१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
विनोदचन्द्र कोइराला
२o८२ जेठ ५ सोमबार o८:oo:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनि म कसरी आफूलाई कांग्रेस भनौँ ?

गलतलाई गलत भन्न नसक्ने, नेतृत्वलाई प्रश्न गर्न नसक्ने, इमानदारी र नैतिकता हराएको म आफूले आफैँलाई कसरी कांग्रेस भनौँ ?

Read Time : > 5 मिनेट
विनोदचन्द्र कोइराला
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार o८:oo:oo

बिपी कोइरालाको जीवनदर्शनबाट सिक्न सकिने एउटा महत्वपूर्ण पाठ हो– पार्टी र परिवारभन्दा ठुलो देश हो र देशका लागि त्याग र बलिदान आवश्यक छ । बिपीले दिएको अर्को दीक्षा हो– सत्य र सिद्धान्तका लागि विद्रोेह, विमति र प्रश्न गर्ने क्षमता अनि नैतिकता र इमानदारी । यिनै महान् नेताको आदर्शबाट प्रेरित भई जीवनका पाँच दशकभन्दा बढी समय बोकिहिँडेको वैैचारिक आस्था, भरोसा र सोहीअनुकूलको क्रियाशीलतामा क्रमिक रूपले आघात पर्दै गएपछि बिस्तारै आस्था र भरोसा पनि टुट्दै जाँदोरहेछ । अनि भित्रभित्रै आक्रोशले जन्म लिँदोरहेछ । 

पुराना कुरा बिर्सिएर आशावादी हुने प्रयत्न गर्दा पनि नयाँ घटना–परिघटना यस्ता बनेर आइदिन्छन् कि आफूले आफैँलाई माफी दिन नसकी धिक्कार्नुपर्ने अवस्था सिर्जना हुँदोरहेछ । परका कुरा छोडौँ, वर्तमान सरकार बन्दाको घटना र त्यसपछिका परिघटनाबाटै विषय प्रवेश गरौँ ।

१. भुटानी शरणार्थीका रूपमा मानव तस्करीमा संलग्न ठुलै पात्र समातिए । लगत्तै, तत्कालीन गृहमन्त्री रवि लामिछानेले संसद्को रोस्ट्रमबाटै ‘गिरीबन्धु टी स्टेट’ लगायत भ्रष्टाचारका फाइल खोल्ने उद्घोष गर । त्यसको दुई दिन नबित्दै अप्रत्याशित रूपमा पूर्वछलफलविनै नेपाली कांग्रेसको मुख्य नेतृत्व मध्यरातमा बालकोट दरबार पुगे । ‘त्वम् शरणम्’को शैलीमा नेकपा एमालेका प्रमुख नेतृत्वलाई प्रधानमन्त्री पदको अफर गर्दै तुरुन्त नयाँ सरकार बनाउने प्रस्ताव गरे ।

कांग्रेस नेतृत्वको प्रस्ताव एमाले नेतृत्वका लागि खुदो साबित भयो । एक दिनपछि नै मध्यस्थकर्ताको बन्द कोठामा सहमति भयो र कार्यान्वयन तहमा पुग्यो । त्यसपछि मात्रै दुई प्रमुख दलका शीर्ष नेतृत्वबिच भएको सम्झौताको खबर बाहिरियो । देश र पार्टीका लागि समेत दूरगामी असर पर्ने यति ठुलो सम्झौता गर्दा मलाई (यो लेखमा ‘म’ भन्नाले सबै कांग्रेसी, विशेषगरी पदाधिकारीज्यूहरूले आ–आफ्नो नाम सम्झेर ‘ममः’ भन्नुहोला) यस्तो हुँदै छ वा गर्दै छु भनेर एक वचन पनि सोधिएन । न त पदाधिकारीबिच छलफल नै भयो । अर्थात् कांग्रेसभित्र मेरो (पदाधिकारी, केन्द्रीय समितिलगायत बाँकी कांग्रेसजनको) औकात सम्झाइदिनुभयो सभापतिज्यू र उहाँको परिवारले । अनि कसरी म आफूलाई कांग्रेस सम्झौँ ?

