निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
गुल्मी कारागार : फाइल तस्बिर
२०७८ चैत २५ शुक्रबार ०९:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई कर्मचारीको भरमा गुल्मी कारागार

Read Time : > 2 मिनेट
२०७८ चैत २५ शुक्रबार ०९:१६:००

कर्मचारी अभावमा कैदीबन्दीलाई अस्पतालदेखि अदालतसम्म पुर्‍याउन पनि करारका सहयोगी परिचालन

गुल्मी कारागारमा ७१ कैदीबन्दी छन् । तर, कारागार दुई कर्मचारीको भरमा छ । कैदीबन्दी बिरामी हुँदा अस्पताल र पेसी बकपत्र गर्न अदालत लैजानसमेत जनशक्तिको अभाव छ । 

गुल्मी कारागारमा जनशक्ति व्यवस्थापन नभएको लामो समय भयो । कैदीबन्दी भन्छन्, ‘प्रमुख जिल्ला अधिकारीसहितको टोलीले वर्षमा दुई–तीनपटक कारागार अनुगमन गर्छ । मानव अधिकार आयोग र अरू न्यायिक निकायका प्रतिनिधि पनि कारागारको अवलोकन गर्न पुगिरहन्छन् । तर, हामीले खेप्नुपरेको समस्या समाधानमा कतैबाट पहल भएको छैन ।’

गुल्मी कारागारमा अधिकृतसहित १० जनाको दरबन्दी छ । तर, स्थायी कर्मचारीका रूपमा एकजना नायब सुब्बा मात्र कार्यरत छन् । नायब सुब्बा रेश्मीराज पन्थी निमित्त कारागार प्रमुखको जिम्मेवारीमा छन् । एकजना करारमा कम्प्युटर अपरेटर राखिएको छ । करारमै अरू चारजना कार्यालय सहयोगी छन् । अधिकृतको दरबन्दी एक वर्षदेखि खाली छ । सिनियर अहेव र सहलेखापाललगायत पनि छैनन् । 

पेसीको आधारमा दैनिक दुईदेखि १० जनासम्म कैदीबन्दीलाई अदालत पु¥याउने र ल्याउने काम गर्नुपर्छ । जनशक्तिको अभावमा कार्यालय सहयोगी सुमित्रा पाण्डेय नै कैदीबन्दी लिएर अदालत पुग्छिन् । कारागार प्रशासनका अनुसार दैनिक पाँचदेखि १० जना कैदीबन्दी बिरामी पर्ने गरेका छन् । नियमित स्वास्थ्य उपचार गराउनुपर्ने ज्येष्ठ नागरिक पनि हुने भएकाले कारागारमा सिनियर अहेवको दरबन्दी रहेको हो । तर, तीन वर्षदेखि अहेव छैनन् । अहेव नहुँदा उसै पनि कैदीबन्दीले सेवा पाइरहेका छैनन् । उपचारका लागि अस्पताल नै पु¥याउनुपर्ने अवस्थामा सुरक्षाकर्मीसहितका कर्मचारी आवश्यक पर्छन् । तर, त्यसका लागि पनि जनशक्ति छैन । जसका कारण करारमा राखिएका कार्यालय सहयोगी नै परिचालन गर्नुपर्ने बाध्यता रहेको निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले बताए । ‘प्रत्येक सेकेन्डमा जोखिम भए पनि कारागारको जनशक्ति व्यवस्थापन भएन । प्रशासनिकबाहेकका सबै काम कार्यालय सहयोगीले गरिरहेका छन्,’ उनले भने । 

वैतनिक कानुन व्यवसायी टुकबहादुर कुँवरले कारागारको साँघुरो संरचनाका कारण कैदीबन्दीले निकै दुःख पाएको बताए । उनले आफू महिनामा दुई–चारपटक कैदीबन्दीसँग पुग्ने भएकाले पनि २५ जनाको क्षमता भएको कारागारमा तेब्बर कैदीबन्दीको व्यवस्थापन दुःखदायी रहेको बताए । साथै, संवेदनशीलताका हिसाबले पनि कारागारको जनशक्ति अविलम्ब परिपूर्ति हुनुपर्नेमा जोड दिए । 

