मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ बैशाख १८ आइतबार ०८:५८:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

डकुमेन्ट्री बनाउन प्रोत्साहन छैन

Read Time : > 2 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ बैशाख १८ आइतबार ०८:५८:००

प्रणय लिम्बू कुशल डकुमेन्ट्री मेकरमध्येका एक हुन् । लिम्बूका ‘इतिहास जित्नेका लागि’, ‘फरगिभ ! फर्गेट नट !’, ‘गोर्खाज् ब्लुज, बोन्डेड फर जेनेरेसन’, ‘द अन्फिनिस्ट रेभोलुसन,’ ‘लस्ट इन ट्रान्जिसन’, ‘डडेलोभित्रका सतिसाल’जस्ता डकुमेन्ट्री निकै चर्चित छन् । ‘इतिहास जित्नेहरूका लागि’ र ‘फरगिभ ! फर्गेट नट !’, ले श्रीलंकाको न्यु वेभ फिल्म फेस्टिभल र क्यानडाको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्डसमेत जितेको थियो । हालै उनको डकुमेन्ट्री ‘उर्मी’ साउथ एसिया फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । फरक र सिर्जनात्मक डकुमेन्ट्री निर्माणमा रुचि राख्ने लिम्बूसँग नयाँ पत्रिकाका पवन बराइलीले नेपाली डकुमेन्ट्रीले कस्ता विषय समेट्नुपर्छ भनेर प्रश्न गरेका छन् । 

नेपालमा बनिरहेका डकुमेन्ट्रीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
त्यति राम्रो स्थिति छैन । संख्यात्मक हिसाबले त ठीकै हो, तर ‘क्वालिटी’का डकुमेन्ट्री बनेका छैनन् । सिर्जनात्मकभन्दा पनि विकासे डकुमेन्ट्री धैरे बनिरहेका छन् । क्वालिटी डकुमेन्ट्री बनाउन समय र बजेट धेरै लाग्ने भएर पनि हुन सक्छ । राम्रो डकुमेन्ट्रीका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ, तर यहाँ चार–पाँच दिनमै डकुमेन्ट्री बनेका रेकर्ड पनि छन् । यस्ता डकुमेन्ट्रीले दर्शकको डकुमेन्ट्रीप्रतिको रुचि नै भंग गर्छ । 

अझ डकुमेन्ट्री भनेको टेलिभिजनमा प्रसारण गर्ने भिडियो रिपोर्ट हो भन्ने धेरैको बुझाइ छ । हामीले बनाएका डकुमेन्ट्री त टेलिभिजनमा बेच्ने अवस्था पनि छैन । हाम्रो विकल्प भनेको फेस्टिभल मात्रै हो । डकुमेन्ट्रीमा लगानी मात्रै गरे यहाँ धेरै विषयवस्तु छन् । फेरि डकुमेन्ट्री बनाएर पनि देखाउने प्लाटफर्म छैन । 

नेपाली डकुमेन्ट्री मेकर नपुगेको क्षेत्र कुन–कुन हुन् ? 
करिब १५–१६ वर्षअघिसम्म नेपाली डकुमेन्ट्रीको विषयवस्तु बलिया थिए । ‘फरगिभ ! फर्गेट नट !’, ‘हु विल बि अ गोर्खा’, ‘जोगीमाराका ज्युँदाहरू’, ‘इतिहास जित्नेहरूका लागि’ ‘द कोरियन ड्रिम’जस्ता डकुमेन्ट्रीले समाजमा बहस नै सिर्जना गरेको थियो । अहिले त्यस्ता डकुमेन्ट्री बनेकै छैनन् । फेस्टिभलमा पनि डकुमेन्ट्री हेर्ने दर्शक छैनन् । अहिलेका डकुमेन्ट्रीले अग्ला हिमाल, भेडा, चौरी गोठ र हिमालआसपासका गाउँ मात्रै देखाइरहेका छन् ।

डकुमेन्ट्रीमा तराईका कथा आएकै छैनन् । फिल्ममा पनि तराईका विषयवस्तु आएको छैनन् । तराईको चुरेक्षेत्रका भित्री कथा आएको छैनन्, यस्ता विषयवस्तुमा डकुमेन्ट्री बन्नुपर्छ । अन्तर्राष्ट्रिय बजारको पहुँच अझै व्यापक बनाउनुपर्छ । तराईका विषयवस्तुमा किन डकुमेन्ट्री बनेका छैनन् अनुसन्धान र बहस हुन जरुरी छ ।

सरकारी तथा गैरसरकारी संस्थाले लगानी गर्नुपर्‍यो । राज्यले अपेक्षा गरेर मात्रै हुँदैन लगानी पनि गर्नुपर्छ । राज्यले फिल्म भनेको ‘फिक्सन’ मात्रै हो भन्ने बुझेको छ । डकुमेन्ट्री पनि फिल्म नै भनेर बुझेको छैन ।

यी क्षेत्रमा डकुमेन्ट्री मेकर किन पुग्दैनन् त ?
डकुमेन्ट्री निर्माण सजिलो विधा होइन । यसका लागि गहिरो अध्ययन चाहिन्छ । मैले नै डकुमेन्ट्री बनाउन थालेको २० वर्ष भयो । २० वर्षदेखि मेरै प्यासनले मात्रै डकुमेन्ट्री बनाइरहेको छु । ‘प्यासन’ले मात्रै कहिलेसम्म बनाइरहने ? 