सरकार बन्दा गरिएको सातबुँदे सहमतिको सरकार बन्ने र बनाउने बुँदाबाहेक अन्य कुनै पनि बुँदा कार्यान्वयन नहुँदा पनि किन भनेर प्रश्न गर्न नसक्ने म कसरी कांग्रेस भनेर चिनिन सकुँला र ?
 

२. सम्झौतालाई आधिकारिकता प्रदान गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक बस्यो । मैले नसके पनि ठुला पदाधिकारीज्यूहरूबाट ‘हामीलाई कुनै जानकारी नदिई मध्यरातमा, कुनै व्यापारीको घरको बन्द कोठामा गएर अपर्झट यस्तो सम्झौता गर्नुपर्नाको कारण के आइपर्‍यो ?’ भनी नेतृत्वलाई सोध्नुहोला भन्ने सोचेको थिएँ, तर कसैले ‘चुँ’सम्म नबोली थपडी बजाउने काम मात्र भयो । म छक्क पर्छु । बिपीलाई सम्झन्छु । अनि धिक्कार्छु आफैँलाई र मनमनै भन्छु– अब म कुन मुखले आफूलाई कांग्रेस भनौँ र अरूको अगाडि मुख देखाऊँ ?

३. ठुला दुई पार्टी मिलेर बनाइएको सरकार स्थिर हुने, सुशासन दिने, भ्रष्टाचारीलाई कारबाही गर्ने, विकासलाई गति दिने र मूल काम संविधान संशोधन गर्ने आदि इत्यादि भनेर चित्त बुझाउने काम भयो । धेरैले पत्याएनन् । भने– यो सरकार भ्रष्टाचार लुकाउन बनेको हो । आफूलाई पनि लाग्न त त्यस्तै लागेको हो, तर आफू परियो खाँटी कांग्रेस ।

आफ्नो नेताले भनेको कुरा, होला त नि राम्रै काम गर्न खोज्या रै’छन् भनेर अरूलाई जवाफ लाइयो । गठबन्धन सरकारले झन्डै नौमहिने कार्यकाल बिताइसक्दा पनि माथि भनिएका कुनै पनि काम हुनु त परै जाओस् उल्टो कुशासन, भ्रष्टाचार, अनियमिततामा रेकर्ड कायम हुँदै गयो । भ्रष्टाचारका नयाँनयाँ काण्ड खुल्दै गए, छानबिन हुनु त परै जाओस् उल्टै यस्ता काण्ड उजागर गर्नेहरूविरुद्ध सम्पूर्ण राज्य शक्ति नै आइलाग्यो । आफ्नै आँखाअगाडि यस्तो देख्दा पनि किन यस्तो ? खोइ त गर्ने भनिएका काम गरेको ? भनेर सोध्न, बोल्न र विरोध गर्न नसक्ने म कसरी आफूलाइ कांग्रेस भनौँ ?

४. असहायहरूकी ‘मसिहा’ बनेकी उपसभामुखलाई आफ्नो निजी स्वार्थका कारण पदबाट हटाउने अथक प्रयत्न भयो (सुन्नमा आएअनुसार कांग्रेस नेता डा. शेखर कोइरालाको विरोधका कारण त्यो कार्यान्वयन हुन पाएन) । मन्त्री भई राम्रो काम सुरु गरेकी सुमना श्रेष्ठमाथि प्रहार भयो । मैले कुनै प्रतिरोध वा विरोधमा बोल्न सकिनँ । 

. ‘सहकारी ठग’ भनेर अत्यधिक लखेटिएका पात्र रवि लामिछानेमाथि छानबिन गर्न मेरै पार्टीका ठुला पदाधिकारीज्युहरूको जोडबलमा संसदीय छानबिन समिति बन्यो । समितिले लामिछानेको कुनै पनि सहकारीसँग सीधा सम्पर्क र कारोबार नरहेको ठहर गरी प्रतिवेदन बुझायो । ‘उनी सहकारी ठग हुन्, हामीसँग प्रमाण छ’ भनेर दाबी गर्ने नेताज्यूहरूको जोडदार दलिल सुनिन्थ्यो । हो रै’छ क्यारे भनेर रविलाई सहकारी ठगको उपनाम दिँदै अरूसँग मैले पनि लोली मिलाएँ ।

