मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्य
२०७८ चैत २६ शनिबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल बारको चुनावी परिणाम : सत्तागठबन्धननिकट प्यानलै विजयी

Read Time : > 2 मिनेट
२०७८ चैत २६ शनिबार ०६:०३:००

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनमा सत्तागठबन्धननिकट प्यानल नै विजयी भएको छ । सत्तागठबन्धनमा रहेको दल कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनमा आबद्ध वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका विष्णुमणि अधिकारीलाई करिब दोब्बर मतले पराजित गरेका छन् । 

गोपालकृष्ण घिमिरे, नवनिर्वाचित अध्यक्ष
न्यायपालिका मात्र होइन, कानुन व्यवसायलाई पनि मर्यादित बनाउँछौँ । नवोदित कानुन व्यवसायीलाई यो क्षेत्रमा भविष्य छ भनेर विश्वास दिलाउनु छ । नयाँ कार्यसमितिले अब पेसी प्रणालीलाई अटोमेसनमा लाने, उच्चस्तरीय न्यायिक आयोग गठनलगायतका विषयमा काम गर्नेछौँ । अबको तीन वर्षमा न्यायपालिका र बार दुवैमा सकारात्मक परिवर्तन हुन्छ । हामी यसमा सफल हुन्छौँ ।

घिमिरेले चार हजार चार सय ७४ मत ल्याएकोमा अधिकारीले दुई हजार चार सय ८२ मत ल्याएको बार निर्वाचन समितिले जनाएको छ । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता अमितालक्ष्मी सैंजूसहित अधिवक्ताहरू पृथ्वीनाथ राई, अनिता जधारी, उत्तमबहादुर श्रेष्ठ, कमलप्रसाद मलेगो र उद्धवचन्द्र घिमिरे पनि प्रतिस्पर्धामा थिए । 

महासचिवमा नेकपा माओवादीनिकट अधिवक्ता अन्जिता खनालले विजय हासिल गरेकी छिन् । उनले तीन हजार ६ सय ८२ मत ल्याएकोमा उनका प्रतिद्वन्द्वी एमालेनिकट अधिवक्ता केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याएका छन् । महासचिवका लागि अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, राधेश्याम सुवाल, उमेशप्रसाद र इन्द्रबहादुर अधिकारीले पनि उम्मेदवारी दिएका थिए ।  

प्रदेश १ बाट उपाध्यक्षमा अधिवक्ता सुरज खत्री निर्वाचित भएका छन् भने मधेस प्रदेशबाट अधिवक्ता सुधीरकुमार कर्णले विजय हासिल गरे । यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट क्रमशः अधिवक्ताहरू हर्कबहादुर रावल, वीरेन्द्र केसी र पशुपति भण्डारी निर्वाचित भएका छन् । कर्णाली र सुदूरपश्चिमबाट अधिवक्ताद्वय उत्तमप्रसाद आचार्य र तुलाराम गिरीले प्रतिद्वन्द्वीभन्दा बढी मत पाए । महिला खुला उपाध्यक्षमा भने अधिवक्ता आशा राई विजयी भइन् । 

कोषाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट अधिवक्ता भरतबहादुर राउत चार हजार ३६ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वीहरू अधिवक्ताद्वय जगतबहादुर कार्कीले दुई हजार आठ सय १८ र गोविन्दराज उपाध्यायले दुई सय ६७ मत ल्याए । 

दलित सदस्य पदमा अधिवक्ता विनिता नेपाली, मधेसी/मुस्लिम (उपत्यकाबाहिरबाट)मा अधिवक्ता किरणकुमारी साह, मधेसी/मुस्लिम खुलामा अधिवक्ता नरेशकुमार साह, काठमाडौं उपत्यकाबाहिरका आदिवासी/जनजाति सदस्यमा नारायणदास राई र खुला आदिवासी/जनजाति रूपबहादुर सारू निर्वाचित भए । 