डकुमेन्ट्री बनाएर जीविकोपार्जन गर्नै पनि मुस्किल छ । आर्थिक रूपमा फाइदा छैन । यो क्षेत्रबाट मेरा थुप्रै साथी पलायन भइसकेका छन् । सिर्जनात्मक डकुमेन्ट्री बनाएर टिक्न गाह्रो छ । डकुमेन्ट्री बनाउन धेरै समय लाग्छ, समय लाग्नु भनेको खर्च पनि बढ्नु हो । 

डकुमेन्ट्री निर्माणमा राज्यको साथ कस्तो छ ?
राज्यबाट कहिल्यै प्रोत्साहन भएन । अझ भन्ने हो भने, यो क्षेत्रमा कसैको ध्यान गएको छैन । यो आफैँमा दुःखद कुरा हो । हामीले बनाएका डकुमेन्ट्री टेलिभिजनलाई बेच्छु भन्ने अवस्था पनि छैन । टेलिभिजनले हास्य टेलिशृंखला किन्छ । डकुमेन्ट्रीको भ्यालु बुझेका छैनन् । डकुमेन्ट्री बनाएर पनि देखाउने प्लाटफर्म छैन । 

नेपाली डकुमेन्ट्रीलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल कसरी हेरिन्छ ? 
विदेशी फिल्म फेस्टिभलमा पनि अचेल नेपाली डकुमेन्ट्री कमै छनोट हुन थालेको छ । सहभागिता नै कम भएपछि अवार्ड जित्नु त ठूलो कुरा हो ।

विदेशी फेस्टिभलका लागि डकुमेन्ट्रीको क्वालिटी पनि कमजोर हुँदै गएको छ । ‘स्पिरिट डज नट कम एनिमोर’ले अन्तर्राष्ट्रिय ढोका खोलिदियो । त्यसपछि ‘फरगिभ ! फर्गेट नट !’ ‘हु विल बि अ गोर्खा’, ‘सुनकली’, ‘यार्साको यात्रा’,लगायतका केही डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय वृत्तमा नेपालको प्रतिनिधित्व गरे । तर, पछिल्ला वर्ष यस किसिमका डकुमेन्ट्री बन्न छाडेका छन् । 

नेपाली वृत्तचित्रको स्तरवृद्धि कसले गर्ने त ?
सरकारी तथा गैरसरकारी संस्थाले लगानी गर्नुपर्‍यो । राज्यले अपेक्षा गरेर मात्रै हुँदैन लगानी पनि गर्नुपर्छ । राज्यले फिल्म भनेको ‘फिक्सन’ मात्रै हो भन्ने बुझेको छ । डकुमेन्ट्री पनि फिल्म नै भनेर बुझेको छैन ।

विदेशमा डकुमेन्ट्री बनाउने गरी विभिन्न फाउन्डेसन नै स्थापना भएका छन् । नेपालमा भने डकुमेन्ट्री मेकरको प्यासनले मात्रै बानिरहेका छन् । लगानी भए सम्भावना प्रशस्तै छ । अहिलेसम्म जे भएका छन् व्यक्तिगत बलबुताले भएको छ । निजी टेलिभिजन कम्पनीले पनि लगानी गर्नुपर्छ । यहाँ त टेलिभिजनले डकुमेन्ट्री प्रसारण गरेको उल्टै पैसा माग्छ, मैले नेपाल टेलिभिजनको समय किनेर डकुमेन्ट्री प्रसारण गरेको छु । विदेशमा डकुमेन्ट्री प्रसारण गर्न टिभीहरू पैसा तिर्छन् । 

उर्मीबाट कस्तो अपेक्षा राख्नुभएको छ ? 
भर्खरै दक्षिण एसिया फिल्म फेस्टिभलमा प्रदर्शन भएको ‘उर्मी’बारे राम्रो प्रतिक्रिया आएको छ। उर्मी’को विषयवस्तु गम्भीर नभए पनि रुचिकर छ । यसमा ८० वर्षीय वृद्ध भूपू ब्रिटिस लाउरेको कथा छ । उनले घरमा पुस्तकालय खोलेका छन् । पुस्तकालय खोल्नुको कारण खोजिएको छ । दर्शकले नयाँ स्वाद पाउँछन् ।