मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १९ सोमबार १०:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो कर्णालीका पाँच लाख स्याउका बिरुवाको बिमा

Read Time : > 1 मिनेट
२०७९ बैशाख १९ सोमबार १०:२२:००

कर्णाली प्रदेशको माथिल्लो कर्णाली जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्ला जिल्लामा स्याउ उत्पादन हुने गर्छ । यीमध्ये पनि स्याउका लागि सबैभन्दा उर्वर भूमि जुम्लालाई मानिन्छ । कालीमार्सी चामल र स्याउ उत्पादन हुने भूमिका रूपमा जुम्लाको पहिचान बनेको छ । तर, २६ चैतको भारी असिनापानीले जुम्लाको स्याउखेतीमा ठूलो क्षति पुर्‍यायो । हावाहुरीसँगै परेको असिनापानीले जुम्ला तातोपानी गाउँपालिका वडा नं. ४, ५ र ६ का दर्जनौँ स्याउ बगैँचामा क्षति गरेको तातोपानी–५, लाम्राका विष्णुप्रसाद धिमालले बताए । 

हावाहुरीले स्याउका बिरुवामा लागेका सबै फूलहरू झारेको र बाँकी रहेका फूलहरू असिनाले नष्ट गरी बोट रित्तै बनाएको उनको भनाइ छ । उनका अनुसार तातोपानी क्षेत्रका सबै स्याउ बगैँचामा असिनापानीले ठूलो क्षति पुर्‍याएको छ ।  लाम्राका स्थानीय कृषक गुरुप्रसाद चौलागाईंले भने, ‘हावाहुरीसँगै आएको असिनापानीले स्याउखेतीमा ठूलो क्षति भएको छ ।’ फूलहरू सबै झरेपछि तातोपानीको ४, ५ र ६ नम्बर वडामा स्याउ उत्पादन घट्ने निश्चित रहेको किसानहरू बताउँछन् ।  

जुम्ली किसानको प्रमुख नगदेबालीका रूपमा रहेको स्याउको उत्पादन पछिल्लो जलवायु परिवर्तनका कारण घट्दै गएको छ । पछिल्लो समय असिनापानी र खडेरीले जुम्लाको स्याउ उत्पादनमा गिरावट आइरहेको छ । हरेक वर्ष हुने खडेरी तथा असिनापानीबाट हुने क्षतिबाट जोगिन स्याउको बिमा गर्न भने किसानले खासै चासो देखाएका छैनन् । शिखर इन्स्योरेन्सले कर्णालीका पाँच लाख एक हजार आठ सय ६० स्याउका बिरुवाको मात्रै बिमा गरेको छ । स्याउका बिरुवा बिमा गरेबापत कृषकबाट शिखर इन्स्योरेन्सले प्रतिबिरुवा ३६ रुपैयाँ २० पैसा लिने गरेको छ । कम्पनीले बिमा गरेका स्याउका बिरुवाको असिनाले क्षति गरेपछि प्रतिबिरुवा पाँच सय रुपैयाँ र खडेरीले क्षति गरेपछि प्रतिबिरुवा दुई हजार दुई सय रुपैयाँ उपलब्ध गराउने गरेको छ । 

जुम्लामा मात्रै १६ हजार स्याउका बिरुवा छन् । तर, यहाँका दुई हजार पाँच सय कृषकले तीन लाख २० हजार ६० बिरुवाको मात्रै बिमा गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली क्षेत्र इन्चार्ज ऋषिराम पाण्डेले बताए । उनले भने, ‘हरेक वर्ष असिना र खडेरीले स्याउ उत्पादनमा गिरावट आउन थालेपछि स्याउका बिरुवाको बिमा गर्ने कृषक वृद्धि हुँदै छन् ।’

यस्तै, कालिकोटका आठ सय दुईजना कृषकले एक लाख २५ हजार स्याउका बिरुवाको बिमा गरेका छन् । मुगु जिल्लाका चार सय ५२ जना कृषकले ५५ हजार स्याउका बिरुवाको बिमा गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जनाएको छ । डोल्पा जिल्लामा एक हजार आठ सय स्याउका बिरुवाको बिमा गरिएको जनाएको छ । 

हुम्ला जिल्लाका धेरै ठाउँमा स्याउ उत्पादन हुने गरेको छ । तर, अहिले त्यहाँ स्याउका बिरुवाको बिमा कार्यक्रम लागू नभएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली क्षेत्र इन्चार्ज पाण्डेले बताए । हुम्लाको सिमिकोट, खार्पुनाथ, चंखेलीलगायतका क्षेत्रमा स्याउका बिरुवा बिमा कार्यक्रमको माग भइरहेको छ । उनले भने, ‘अर्काे वर्षदेखि त्यहाँ पनि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ ।’