकिपा), लक्ष्मी हजरा (बहुजन शक्ति पार्टी), दिनेश राम (जनमत पार्टी), विजय रौनियार (नेपाल सद्भावना पार्टी)
स्वतन्त्र : प्रभात सिंह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जीव यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह, रोज मियाँ अन्सारी, अजय कुर्मी, समसुदिन मियाँ, शत्रुघनप्रसाद कुर्मी, सुनील कलवार, कृजमोहन चौरसिया, सुमित सिंह, कोशिलादेवी कनुइन, महमद हफिज मियाँ, भोला पटेल, महम्मद ज्याउल हक हवारी

०७४ को मतपरिणाम : संघीय समाजवादी फोरमका विजय सरावगी १९,३९३ मतका साथ विजयी भए । राजपाका राजेशमान सिंहले १२,१६५, लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८,७०१, एमालेका बसरुद्दिन अन्सारीले ८,६८८ र माओवादीका रहवर अन्सारीले ८,३०५ मत ल्याए । त्यस्तै, अन्य दल र स्वतन्त्र गरी बाँकी १८ उम्मेदवारले १,२१३ मत पाए ।

यसकारण महत्वपूर्ण छ वीरगन्ज

स्थानीय निर्वाचनमा मधेस प्रदेशको एक मात्र महानगर वीरगन्जमा जित निकाल्दा त्यसको सिंगो असर प्रदेशका आठै जिल्लामा पर्नेछ र त्यसले मंसिरमा हुने संघीय चुनावको समेत बलियो आधार बनाउनेछ । त्यसैले वीरगन्जमा विजय हुन पाँचदलीय सत्तागठबन्धन र एमाले–लोसपाको विपक्षी गठबन्धनले भरपूर कोसिस गर्नेछ । एमालेले लोसपालाई उपमेयर दिएर समीकरण बनाएको छ । मधेसको चुनावको परम्परा बनेको ‘मत, मनी र मसल’को संयोजन त यसपटक पनि दोहोरिने निश्चित छ ।

***                                                   ***

स्थानीय निर्वाचनका लागि वीरगन्ज महानगरका मेयरको उम्मेदवार चयनमा केही अस्वाभाविक घटनाक्रम भए । पहिलो– ०७२ मा मधेस आन्दोलनको इपिसेन्टर बनेको वीरगन्जमा मेयर–उपमेयरको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय काठमाडौंबाट भए । दोस्रो– मधेसका दुई शक्ति जसपा र लोसपा दुई छुट्टाछुट्टै गठबन्धनमा आबद्ध भए, जसपा सत्तारूढ पाँचदलीय गठबन्धनबाट र लोसपा एमालेसँग समीकरण गर्दै चुनावी मैदानमा छन् । तेस्रो– सत्ता र विपक्षी गठबन्धनबाट मेयरका उम्मेदवार नवप्रवेशी छन् । चौथो– उनीहरू दुवै उम्मेदवार व्यापारी पृष्ठभूमिका छन् ।

सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंह र एमाले–लोसपाको तर्फबाट विजय सरावगी मेयरका उम्मेदवार छन् । निवर्तमान मेयर सरावगी अन्तिम समयमा एमालेमा प्रवेश गरेर पुनः मेयर बन्ने दौडमा छन् । एमालेबाट सरावगीले मेयरको टिकट पक्का गरेपछि सिंह जसपा प्रवेश गरेर मेयरको उम्मेदवार भएका हुन् । ०७४ मा सरावगी विजयी हुँदा राजपाबाट प्रतिष्पर्धा गरेका सिंह तेस्रो भएका थिए । 

स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयनका मुखमै भएका यी गतिविधिले वीरगन्जमा चुनाव सहज र स्वाभाविक हुँदैन कि भन्ने चिन्ता बढाएको छ । खास गरेर मतदाता र विश्लेषकको बुझाइ छ– वीरगन्जको चुनाव धेरै खर्चिलो हुँदै छ । मेयरका उम्मेदवार चयनमा भएका गतिविधि र आएका पात्रसँग मतदाताका चासोहरूको मेल खाँदैन । मतदाताका विविध चासो छन्, उम्मेदवारको एकसूत्रीय एजेन्डा छ– हरहालतमा जित्नुपर्छ ।

उम्मेदवारहरू तडकभडकपूर्ण चुनावी प्रचारमा जुटिसकेका छन् । मतदातालाई यसले नयाँ ढंगले सोच्ने ठाउँमा पुर्‍याएको छ । वीरगन्ज–१६ दुर्गाटोलका ७६ वर्षीय सुखारी ठाकुर विगतभन्दा अहिले चुनाव धेरै महँगो भएको बताउँछन् । ‘अहिले पैसा हुनेले चुनाव जित्ने भयो । विकासका लागि कसैले मत दिँदैन । जसले पैसा दिन्छ, उसैलाई मत दिने हुन थाल्यो,’ उनले भने, ‘उम्मेदवारसँग विकास र एजेन्डा नभए पनि पैसा भए पुग्छ ।’

