१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दमक नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्दै गीता अधिकारी।
२o८१ बैशाख ३१ सोमबार १३:५८:oo
Read Time : > 3 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ओलीको गृहनगर दमकमा एमालेलाई सहज छैन विरासत जोगाउन, यस्तो छ ०७४ को स्थानीय तह निर्वाचनको जोडघटाउ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५८:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकाको निर्वाचन यसपटक रोचक हुँदै छ। विगतमा पहिलो शक्ति बनेको नेकपा एमाले एक्लै एकातर्फ छ। दमकमा एमालेलाई हराउन तीन दलले तालमेल गरेका छन्। 

दमकमा सशक्त शक्ति एमाले एक्लिएपछि भने जितका लागि उसलाई सहज छैन। यद्यपि, गठबन्धनभित्रको असन्तुष्ट भएकाको मत तान्ने दाउमा छ, एमाले। नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगर भएकाले पनि दमकमा एमालेले के गर्छ भन्ने ठूलो चासो छ। 

०७४ को स्थानीय तहको निर्वाचनमा दोस्रो राष्ट्रिय प्रजातन्त्र पार्टी, तेस्रो माओवादी केन्द्र र चौथो शक्ति नेपाली कांग्रेसबीच गठबन्धन भएको छ। दमकमा राप्रपा निकै सशक्त पार्टी मानिन्छ। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले माओवादीको गठबन्धन हुँदाहुँदै राप्रपाको साथ लिएका थिए। देशभर कांग्रेससँग गठबन्धन हुँदै गर्दा झापामा भने राप्रपासँग गठबन्धन थियो।  

तैपनि नेकपा एमाले विगतको तुलनामा आफ्नो दल थप शक्तिशाली भएको भन्दै स्थानीय तहको निर्वाचनमा जित्ने दाबी गरिरहेको छ। ०७४ को स्थानीय तहमा एमालेबाट नगरप्रमुख पद निर्वाचित भएका रोमनाथ ओलीले दश हजार आठ सय ६ मत ल्याएका थिए। दोस्रो स्थानमा रहेका राप्रपाका राम थापाले सात हजार ६ सय ५५ मत ल्याएका थिए। 

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका रेवतराज पुरीले ६ हजार आठ सय ९८ र चौथो भएको कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार पाँच सय ३९ मत ल्याएका थिए। यसपटक राप्रपा, माओवादी र कांग्रेसले गठबन्धन गरेका छन्। गठबन्धनबाट थापाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्। 

देशभर राप्रपा र गठबन्धनका दलबीच तालमेल छैन। तर, दमकमा विशेष परिस्थिति भन्दै यी दलले तालमेल गरेका हुन्। एमालेबाट नगरप्रमुखमा गीता अधिकारी उम्मेदवार बनेकी छिन्। 

लामो समय प्राध्यापन पेसामा आबद्ध अधिकारी गत ०७४ को स्थानीय तह निर्वाचनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन्। उनले पाँच वर्ष दमक नगरपालिकाको उपप्रमुख भएर काम गरेकी छिन्। 

०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा अधिकारीले सबैभन्दा लोकप्रिय मत ल्याएकी थिइन्। उनी एमालेका नगरप्रमुखमा विजयी ओलीभन्दा पनि झन्डै दुई हजार बढी मत पाएर निर्वाचित भएकी थिइन्। अधिकारीले त्यसवेला १२ हजार ६ सय २५ मत ल्याएकी थिइन्। त्यसवेला पनि लोकप्रिय मत ल्याएका कारण यसपटक पनि अधिकारीले गठबन्धनका उम्मेदवारलाई पराजित गर्ने एमालेको निष्कर्ष छ। 

पदमा बसेर जनताको पक्षमा काम गरेकाले एमालेले विगतको भन्दा राम्रो मत ल्याउने नकेपा एमाले दमक नगर अध्यक्ष गेहनाथ पोखरेलले बताए। ‘हामीले केन्द्र र स्थानीय सरकार चलाउँदा राम्रो काम गरेका छौँ। यसकारण पनि स्थानीय तहको निर्वाचनमा राम्रो मत ल्याउँछौँ। जनताले गठबन्धनको औचित्य नभएको बुझेका छन्,’ उनले भने, ‘राप्रपा र माओवादीको मत पहिलाको जस्तो छैन। आधा मत घटेको छ। माओवादीको पनि आधा मत घटेको छ। यी मत सबै एमालेमा छन्। कांग्रेसका कार्यकर्ता पनि गठबन्धनको विपक्षमा छन्। त्यसकारण त्यो मत हाम्रोमा आउँछ।’

यद्यपि एमालेलाई विगतको जस्तो सहज छैन। विगतमा एमाले एक थियो। तर, एमाले फुटेर अहिले नेकपा (एकीकृत समाजवादी) बनेको छ। दमकमा नेकपा (एस)को करिब १५ सय मत रहेको अनुमान छ। उक्त मत अधिकारीलाई आउँदैन। राप्रपाका थापा पनि सशक्त उम्मेदवार हुन्। 

