निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २१ बुधबार ०६:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘आयातमा आधारित आर्थिक वृद्धि जोखिमयुक्त’

पूर्वअर्थमन्त्री खतिवडा भन्छन्– आयात कागजमा मात्रै भइरहेको छ, प्रणालीबाट खर्बौँ रुपैयाँ बाहिरिरहेको छ, यसलाई रोक्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २१ बुधबार ०६:३४:००

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आयातमा आधारित आर्थिक वृद्धि अल्पकालीन र जोखियमयुक्त हुने बताएका छन् । आन्तरिक उत्पादन नबढाई खपतमा मात्रै आधारित कर्जा प्रवाह र त्यसले बढाउने आयातले अर्थतन्त्रको विस्तार गराउने भए पनि त्यो दिगो र जोखिमयुक्त हुने बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा मंगलबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान’ विषयक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले मुलुक उच्च आर्थिक वृद्धिमा जाँदा आयातको दबाब बढ्ने बताएका हुन् । ‘निजी क्षेत्रतर्फको कर्जा र आयात वृद्धिले अघि बढाएको आर्थिक वृद्धि कहाँसम्म जाला ? उत्पादन नबढाउने अनि खपत मात्रै बढाउने र त्यसकै आडमा वृद्धि गर्दा त्यो दिगो हुँदैन,’ उनले भने, ‘हाम्रो जस्तो अर्थतन्त्रको संरचनामा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दा बाह्य क्षेत्रमा तीव्र दबाब देखिहाल्छ ।’ 

खतिवडाले अर्थतन्त्रको संरचनागत सुधार नभएसम्म भुक्तानी सन्तुलनमा दबाब परिरहने बताए । अर्थतन्त्र विस्तार भए पनि वस्तु तथा सेवाको निर्यात तथा आयात विस्थापन हुने गरी उत्पादन नबढेसम्म बाह्य क्षेत्र सधैँ दबाबमा भइरहने उनले बताएका हुन् । ‘अर्थतन्त्रमा संरचनागत समस्या छ, कृषि, सडकदेखि जलविद्युत् सबै क्षेत्रमा आयात गर्नुपरेको छ, व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन,’ उलने भने, ‘आयातमा आधारित अर्थतन्त्र भएका कारण यसमा सुधार नगरेसम्म हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र सधैँ दबाबमा रहिरहन्छ ।’

पूर्वअर्थमन्त्री खतिवडाले ‘एसेट प्राइस बबल्स’का कारणसमेत अर्थतन्त्रमा समस्या आएको बताए । ‘पछिल्लो समय एकल अंकको ब्याजमा ऋण लिएर घरजग्गामा लगानी गर्ने प्रवृत्ति बढ्यो, कृषि उद्योगलगायतका नाममा ऋण लिने अनि जग्गामा लगाउने प्रवृत्तिले खपत मात्रै बढायो, जसको असर बाह्य क्षेत्रमा समेत देखियो,’ उनले भने, ‘त्यसैले घरजग्गालाई करको दायरामा ल्याउनुपर्छ ।’ पूर्वअर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्र ट्र्याकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरतासमेत भएको बताए । आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र बैंकबीच प्रभावकारी समन्वय नभएको समेत औँल्याए । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाका भरमा वस्तुहरूको आयात रोकेको तर्क गरे । आयातलाई नियन्त्रण नभई व्यवस्थित गर्न आग्रह गर्दै आएको उनले बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि विलासिताका वस्तुको आयात नियन्त्रण गरिएको बताए । यद्यपि, यो अल्पकालीन भएको कार्कीले बताए । कार्यक्रममा अर्थविद् विश्वास गौचनले अर्थतन्त्रको वर्तमान समस्या पुरानै रोग भएको बताए । उनले बाह्य क्षेत्रलाई व्यवस्थापन गर्न नसक्दा त्यसको असर अन्य क्षेत्रमा समेत देखिने बताए । 

नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार केसी बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जाले मुलुकको आर्थिक वृद्धिमा योगदान गरेको बताए । उनले बैंकहरूले कुल कर्जाको करिब ५० प्रतिशत हाराहारी राष्ट्र बैंकले तोकेको उत्पादनमूलक क्षेत्रमा प्रवाह गरेको बताए । युथ चेम्बरका अध्यक्ष दीपेशरत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटि चाप परेकाले सरकार र सरोकारवालाको ध्यानाकर्षण गरिएको बताए । उनले भुक्तानी सन्तुलनमा परेको चाप तथा तरलता अभावलगायत समस्याको तथ्यगत कारण र समाधानको उपाय खोज्नुपर्ने बताए ।