१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Monday, 19 May, 2025
विनोदचन्द्र कोइराला
२o७८ चैत २९ मंगलबार o७:o२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विचारविहीन राजनीति र नैतिकताविहीन नेतृत्व

मुलुक अहिलेको गम्भीर संकटतर्फ उन्मुख हुनुमा नीतिविहीन राजनीति र नैतिकताविहीन नेतृत्व मुख्य रूपमा जिम्मेवार छन्

Read Time : > 2 मिनेट
विनोदचन्द्र कोइराला
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार o७:o२:oo

‘सरकारमा रहेकाहरू उत्कृष्ट दिमागका हुँदैनन् । यदि हुन्थे 
भने तिनलाई व्यापारीले उहिल्यै चोर्ने थिए ।’
 

- रोनाल्ड रेगन पूर्वराष्ट्रपति, अमेरिका

‘सरकारलाई पैसा र शक्ति दुवै दिनु भनेको टिनएजरलाई रक्सीको बोतलका साथ गाडीको चाबी दिनुजस्तै हो ।’

- पिजे ओरर्की, अमेरिकी राजनीतिक व्यंग्यकार

मुलुक यतिखेर गहिरो संकटतर्फ धकेलिँदै गएको चर्चा र महँगीको मारले सामान्य जनजीवन त्रशित हुँदै गएको छ । अर्थशास्त्री र राजनीतिक विश्लेषकले समेत यसतर्फ इंगित गर्न थालेका छन्, कतै यो मुलुक श्रीलंकाको जस्तो आर्थिक संकटमा पो पुग्ने हो कि भनेर । राजनीतिक संकट त दुई–चार वर्षपहिल्यैदेखि थियो, जसलाई जनताले भविष्यप्रति आशावादी हुँदै पचाइरहेका थिए । तर, अहिले देखिँदै गरेको संकट भनेको आर्थिक संकट हो, जसलाई जनताले चाहेर पनि पचाउन सक्नेछैनन् मात्र होइन, देशको भविष्य नै संकटापन्न हुनेछ, यदि परिस्थितिमा सुधार आएन भने ।

परिस्थितिमा सुधार आउने लक्षण देखिएको छैन, त्यसैले पनि मुलुक गम्भीर संकटतर्फ उन्मुख देखिँदै छ । यो संकट निम्त्याउने मूल कारक भनेको ‘नीतिविहीन राजनीति र नैतिकताविहीन नेता’ नै हुन् भन्दा फरक नपर्ला । नाम नलिईकन भन्नुपर्दा अहिले सरकारमा सामेल सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतृत्वहरू खराब प्रमाणित भइसकेका पात्र हुन् । उनीहरूसँँग नीति, नियत (देश बनाउने) र नैतिकता केही पनि रहेनछ । पद, पैसा र पावर नै उनीहरूको मूल लक्ष्य देखियो । तसर्थ, देशलाई संकटग्रस्त बनाउनुमा उनीहरूकै प्रमुख हात रहेको तथ्य प्रमाणित भइसकेको भए पनि उनीहरूले दैनिक दिने गरेका भाषण, उपदेश र आश्वासन सुन्दा आमनागरिकमा उनीहरूप्रति घृणाभाव उत्पन्न हुनुका साथै राजनीतिप्रति नै वितृष्णा बढ्दै गएको छ ।

सबै नीतिलाई डो¥याउने नीति भनेको राजनीति नै हो । राजनीति नै नीतिविहीन र दुर्गन्धित भएपछि मुलुकको भविष्य अन्धकारमय हुने निश्चित छ । अत्यधिक भ्रष्टाचार, अनुत्पादक खर्च, नीतिविहीन अस्थिर राजनीतिकै परिणाम आज मुलुक आर्थिक संकट भोग्दै छ । महँगी र बेरोजगारी समस्याले आकाश छुँदै छ । सामान्यजनको दिनचर्या कष्टकर बन्दै गएको छ । परिस्थिति यति बिकराल र भयावह बन्दै जाँदा पनि नेतृत्वगणको यसतर्फ चिन्ता छैन । उल्टो एमाले र माओवादीको नेतृत्व भ्युटावर र प्रवेशद्वार निर्माण तथा उद्घाटनमा होडबाजी गर्दै छन् । 