वीरगन्ज– ७ रामटोलका ३६ वर्षीय स्थानीय महेन्द्र मली डोम मतका लागि पैसाको चलखेल भइसकेको बताउँछन् । ‘पैसा आउँछ जान्छ, तर गरिब परिवारलाई आवश्यकता परेको समयमा उभिने नेतालाई मत दिन्छौँ,’ उनले भने, ‘पैसाको बलमा चुनाव जित्ने चलखेल त भइसकेको देखिन्छ, सुनिन्छ ।’

सोही टोलका ५५ वर्षीय राजेन्द्र मली डोमले विकास गर्नेलाई आफ्नो मत दिने बताए । दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने राजेन्द्रको परिवार यसपटक समस्या समाधान गर्ने नेतालाई साथ दिने तयारीमा छ । ‘गरिबलाई आवश्यकता पर्ने नेताको खोजीमा छौँ,’ उनले भने ।

स्थानीय निर्वाचनमा पैसा खर्च गर्नेलाई नभई विकास गर्न सक्नेलाई जिताउनुपर्ने धेरै मतदाताको मत छ । वीरगन्ज– २ छपकैयाका ७० वर्षीय रामचन्द्र महतोले वीरगन्जमा बेरोजगार र भ्रष्टाचार बढेको भन्दै विकृतिरहित समाज र विकास गर्न सक्नेलाई मतदान गर्ने योजना रहेको बताए । 

४१ वर्षीय नविरसुल ठकुराईले मधेसको हक–अधिकारका लागि ज्यान दिने अहिले पनि समाजमा पछाडि परेको सुनाए । ‘वीरगन्जले आन्दोलन होइन, विकास खोजेको छ, परिवर्तन खोजेको छ,’ उनले भने, ‘सरकारी कार्यालयमा भइरहेकोे भ्रष्टाचार र अनियमितता रोक्न सक्नेलाई मतदान गर्नुपर्छ ।’ 

मतदाता मात्र होइन, स्थानीय राजनीतिमाथि नजर राख्ने विश्लेषक र प्राध्यापक पनि एजेन्डामा नभई पैसाको बलमा चुनाव लड्न थालिएको सुनाउँछन् । ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहले निर्वाचन मुद्दामा होइन पैसामा लड्न थालिएको र यसले विकास नभई विनाश भित्र्याउनेमा चिन्ता व्यक्त गरे । ‘पैसा नभएकाले राजनीति गर्न नसकिने अवस्था भयो । यसले राजनीति पैसा कमाउने माध्यम भएको छ । पैसा नभई निर्वाचन जित्न नसकिने भएकाले पार्टीहरूले पैसावालालाई दलमा भित्र्याउन र टिकट दिन थाले,’ उनले भने, ‘पैसाको बलमा राजनीति गर्नेले विकास होइन विनाशबाहेक अरू केही गर्न सक्दैन । पैसाको बलमा दल परिवर्तन गर्न सक्ने भएकाले विकास गर्न सक्ने वातावरण छैन ।’

प्राध्यापक साह पैसाका बलमा राजनीति हुँदा मधेस आन्दोलनमै स्थापित नेताले समेत एजेन्डा संस्थागत गर्न नसकेको र अब पनि उस्तै अवस्था रहने बताए । ‘मधेस आन्दोलनका नाममा स्थापित नेता अहिले एजेन्डा स्थापित गराउन चुकेका छन् । मुद्दा उठ्ने र दबिने नियमित प्रक्रिया हो । तर, केही मुद्दा त सम्बोधन गराउन पनि नसकिएको अवस्था छ,’ उनले भने । 

राजनीतिक विश्लेषक एवं अधिवक्ता वीरेन्द्र यादव वीरगन्जवासीले सस्तो लोकप्रियताभन्दा पनि पहिचान र समृद्धिको नारा बोकेका जनप्रतिनिधि खोजिरहेको बताउँछन् । ‘मधेसकेन्द्रित दलले उठाएका आन्दोलनका एजेन्डा र मुद्दा अझै सान्दर्भिक छन् । अहिलेसम्म सम्बोधन गराउन नसकिए पनि विगतमा भएको आन्दोलनले पहिचान पाएको अवस्था छ । त्यसैले वीरगन्जका जनता सस्तो लोकप्रियताको पक्षमा छैनन् । पहिचान र समृद्धि दिन सक्ने जनप्रतिनिधि खोजेका छन्,’ उनले भने, ‘विगतको निर्वाचनभन्दा अहिले मतदाता सचेत भएका छन् । विकास गर्न नसक्ने जनप्रतिनिधि परिवर्तन गर्न सक्ने अवस्थामा पुगेका छन् ।’

राजनीतिक विश्लेषक एवं अधिवक्ता यादवले आन्दोलनको बलमा स्थापित नेतालाई जनताले पहिचान गरिसकेको र राम्रो–नराम्रो हेरेर मतदान गर्ने बताउँछन् । ‘देशमा आफ्नो पहिचान स्थापित गराउन भएको आन्दोलनमा सक्रिय सहभागिता जनाएका यहाँका बासिन्दा अब सचेत भएर बसेका छन् । जनताले परिवर्तन खोजिरहेका छन्,’ उनले भने । 

