
झापाको कन्काई–२ सुकेडाँडामा उत्पादन भएको बायोग्यासलाई सुरुंगा बजारसहित आसपासका करिब एक हजार घरमा पाइपलाइनमार्फत जडान गर्न आयल निगमको टोलीले भारतीय विज्ञसँग छलफल गरेको छ।
मुम्बईको घरघरमा प्राकृतिक ग्यासको पाइपलाइन निर्माण र सञ्चालन गरिरहेको लिखिथा इनफ्रास्ट्रक्चर लिमिटेडका सिइओ शेखर सिंह र सोही कम्पनीमा कार्यरत ‘सिटी ग्यास पाइपलाइन’का योजनाकार सन्तोष सिंहसँग निगमले आइतबार र सोमबार छलफल गरेको हो। सो छलफलमा भारतीय पक्षले बायोग्यासलाई पाइपलाइनबाट घर–घरमा वितरण गर्न कुनै समस्या नरहेको जानकारी दिएको निगमका उपनिर्देशक प्रदीप यादवले जानकारी दिए।
‘लिखिथा कम्पनीका उच्च अधिकारीहरू नै काठमाडौं आएर झापामा बायोग्यास पाइपलाइन जडानका लागि हामीलाई सहजीकरण गर्नुभएको छ,’ उनले भने, ‘भारतका ठुला सहरको प्रत्येक भान्सामा प्राकृतिक ग्यासको पाइपलाइन निर्माण र सञ्चालन गरिरहेको कम्पनीसँगको छलफलले परियोजना अघि बढाउन हामीलाई उत्साहित बनाएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत २३ वैशाखमा उद्योगमन्त्री दामोदर भण्डारीसहित मन्त्रालय र आयल निगमका उच्च अधिकारीलाई बालुवाटार बोलाएर हाल उत्पादन भइरहेको बायोग्यासलाई घरघरमा पाइपमार्फत जडान गर्न निर्देशन दिएका थिए। लगत्तै, झापा पुगेर अध्ययन गरेको निगम टोलीले भारतीय विज्ञलाई काठमाडौं बोलाएर पहिलो चरणको छलफल सकाएको हो।
निगमले काठमाडौं विश्वविद्यालयलाई सो परियोजना निर्माण र सञ्चालनको जिम्मा दिने तयारी गरेको छ। आइतबार र सोमबारको छलफलमा काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवाका प्रमुख विवेक बरालसहित भारतीय अधिकारीहरूको सहभागिता रहेको निगमले जनाएको छ।
पाइपलाइन निर्माण र सञ्चालनका लागि निगम र काठमाडौं विश्वविद्यालयलाई सबै प्रकारको प्राविधिक सहयोग गर्न लिखिथा इन्फ्रास्ट्रक्चरले सहयोग गर्ने प्रतिबद्धता जनाएको उपनिर्देशक यादवले बताए। लिखिथा इन्फ्रास्ट्रक्चरले यसअघि नेपालमै दुई ठुला पेट्रोलियम परियोजना सम्पन्न गरिसकेको छ। लिखिथाले इन्डियन आयल कर्पोरेसन (आइओसी)मार्फत मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र अमलेखगन्जमा दोस्रो चरणको पाइपलाइन परियोजना सम्पन्न गरेको हो।
लिखिथाले भारतमै पनि हरियाण, झारखण्ड, पश्चिम बंगाल, आन्ध्र प्रदेश, कर्नाटक, दिल्ली, उत्तर प्रदेश, बिहार, केरला, तमिलनाडु, उडिसालगायतमा आइओसी, भारत पेट्रोलियम, टोरेन्ट ग्यास प्रालि, जिआइएललगायतका परियोजना निर्माण गरिरहेको छ। पेट्रोलियम तथा ग्यास पाइपलाइन निर्माण र सञ्चालनमा लिखिथा इन्फ्रास्ट्रक्चर भारतमै पनि अग्रणी कम्पनी मानिन्छ।
भारतीय पक्षसँगको छलफलबाट उत्साहित भएको काठमाडौं विश्वविद्यालय र निगमको टोलीले एक साताभित्रै प्रधानमन्त्री ओलीलाई पाइपलाइनबाट घर–घरमा बायोग्यास जडान गर्ने कार्ययोजना पेस गर्ने भएको छ। करिब सात करोड लागत अनुमान गरिएको र सो बजेट चाँडै निकासा भए तत्कालै पाइपलाइन निर्माणको काम थाल्ने निगमले जनाएको छ।