देशको बिग्रिँदो आर्थिक स्थिति देखिनुमा कोभिड महामारी र युक्रेन–रुस युद्धलाई औँल्याइए पनि वास्तवमा यो परिस्थिति सिर्जना हुनुमा व्यापक भ्रष्टाचार, अनुत्पादक खर्च र गलत आर्थिक नीति नै जिम्मेवार छन् भन्ने कुरा विगत तीन वर्षमा बढेको वैदेशिक ऋण र महालेखा परीक्षकले देखाएको बेरुजुको अंकले नै यसलाई पुष्टि गर्छ ।

मुलुक यतिखेर स्थानीय निर्वाचनको संघारमा छ । आआफ्नो नीति कर्यक्रम, आजसम्म आफूले गरेका र भोलि गर्ने कार्यको फेहरिस्त लिएर जनताबीच जानुपर्ने दलका प्रमुख नेताहरू जनताबीच त पुग्छन्, तर उनीहरूसँग झुटको खेतीबाहेक धरातलीय यथार्थअनुरूपको कुनै एजेन्डा हुँदैन । उनीहरू एकअर्कालाई खुइल्याउन प्रतिस्पर्धा गर्छन् । आमजनतालाई समेत अपच हुने भाषामा गालीगलोज र मपाईंत्वबाहेक नेताहरूबाट केही सुनिँदैन । 

यतिखेर महान् विचारक राजनेता बिपी कोइरालाका भनाइलाई सम्झन र सम्झाउन मन लाग्यो । बिपी भन्नुहुन्थ्यो– हामीले आफ्ना विरोधीलाई सैद्धान्तिक आधारमा जित्ने प्रयत्न गर्नुपर्छ । हाम्रो आफ्नो सिद्धान्त त्यागेर कसैसँग कुनै हालतमा सम्झौता गर्नु हुँदैन । तर, हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ, व्यक्तिगत हुनु हुँदैन ।

अहिलेको राजनीति बिपी विचारको ठीक उल्टो हिँडिरहेको छ । सत्ता प्राप्तिका लागि जोसँग पनि र जस्तो पनि सम्झौता हुने गरेको छ । विचार, सिद्धान्त, नीति गौण बनेका छन् । वर्तमान नेतृत्वपंक्ति नै व्यक्तिगत स्वार्थपूर्तिका लागि कार्यकर्तालाई सिद्धान्तच्यूत बनाउँदै छ । केही अपवाद छाडेर नेताहरूमा न्यूनतम नैतिकता पनि देखिँदैन । यस्तो नेतृत्वले मुलुकलाई कहाँ पु¥याउला ? परिस्थिति सोचनीय छ । जनताको थप सचेतना अनिवार्य बन्दै छ ।

अन्त्यमा, महान् सम्राट् चन्द्र गुप्त मौर्यका राजनीतिक गुरु, सल्लाहकार प्रख्यात राजनीति, कूटनीति र अर्थनीतिका ज्ञाता आचार्य विष्णुगुप्त (चाणक्य) ले राजनीतिज्ञलाई सिकाएको पाठ हाम्रा नेताले पनि बुझून् र सोहीअनुसार आफूलाई ढाल्दै व्यवहारमा उतारून् भन्ने अपेक्षासाथ यहाँ उल्लेख गर्नु उपयुक्त ठान्छु । 
‘शासक वर्ग र त्यहाँका जनता दुवैथरीको चरित्र स्तर उठ्यो भने मात्र राज्यको उन्नति र समृद्धि हुन्छ । राजनीतिज्ञको ठूलो आभूषण विनय हो । मनको क्षणिक आवेगमा आउनु हुँदैन, मर्यादा र नियमको पालना हुनुपर्छ । यही राजनीतिज्ञको पहिलो पाठ हो ।

’शासक वर्ग (राजनीतिज्ञ) र जनता दुवैले आचार्य विष्णु गुप्तको उपर्युक्त भनाइको मर्म बुझ्न सक्यौँ भने हाम्रो देश र हामीले पनि केही राहत पाउँथ्यौँ कि ?  (कोइराला बिपी विचार समाज, मकवानपुरका अध्यक्ष हुन्)