Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ बैशाख १८ आइतबार ०८:४८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

५० लाखभन्दा बढीले लगाए टाइफाइडविरुद्धको खोप

दादुरा र रुबेलाभन्दा सुरक्षित भएको दाबी 

Read Time : > 1 मिनेट
२०७९ बैशाख १८ आइतबार ०८:४८:००

नेपालमा कम्तीमा ८२ हजार चार सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ, जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरसमूहका बालबालिका छन् । 

नेपालमा ५० लाखभन्दा बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार अभियानमा ७५ लाख बालबालिका आबद्ध हुने अनुमान गरिएको थियो । तर, हालसम्म लक्षित जनसंख्याले खोप लगाउन सकेका छैनन् । खोप अभियान आइतबारसम्म जारी रहनेछ ।

सरकारले गत २५ चैतदेखि १८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य संगठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा टाइफाइड खोप कार्यक्रम सुरु गरिएको हो । राष्ट्रिय टाइफाइड खोप अभियानमा १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गरिएको थियो । महाशाखाका खोप सुपरभाइरज भरत भण्डारीका अनुसार ५० लाख बालबालिकाले खोप लगाइसकेका छन् । थप विवरण आइसकेको छैन । 

अभियान सफल बनाउन देशभरका ग्रामीण र सहरी क्षेत्रमा ५० हजारभन्दा बढी स्थानमा खोप केन्द्र सञ्चालित छन् । सरकारले आगामी दिनमा १५ महिनासम्मका बालबालिकालाई नियमित खोपमा समावेश गराउन अहिले महाअभियानका रूपमा सुरु गरिएको हो । टाइफाइडबाट अधिक प्रभावित मुलुकहरूको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ । टाइफाइड खोपको देशव्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले नि:शुल्क रूपमा यो खोप प्राप्त गर्नेछन् । 

टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निक्र्योल गरेको छ । सन् २०२० मा सफलतापूर्वक सञ्चालन गरिएको दादुरा रुबेला खोप अभियानझैँ यो अभियानले एउटा पनि खोप नपाएका बालबालिकाको पहिचान गर्नमा मद्दत गर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् । नेपालमा कम्तीमा ८२ हजार चार सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ, जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरसमूहका बालबालिका छन् । 

खोप लगाएका दुईजना अस्पताल भर्ना 
५० लाखले खोप लगाएकामा दुईजना मात्रै अस्पताल भर्ना भएका छन् । एकजनामा अन्य स्वास्थ्य समस्या देखिएको र अर्का एकजनामा खोप लगाएपछि समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् । खोप लगाएपछि समस्या देखिएकालाई केही समय अस्पताल राखेपछि निको भएको कान्ति बाल अस्पतालले जनाएको छ । 

नेपालमा हालसम्म लगाएका खोपभन्दा टाइफाइडको खोप सुरक्षित देखिएको अधिकारीहरूले बताएका छन् । खोपपछि हुने घटनाको छानबिन गर्ने समितिका एकजना सदस्य डा. रामहरि चापागाईंले टाइफाइड खोपले कुनै समस्या नदेखिएको बताए । ‘खोपकै कारणले एकजना बच्चा बिरामी भएर अस्पताल भर्ना गरिएको थियो, तर उनलाई ठूलो समस्या देखिएन । निको भएर गए,’ चापागाईंले भने, ‘कुनै पनि खोप लगाएपछि केही न केही समस्या देखिन्छ । यसमा पनि देखिएको त्यस्तै हो । तर, कोही पनि बालबालिका खोपका कारण अस्पताल भर्ना हुनुपरेको छैन ।’ खोप लगाएको ७२ घन्टासम्म ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्ने जस्ता सामान्य समस्या देखिने चापागाईंको भनाइ छ । 

खोप सुपरभाइजर भरत भण्डारीका अनुसार जुनसुकै खोप लगाउँदा ७२ घन्टाभित्र सामान्य लक्षण देखिने हुन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार अस्पतालमा बिरामीसमेत बढेका छैनन् । सामान्य बिरामी हुँदा देशभरबाट कान्ति बाल अस्पताल उपचारका लागि ल्याउने गरिन्छ । तर, अहिले दिनमा दुईदेखि तीनजना बिरामी ज्वरो आयो भन्दै अस्पताल आउने गरेको उनले बताए । 

खोप शाखाका प्रमुख सागर दाहालले टाइफाइड खोपकै कारण बालबालिका बिरामी नपरेको बताए । ‘कुनै पनि खोप असररहित हुने भन्ने हुँदैन,’ उनले भने, ‘खोप लगाएको स्थानमा दुख्ने, ज्वरो आउने, सुन्निने, बान्ता हुने, रिंगटा लाग्ने हुन सक्छ । तर, यो खोप दादुरा र रुबेलाभन्दा धेरै सुरक्षित देखिएको छ ।’