१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Monday, 30 June, 2025
२o७९ बैशाख ९ शुक्रबार ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीबाट चार हजार आठ सयभन्दा बढी विद्यार्थी एसइई परीक्षामा सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार ११:३७:oo

गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार हजार आठ सय २३ विद्यार्थी सहभागी भएका छन्। शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा जिल्लाका एक सय ४० विद्यालयका विद्यार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए।

यो वर्षको एसइई परीक्षामा साधारणधार नियमिततर्फ चार हजार चार सय ९२ र प्राविधिकधार नियमिततर्फ दुई सय ८७ विद्यार्थी सहभागी भएका छन्। त्यस्तै, खुला नियमिततर्फ २१ र आंशिक तथा ग्रेडवृद्धि समूहतर्फ २३ विद्यार्थी सहभागी भएका मरासिनीले बताए। जिल्लाका १६ विद्यालयमा प्राविधिक विषय सञ्चालन गरिएको छ।

यस वर्षको एसइईमा जिल्लामा एउटा नयाँ विद्यालय थप भएको छ। जसमा गुल्मीदरबार गाउँपालिका चारपालाको ठूलापोखरा माध्यमिक विद्यालय रहेको इकाइ प्रमुख मरासिनीले बताए। यहाँका १४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। यस वर्षको परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका विभिन्न स्थानमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा केन्द्र तोकिएको विद्यालयकै प्रधानाध्यापक स्वतः केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको छ।

परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोलीसमेत तयार गरिएको छ। स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लाभर तोकिएकै समयमा परीक्षा सञ्चालन भएको जानकारी दिए।