विगतमा सम्मानजनक मतसहित दोस्रो भएका थिए, उनी। यसपटक भने तीन दल उनको साथमा छ। जनता समाजवादी पार्टीको एउटा गुट पनि गठबन्धनसँग छ। एमालेलाई पार्टी फुटेर पनि क्षति भएको छ। एमालेबाट नेकपा (एस) मा करिब १५ सय मत गएको विश्लेषण छ। 

‘नेकपा (एस)ले दमकको प्रमुखमा आफ्नो उम्मेदवार बनाएको छैन। यो मत एमालेलाई आउँदैन। यो मत गठबन्धनलाई आउने हाम्रो विश्लेषण हो कि मत कतै जाँदैन। तर, एमालेलाई जाँदैन,’ कांग्रेस दमक सभापति प्रकाश प्रसाईंले भने, ‘हामी गठबन्धनमा रहेका दलको मत विगतको तुलनामा अझै बढ्छ। त्यसकारण जित सहज निस्कन्छ।’ 

प्रमुख पदकी उम्मेदवार अधिकारीको तुलनामा एमालेको उपप्रमुखका उम्मेदवार अम्बिका खनाल केही कमजोर उम्मेदवार हुन्। गठबन्धनबाट उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराई प्रसाईं सशक्त उम्मेदवार हुन्। ०७४ को स्थानीय तह निर्वाचनमा पनि उनी उपप्रमुखमा अधिकारीसँग पराजित भएकी थिइन्। यद्यपि कांग्रेसले प्रमुखमा पाएको भन्दा राम्रो मत उनले पाएकी थिइन्। उनले त्यसवेला उपप्रमुखमा आठ हजार नाै सय १२ मत पाएकी थिइन्। 

राप्रपा र कांग्रेस–माओवादीको एजेन्डा मिल्दैन। राप्रपा संघीयता, धर्मनिरपेक्षको विपक्षमा छ। उसको मुख्य एजेन्डा राजतन्त्र हो। देशभर अन्यन्त्र कांग्रेस–माओवादीले गठबन्धन गरेका छैनन्। तर, दमकमा भने गठबन्धनका दलले राप्रपासँग तालमेल गरेका छन्। दमकको विकासको सवालमा एकमत हुन यो तालमेल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष रवि बस्नेतले बताए। 

‘विकास निर्माणमा एमालेले गरेको मनोमानी र भ्रष्टाचारका विरुद्धमा यो गठबन्धन बनेको हो। विगतमा घोषणापत्रमा राखेका केही काम पनि एमालेले गरेन। जहाँ भ्रष्टाचार गर्न पाइन्छ त्यहीँ मात्र काम गर्‍यो। त्यसकै विपक्षमा यो गठबन्धन बनेको हो,’ उनले भने, ‘यहाँ जित्नैमा न राजतन्त्रको कुरा आउँछ न त गणतन्त्रको कुरा आउँछ। यहाँ स्थानीय सरोकारको कुरा छ। त्यही भएर तालमेल गरेका हौँ।’

दमकमा तालमेल हुनु स्थानीय आवश्यकता रहेको कांग्रेस सभापति प्रसाईंले बताए। ‘यो स्थानीय आवश्यकता हो। विकास निर्माणमा एमालेले एकलौटी गर्‍यो। त्यहाँ कांग्रेस–माओवादी र राप्रपालगायत दलको पहुँच विस्तार गर्न गरिएको तालमेल हो,’ उनले भने, ‘गठबन्धन केन्द्रबाट भएको छ। यो तालमेल मात्र हो। हाम्रो पार्टीले नै स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्न सकिनेछ भनेको छ।’


देशभर अन्यन्त्र गठबन्धनसँग तालमेल नगरेको राप्रपाले दमकमा भने विशेष परिस्थिति भएर तालमेल गरेको जनाएको छ। राप्रपा प्रदेश १ का अध्यक्ष तथा नगरप्रमुख पदका उम्मेदवार थापाले यहाँ विशेष परिस्थिति रहेको बताए। गठबन्धनसँगको तालमेलले जित निश्चित भएको र अब दमकमा एमालेको एकाधिकार तोडिने उनले बताए। ‘म पनि सधैँ दोस्रो भएको। मलाई अलिकति बल चाहिएको। गठबन्धनका दललाई पनि थोरै बल चाहिएको, त्यसकारण यहाँ तालमेल भएको हो,’ थापाले नयाँ पत्रिकासँग भने, ‘एमाले विगतको जस्तो सशक्त छैन। उसको पार्टी पनि फुटेको छ। त्यसकारण जित निश्चित छ।’

 

ad
ad