मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जेनिफर फिने बोइल्यान
२०७८ चैत २८ सोमबार ०७:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पारलैंगिक महिलाका केही शब्द

म अझै पनि यस्तो भविष्यमा विश्वास गर्छु, जहाँ मेरोजस्तो जीवनलाई मानवताविरुद्धको अपराधका रूपमा हेरिनेछैन, जसरी भ्लादिमिर पुटिनले मेरो पहिचानसँग जोडिने लैंगिक तरलताको शिक्षालाई मानवताविरुद्धको अपराध भनेका छन् 

Read Time : > 2 मिनेट
जेनिफर फिने बोइल्यान
२०७८ चैत २८ सोमबार ०७:५३:००

यही मार्चको अन्त्यताका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको छविको दुर्दशा ह्यारी पोर्टर उपन्यास शृंखलाका लेखक जेके रोलिङसँग तुलना गरेका छन् । पश्चिमले रुसलाई एक्ल्याइरहेको भन्ने सन्दर्भमा भएको भाषणमा उनले ‘क्यान्सिल कल्चर’ अर्थात् ‘खारेज संस्कृति’माथि हमला बोले, जहाँ उनले रोलिङलाई ‘लंैगिक समानताका तथाकथित प्रशंसकलाई खुसी नबनाएको’ भन्दै रोलिङलाई गरिएको खारेजीसँग आफूलाई तुलना गरेका थिए । स्वाभाविक रूपमा रुसी राष्ट्रपतिको भनाइले रोलिङ उत्साहित थिइनन् । उनले ‘पश्चिमा खारेज संस्कृतिको आलोचना त्यस्ता व्यक्तिले नगरेकै राम्रो, जसले प्रतिरोध गरिरहेका जनताको कत्लेआम गरिरहेको छ वा आलोचकलाई जेलमा जाकिरहेको छ र विष खुवाइरहेको छ’ भन्दै ट्विट गरेकी छिन् ।   

रोलिङले पुटिनको अभिव्यक्तिलाई साथ नदिनु एकदमै उचित कदम हो । यद्यपि, ‘हगवार्ट्स स्कुल अफ विचक्राफ्ट एन्ड विजाड्री’की रचयिता आफूले कसरी रुसी नेताकै विचार बोक्छिन् भनेर चाहिँ आश्चर्यजनक ढंगले बिर्सिन्छिन् । समानता यी दुवै ‘खारेज’ भए भन्ने होइन, यी दुईबीचको समानता भनेको पारलैंगिक व्यक्तिविरुद्धको द्वेष हो । पारलैंगिक व्यक्तिको अधिकारलाई आफूले समर्थन गर्छु भने पनि पारलैंगिक अधिकार आन्दोलनले ‘महिला’को राजनीतिक एवं जैविक वर्गलाई नामेट पार्ने र यौन हिंस्रकलाई ठाउँ दिने गरी उल्लेख्य क्षति गरिरहेको’ लेखेकी थिइन् । आफ्नो विशाल छविलाई विश्वकै सबैभन्दा जोखिममा परेकामध्येका एक समुदायविरुद्ध विष वमन किन गरिरहेकी छिन्, मैले बुझ्न सकेकी छैन । तर, तपाईं जोखिममा परेको समुदायको सदस्य हो भने शक्तिशाली वर्गबाट गलत बुझिनु र त्यसको परिणाम झेल्नु हाम्रो साझा भोगाइ हो ।    

एक अमेरिकी क्वयेर भएको र सीमान्तकृत यौन अभिमुखता, लैंगिक पहिचान तथा यौन विशेषताका व्यक्ति (एलजिबिटिक्यु) समुदायको समानताका लागि लडिरहेकी अभियन्ताका नाताले पारलैंगिक व्यक्तिलाई निरन्तर सताइनु, गलत बुझिनु र अपमान गरिनुले मलाई अचम्मित बनाएको छैन । बरु हाम्रा लागि भनेर गरिने आन्दोलनमा सहभागी भएका विषमयौनिक(स्ट्रेट) र त्याचलंैगिक (सिसजेन्डर्ड) र पुरुष समयौनिक (गे) का प्रतिक्रियाले अचम्मित बनाएको छ ।     

आफ्नो मत स्पष्टतासाथ राख्नुले ठूलो महत्‍व राख्छ । सन् २०२० मा जब रोलिङले पारलैंगिक व्यक्तिका लागि उल्लिखित टिप्पणी आउँदा ह्यारी पोर्टर सिनेमा सिरिजमै काम गरेकी बेलायती अभिनेत्री एम्मा वाटसनले ‘म मेरा पारलैंगिक समर्थकलाई भन्न चाहन्छु कि मलगायत धेरै तपाईंहरूको अस्तित्व स्विकार्छौं, तपाईंहरूलाई सम्मान एवं प्रेम गर्छौं’ भन्दै ट्विट गरेकी थिइन् । यो ट्विटले महत्‍व राख्छ । जब अभिनेता डन चेडलले सन् २०१९ मा ‘स्याटरडे नाइट लाइभ’ इभेन्टमा ‘प्रोटेक्ट ट्रान्स किड्स’ अर्थात् ‘पारलैंगिक बालबालिकाको संरक्षण गरौँ’ लेखिएको टि–सर्ट लगाए, त्यसले पनि महत्‍व बोकेको थियो । 