विष्णुमणि अधिकारी, अध्यक्षका उम्मेदवार
प्राप्त मतपरिणामबाट हामीहरूप्रति कानुन व्यवसायीको विश्वास झल्किएको छ । पाँच समूह मिलेर जाँदा उहाँले चार हजार चार सय चानचुन मत ल्याउनुभयो । मेरो मत त्योभन्दा आधा थियो । यो मतले हाम्रो मनोबल उच्च भएको छ । हामीले चुनावका लागि बोकेको एजेन्डा र आवाज पनि अब उहाँहरूले बोक्नुपर्छ । हामीलाई पनि साथ लिएर, सरसल्लाह गरेर अगाडि बढ्नुहोस् ।

यसैगरी, उपत्यकाबाहिरका महिला सदस्यमा सीता पौड्याल, खुला महिला सदस्यमा शर्मिला थापा विष्ट र उपत्यकाबाहिरका सदस्यमा जितेन्द्रबहादुर मडैले विजय हासिल गरे । यसैगरी, अन्य सदस्यहरूमा अधिवक्ताहरू भरतकुमार लकाई, देवीप्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोषकुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारी निर्वाचित भएका छन् । 

जित हासिल गरेका वरिष्ठ अधिवक्ता घिमिरेले आफूहरूले घोषणापत्रमार्फत गरेको प्रतिबद्धता पूरा गर्ने बताए । यसअघिको कार्यसमितिले विकृति, विसंगति र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने अभियान चलाएकोमा त्यसलाई निरन्तरता दिने उनले बताए । 

‘न्यायपालिका मात्र होइन, कानुन व्यवसायलाई पनि मर्यादित बनाउँछौँ । नवोदित कानुन व्यवसायीलाई यो क्षेत्रमा भविष्य छ भनेर विश्वास दिलाउनु छ,’ उनले भने । नयाँ कार्यसमितिले अब पेसी प्रणालीलाई अटोमेसनमा लाने, उच्चस्तरीय न्यायिक आयोग गठनलगायतका विषयमा काम गर्ने उनको भनाइ छ । ‘अबको तीन वर्षमा न्यायपालिका र बार दुवैमा सकारात्मक परिवर्तन हुन्छ । हामी यसमा सफल हुन्छौँ,’ घिमिरेले थपे । 

प्रगतिशील समूहबाट अध्यक्षका प्रत्याशी रहेका अधिकारीले मत परिणामबाट आफूहरूप्रति कानुन व्यवसायीको विश्वास झल्किएको बताए । ‘पाँच समूह मिलेर जाँदा उहाँले चार हजार चार सय चानचुन मत ल्याउनुभयो । मेरो मत त्योभन्दा आधा थियो । यो मतले हाम्रो मनोबल उच्च भएको छ,’ अधिकारीले भने, ‘हामीले चुनावका लागि बोकेको एजेन्डा र आवाज पनि अब उहाँहरूले बोक्नुपर्छ । हामीलाई पनि साथ लिएर, सरसल्लाह गरेर अगाडि बढ्नुहोस् ।’

पूर्वसंविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी यो चुनावलाई स्थानीय तह वा प्रतिनिधि तथा प्रदेश सभा चुनावसँग जोडेर हेर्न नहुने बताउँछन् । ‘बारको चुनाव पनि राजनीतिबाट मुक्त हुनचाहिँ सकेन । तर, सधैँ बार चुनावसम्म मात्र राजनीतिक रूपमा ध्रुवीकृत हुन्छ । पछि एकढिक्का हुने हो,’ उनले थपे, ‘यो व्यवसायीहरूको चुनाव हो । अबको नेतृत्वले सबैलाई लिएर अगाडि बढ्ला ।’

बारको २५ सदस्यीय २६औँ कार्यसमितिका लागि १९ चैतमा निर्वाचन भएको थियो । यसपछि मतपेटिका संकलन र गणनापछि शुक्रबार मात्र निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको हो । ३ वैशाखमा पुरानो कार्यसमितिले नयाँलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको बारका वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।