सहकारीको झन्डै ८०–८५ अर्ब रुपैयाँ हिनामिना भएको सुनिन्छ । सहकारी पीडितहरू सडकमा रोइरहेका छन् । सुनिँदै छ– सहकारी ठगहरू सरकारकै संरक्षणमा छाती तानेर ‘रवि ठग’ भन्दै हिँडिरहेका छन् । कोही बन्द कोठामा लुकेका छन् । कोही बिदेशतिर चयन गरिरहेका छन् । सहकारीसँग सीधा सरोकार नै नदेखिएको सिर्फ एउटा व्यक्तिको पछाडि मात्र राज्यसंयन्त्र लागेको किन ? अरू खोइ ? जिबी राईको खोजी किन हुँदैन ? यो अन्याय रविप्रति मात्र होइन, सहकारी पीडितप्रति पनि हो भन्न सक्दिनँ । व्यक्तिपिच्छे फरक राज्यदृष्टि हुँदा पनि ‘कानुन सबैका लागि बराबर हुनुपर्छ, राज्यले कसैमाथि पूर्वाग्रह राखेर सजाय निर्धारण गर्नु गलत हो’ भन्न सक्तिनँ । अनि म कसरी आफूलाई कांग्रेस भनौँ ?

६. ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने सरकारको नेतृत्वकर्ताको नाउँमा विदेशमा अर्बौँ रुपैयाँ लगानी रहेको कुरा मिडियामा आयो । प्रमाणका रूपमा आएका कागजात झुटो–साँचो के हो ? पहिला छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा उल्टो ‘प्रमाण’ देखाउने व्यक्तिलाई नै गिरफ्तार गरेर राखियो । अर्बौँको सम्पत्ति विदेशमा लगानी गरी भ्रष्टाचार गरेको प्रमाणसहित आरोप लागेका व्यक्तिलाई संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ भन्न नसक्ने भएपछि कसरी म आफू कांग्रेस हुँ भनौँ ?

. विदेशमा बस्ने एकजना नेपालीले नेपालमा भएका र लुकाइएका असंख्य भ्रष्टाचारका काण्डलाई शृंखलाबद्ध रूपमा सप्रमाण बाहिर ल्याइरहेका छन्, जसमा वर्तमान सरकारको नेतृत्वदायी भूमिकामा रहेकाहरूकै नाम जोडिइरहेको छ । त्यो भ्रष्टाचारको रकम देश विकासमा लगाउने हो भने देशको कायापलट हुने देखिन्छ, तर म ती सम्पूर्ण भ्रष्टाचारका काण्ड अविलम्ब छानबिन गरी दोषीलाई कारबाही गरियोस्, अन्यथा यो सदन चल्न दिँदैनौँ भन्न सक्तिनँ । भ्रष्टाचार र भ्रष्टाचारीलाई नै पोस्ने गरी ल्याउन खोजिएको भूमिसम्बन्धी अध्यादेशलाई आमजनताले सरकार आफैँले गरेका भ्रष्टाचार लुकाउने र भविष्यमा भूमाफियामार्फत भ्रष्टाचार गर्न लागेको अर्थमा बुझेका छन्, तर म त्यसको खुलेर विरोध गर्न सक्तिनँ । अनि म कसरी आफूलाई कांग्रेस भनौँ ?

८. भ्रष्ट नेतृत्वका कर्महरू छताछुल्ल भई विरोध हुन थालेपछि सामाजिक सञ्जाललाई नियमनका नाममा नियन्त्रण गर्ने कानुन निर्माण गर्न खोजिँदै छ । वाक् स्वतन्त्रताको वकालत गर्ने सरकारमा सामेल प्रजातान्त्रिक पार्टीको नेता भइखाएको म त्यसको विरोधमा गर्जिन सक्तिनँ । अनि आफूलाई बिपीको आदर्शबाट प्रेरित कांग्रेस कसरी भनौँ ?