जब कंग्रेसका सदस्यले अन्तर्राष्ट्रिय पारलैंगिक दृश्यता दिवसका दिन कार्यालयबाहिर पारलैंगिक झन्डा प्रदर्शन गरे, त्यो पनि महत्‍वपूर्ण थियो । गत वर्ष जब इलिनोइसका डेमोक्य्राटिक प्रतिनिधि मेरी न्युम्यानले सदनमा उनका छिमेकी जर्जियाकी रिपब्लिकन प्रतिनिधि मार्जोरी टेलर ग्रिनलाई देखाउने उद्देश्यले पारलंैगिक झन्डा राखिन्, त्यसवेला म न्युम्यानसँग विशेष रूपमा कृतज्ञ भएकी थिएँ । स्मरण रहोस्, ग्रिनले यौनिक अभिमुखता र लैंगिक पहिचानका आधारमा विभेद रोक्न नागरिक अधिकारको संरक्षण विस्तारका लागि ल्याइएको ‘इक्वेलिटी एक्ट’लाई ‘ईश्वरको सिर्जनामा आक्रमण’ भन्दै आलोचना गरेकी थिइन् । 

मेरो अस्तित्व ईश्वरको सिर्जनामा आक्रमण होइन, भनेर स्पष्ट पार्न चाहन्छु । म पनि ईश्वरकै सिर्जना हुँ । बरु तपाईंको विश्वदृष्टिकोणमा मेरा लागि ठाउँ नहुन भने सक्छ । म न्युयोर्क टाइम्समा विगत १५ वर्षदेखि स्तम्भकारका रूपमा लेख लेख्दै आएकी छु । लेख्न सुरु गरेकै दिनकै जति गर्व एवं थकावटका कारण स्तम्भकारको भूमिका त्याग्दै छु । यसो गर्दा म दुःखी हुन्छु किनभने गर्नुपर्ने काम धेरै छन् । तर, म अवकाशको उमेरनिकट पुगिसकेँ अर्थात् स्तम्भ लेख्ने मितिको झक्झाकाहटबाट मलाई मुक्ति मिलेको छ, ताकि म अन्य योजनामा आफ्नो ऊर्जा प्रयोग गर्न सकूँ । यी योजनामा जोडी पिकोका साथ सहलेखन गरिएको उपन्यास ‘म्याड हनी’मा पनि काम गर्नु छ । मैले बिदा भने मागेको होइन, मेरो वैचारिकी र परिस्थितिले माग गरे मैले लेख लेख्ने नै छु ।

म हाम्रा कथाव्यथाबाट संसार परिवर्तन गर्छौं भन्नेमा विश्वास गर्छु । म विश्वस्त छु, मैले न्युयोर्क टाइम्सका यी पृष्ठमा सन् २००७ देखि व्यक्त गरेका कथाले मेरो जस्तो परिवार सबै चुनौतीपूर्ण कीर्तिसँगै फस्टाउन र अगाडि बढ्न सक्छ । र, मैले आफ्नो कथा मेरी पुरातनपन्थी, रिपब्लिकन र कट्टर इसाई आमालाई कैयौँपटक सुनाएकी छु र एक दिन अन्ततः उनले अँगालो हाल्दै ‘प्रेम अमर रहनेछ’ भनेकी छिन् । म अझै पनि यस्तो भविष्यमा विश्वास गर्छु, जहाँ मेरो जस्तो जीवनलाई मानवताविरुद्धको अपराधका रूपमा हेरिनेछैन, जसरी भ्लादिमिर पुटिनले मेरो पहिचानसँग जोडिने लैंगिक तरलताको शिक्षालाई मानवताविरुद्धको अपराध भनेका छन् । वास्तवमा लैंगिक तरलता प्रेमयुक्त ईश्वरको उपहार हो, न कि मानवताविरोधी आक्रमण ।

जब मैले मेरी आमालाई आफ्नो पहिचानबारे आश्वस्त बनाएँ, उनले आई कोरिन्थियन्सलाई उद्धृत गर्दै ‘विश्वास, आशा र प्रेम यी तीन जीवितै रहन्छन् । तर, यीमध्ये सबैभन्दा ठूलो प्रेम हो’ भनेकी थिइन् । मेरा अमूल्य पाठकलाई आगामी दिनमा तपाईंले यस्तो विश्वास पाउनुहुनेछ, जसले तपाईंलाई साहस दिनेछ र तपाईंले यस्तो आशा पाउनु हुन्छ, जसले तपाईंलाई बल एवं प्रेम दिनेछ भनेर आशा गर्छु । द न्युयोर्क टाइम्सबाट