१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o७:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विवाइसी महिला गोल्डकपको तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:३६:oo

प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महिला गोल्डकपको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता ३ देखि १० वैशाखसम्म धनगढीस्थित रंगशालामा हुने क्लबका अध्यक्ष सुसन जोशीले बताएका छन् । 

यसैबीच, महिला गोल्डकपको टाइसिट सार्वजनिक भएको छ । पहिलो खेल विभागीय टोली नेपाल पुलिसले चन्द्रपुर नगरपालिका रौतहटको सामना गर्नेछ । यसैबीच गोल्डकपको ट्रफीसमेत सार्वजनिक गरिएको छ । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा विभागीय टोलीसहित आठ क्लबको सहभागिता रहने जोशीले बताए । च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । यसैगरी, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने जोशीले जनाए । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला गोल्डकपका लागि एक करोड खर्च लाग्ने अध्यक्ष जोशीले बताए । धनगढीस्थित रंगशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन हुने आयोजक वनदेवी क्लबले जानकारी दिएको छ । दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलोपटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष जोशीले बताए ।  

गोल्डकप महिला खेलाडीहरूको सहभागिता रहने सर्वाधिक धनराशिको प्रतियोगिता रहेको उनको भनाइ छ । ‘नेपाल तथा सुदूरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रूपमा हेरिएको छ,’ उनले भने, ‘प्रतियोगितालाई उत्सवका रूपमा हेरिएको छ ।’ 

सुदूरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने र यहाँका अभिभावकहरूलाई फुटबल खेल आकर्षित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको जोशीले बताए । ‘सुदूरपश्चिमलाई खेलकुद पर्यटनका माध्यमबाट चिनाउने तथा तथा सुदूरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यसहित यो प्रतियोगिता आयोजना सुरु गरेका हौँ,’ पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भने, ‘प्रतियोगिताले सुदूरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ ।’