९. सर्वत्र विरोध हुँदाहुँदै पनि अन्ततः विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट जबर्जस्ती हटाइछाडियो । मेरै (कांग्रेसकै) संलग्नतामा बनेको सरकारले मेरो असहमति हुँदाहुँदै पनि कुलमानलाई हटाएर आफ्नो व्यक्तिगत स्वार्थअनुकूलका पात्रलाई नियुक्त गर्‍यो । सरकारको नजरमा कुलमानको अपराध भनेको देशलाई उज्यालो बनाउनु र बक्यौता राजस्व असुल गर्न खोज्नु देखियो । अहिलेसम्म बक्यौता उठाउनेतर्फ कुनै प्रयत्न नहुँदा ढुकुटीमा जानुपर्ने राजस्व व्यक्तिविशेषको खल्तीमा जाने निश्चितजस्तै देखिँदै छ । 

अनियमिततामा संलग्न कर्मचारी हटाएर अर्को कर्मचारी माग गरेका काठमाडौंका मेयरको माग महिनौँ बितिसक्दा पनि सम्बोधन गर्नुको साटो उल्टो उनै आरोपित कर्मचारीलाई प्रशासनको आडमा बलजफ्ती भित्र्याएर हाजिर गराइयो । आफ्नो योग्यताको बलमा त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधार्न क्रियाशील उपकुलपतिलाई विनाकारण राजीनामा दिन बाध्य पारियो । सुशासनको वकालत गर्दै गरेका मेरै पार्टीबाट सामेल एक राज्यमन्त्रीलाई बर्खास्त गरियो, तर म केही बोल्न सकिनँ । सुकर्म र सुशासनको पक्षपोषण गर्न नसक्ने म कसरी कांग्रेस भएँ ?

१०. देशको अर्थ–व्यवस्थाको मेरुदण्ड राष्ट्र बैंक नेतृत्वविहीन भएको झन्डै एक महिना नाघिसक्यो । सुनिँदै छ– गभर्नर पद ‘लिलामी’मा राखिएको छ रे । बोलकबोल अर्बमा पुगिसक्यो रे । देशको आर्थिक उन्नतिका लागि स्वतन्त्र भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने गरिमामय संस्थामा नियुक्ति सिफारिस गर्ने समितिका सदस्यले आलोचनासहित राजीनामा दिए । अर्कातर्फ, शिक्षाको ज्योति बाल्ने शिक्षकलाई एक महिना सडकमा राखेर लाठी र फोहोरा वर्षाउँदै ‘ललिपप’ देखाएर घर जान बाध्य पारियो । तैपनि, किन यतिबिघ्न विवेकहीन बन्यौ सरकार ? भनेर सोध्न सकिनँ मैले । अनि, कुन मुखले म आफूलाई कांग्रेस भनौँ ? 

यी र यस्ता यावत् विकृति एवं भ्रष्टाचारका काण्डहरू जो सप्रमाण छापामा आएका छन् । सबैमा सत्ताधारीकै नाम जोडिएको देखिन्छ । सत्ताको साँचो आफ्नै हातमा हुनेले चाहेमा छानबिन गर्न सक्छ । तर के गर्नु, म आफैँ सत्ताको लोभमा देशलाई खोक्रो र असफल राष्ट्र बनाउने खालका विकृति–विसंगतिको विरोधमा केही बोल्न सक्तिनँ । सरकार बनेको झन्डै नौ महिना हुन लाग्यो । सरकार बन्दा गरिएको सातबुँदे सहमतिको सरकार बन्ने बनाउने सहमतिबाहेक कुनै पनि बुँदा कार्यान्वयन भएको पाइँदैन तर किन ? भनेर न प्रश्न गर्न सक्छु, न त सरकारबाट बाहिर निस्कन सक्छु । 

अनि कसरी म आफूलाई बिपीले जन्माएको, हुर्काएको र विचार दिएको पार्टी नेपाली कांग्रेसको नेता हुँ भनेर भनौँ ? के मेरो आचरण र व्यवहार बिपीको विचार र आदर्शसँग मेल खान्छ ? के कांग्रेस भनाउने नैतिकता मसँग छ ? गलतलाई गलत भन्न नसक्ने, नेतृत्वलाई प्रश्न गर्न नसक्ने, इमानदारी र नैतिकता हराएको म आफूलाई कसरी कांग्रेस भनौँ ?
(बिपी विचार समाज मकवानपुरका अध्यक्ष कोइरालाले यसअघि कांग्रेसका विभिन्न तहका जिम्मेवारीमा रहेर काम गरिसकेका छन्)