उम्मेदवारले मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियान गरेका छन् । सभा–सम्मेलनले चुनावी सरगर्मी निकै बढेको छ । वीरगन्जमा सत्तागठबन्धनका तर्फबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका सिंह र इम्तियान आलम घरदैलोमा व्यस्त छन् । एमाले उम्मेदवार पनि मतदातासँग भेटघाट गरिरहेका छन् । ०७४ को निर्वाचनको मतपरिणाम र अहिलेको चुनावी माहोल हेर्दा वीरगन्जमा सत्तागठबन्धनका सिंह र विपक्षी गठबन्धनका सरावगीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, राप्रपाबाट मेयरका उम्मेदवार बनेका गिरीश गिरी पनि वीरगन्जवासीको साथ आफुलाई रहने बताउँछन् । सत्तागठबन्धनमा वडा तहमा तालमेल हुन सकेको छैन । विपक्षी गठबन्धनका एमाले र लोसपा पनि वडा तहमा अलग–अलग मत माग्दै हिँडिरहेका छन् ।

०७४ को स्थानीय निर्वाचनमा समाजवादी फोरमका सरावगीले १९ हजार एक सय ९६ मत पाएर विजयी भएका थिए भने कांग्रेसका अजयकुमार द्विवेदीले त्यसभन्दा दुई हजार एक सय ९६ कम मत पाएका थिए । त्यसवेला राजपाबाट लडेका सिंह करिब १२ हजार मतसहित तेस्रो भएका थिए । त्यस्तै, लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तव आठ हजार सात सय एक मतसहित चौथो र एमालेका बसरुद्दिन अन्सारी आठ हजार ६ सय ८८ भोटसहित पाँचौँ स्थानमा थिए । 

तर, अहिले नेताहरूको दल अदलबदलले समीकरण पूरै फेरिएको छ । तेस्रो मत पाएर राजपाबाट पराजित सिंह जसपाबाट मेयरमा उठेका हुन् । समाजवादी फोरमबाट मेयर जितेका निवर्तमान मेयर सरावगी एमालेका उम्मेदवार छन् । उनलाई लोसपाको समर्थन छ । जेसुकै पृष्ठभूमि र समीकरणमा टिकट पाए पनि मेयरका उम्मेदवारका आ–आफ्ना तर्क छन् ।

एमालेबाट मेयरका उम्मेदवार सरावगी आफूले सुरु गरेका काम टुंग्याउन पुनः महानगरको नेतृत्वमा आउन चाहेको बताउँछन् । ‘करिब पाँच वर्षको समयमा वीरगन्जको विकासको एउटा लय आएको छ । यसलाई बृहत् विकास गर्न बाँकी नै छ । स्थानीय विकास ऐनमा लेखिएअनुसार २० प्रतिशत काम भएको छैन,’ उनले भने, ‘८० प्रतिशत बाँकी काम मभन्दा फरक व्यक्तिले गर्न नसक्ने भएकाले पुनः उम्मेदवारी दिएको छु । अधुरो काम पूरा गर्न म निर्वाचित भएको खण्डमा पूरा हुनेछ । महानगरमा पछि जोडिएको ग्रामीण क्षेत्र र वडाको विकास गर्न पनि मेरो आवश्यकता छ ।’

जसपाबाट मेयरका उम्मेदवार सिंह विकास गर्न तथा भ्रष्टाचार रोक्न आफ्नो उम्मेदवारी रहेको तर्क गर्छन् । ‘वीरगन्जको समृद्धि, पहिचान र विकासका लागि उम्मेदवारी दिएको छु । महानगर भएको र अनियमितता र भ्रष्टाचार वीरगन्जवासीलाई थाहा छ । यो सब उजागर गर्न र सहरलाई नेपालमै विकासोन्मुख सहर बनाउने पहिलो प्राथमिकता रहनेछ,’ उनले भने, ‘महानगरमा फोहोर संकलन निजी क्षेत्रलाई दिइए पनि जताततै फोहोरको समस्या छ । लामखुट्टे नियन्त्रण भएको छैन, खुला ढलले जताततै दुर्गन्ध फैलिएको छ । यी आधारभूत काम गर्नै पर्नेछ । वीरगन्ज मधेसकै शिक्षा हब हुनुपर्नेमा यहाँको पठनपाठन खस्किँदो छ । हामी शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँछौँ ।’

राप्रपाबाट मेयरका उम्मेदवार गिरीश गिरी नवीन र आधुनिक वीरगन्जका लागि आफ्नो उम्मेदवारी परेको बताउँछन् । ‘मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको अहिलेको अवस्था जीर्ण अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार र विकास अवस्थामा निकै खस्केको अवस्था छ । वीरगन्ज सम्भावना बोकेको सहरमध्येको एक हो । वीरगन्ज नेपालको समुन्नत सहर हुनुपर्ने हो,’ उनले भने, ‘तर, अहिले धेरै पछि परेको छ । यसलाई नवीन र आधुनिक वीरगन्ज बनाउन मात्र गर्नेछु । वीरगन्जवासीले साथ र सहयोग गरे सहरको कायापलट गर्नेमा विश्वस्त छु ।’