 

२५ जनाको क्षमतामा ७१ कैदीबन्दी
‘घ’ श्रेणीको गुल्मी कारागारमा पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमता छ । अहिले कारागारमा ७१ कैदीबन्दी छन् । कारागारमा जनशक्तिको मात्रै समस्या छैन, जीर्ण र पुरानो भौतिक संरचनाका कारण वर्षौंदेखि कैदीबन्दी व्यवस्थापनमा मुस्किल परिरहेको छ । क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी छन् । पायल्स, मुटु र मानसिक समस्या भएकासमेत कैदीबन्दी एकै ठाउँ छन् । कात्तिकदेखि फागुनसम्म तम्घास अत्यधिक चिसो हुन्छ । सबै कैदीबन्दीका परिवार राम्रो र नियमित भेटघाट गर्ने छैनन् । ओढ्नेओछ्याउनेकै समस्याले पनि मुटु कमाउँदै सुत्नुपर्ने अवस्था रहेको चौकिदार यमबहादुर सूर्यवंशीले बताए । 

‘बर्खामा कारागारभित्र पानी उम्रन्छ । कात्तिकदेखि फागुनसम्म चिसोले थला पार्छ,’ उनले भने, ‘हर फर्किनु छैन, खुट्टा नपसारी उज्यालो हुन्छ ।’ कारागारमा खानेपानी, शौचालयसँगै, आवास चुहिनेलगायतका समस्या ज्यँुकात्युँ छन् । समयअनुसारको सुविधाको माग कैदीबन्दीका नयाँ समस्या होइनन् । कोठा पर्याप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नुपर्ने, उपचारमा समस्या, समय र महँगीअनुसार सेवासुविधा वृद्धि नभएको विषयमा आफूहरूले कारागार प्रशासन र अनुगमन आउने सबैलाई ध्यानाकर्षण गराए पनि समस्या उस्तै रहेको सूर्यवंशीले गुनासो गरे । बर्खामा कैदीबन्दी बस्नेबाहेक कार्यालयकै दुई कोठामा पनि पानी उम्रिएर बस्न नसकिने अवस्था छ । कागजपत्र भिज्ने जोखिम छ । 

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले कारागारका समस्या स–साना भएकाले केही जिल्लास्तरीय पहलबाट समाधानको पहल थालिएको बताए । उनले खानेपानी समस्या समाधानको प्रक्रिया सुरु भएकाले कार्यालयमा थप पहल गर्ने जनशक्ति नै नभएका कारण सहजीकरणमा समस्या भएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले केही समयमै कार्यालय प्रमुखहरूबीच समाधानका उपायबारे छलफल गर्ने प्रतिक्रिया दिए । 

कारागारका कैदीबन्दी नै ठगिन्छन्
गुल्मी कारगार मुढा उत्पादनको हिसाबले कारखाना पनि हो । कारागारका ७० प्रतिशत कैदीबन्दीले मुढा बुनेर राम्रो आम्दानी पनि गरिरहेका छन् । कोभिड–१९ को संक्रमणले सोचेअनुसार व्यापार छैन । त्यसमाथि हातमा ठेला पारेर बुनेका मुढाको पैसा डुबेपछि कैदीबन्दी चिन्तामा परेका छन् । काममा नैराश्यता देखिएको छ । उनीहरूले ०७७ भदौमा उत्पादन गरेर पोखरा पठाएका साढे आठ सयभन्दा बढी मुढाको पैसा नै गायब भएको छ । प्रतिमुढा तीन सयका दरले कारागारका तत्कालीन नाइके लेखनाथ गिरी र चौकिदार दीपक गिरीले मुढा बिक्री गरेर झन्डै साढे दुई लाख रकम लिएका थिए । उनीहरूले त्यो रकम कैदीबन्दीलाई दिएनन् । केही पछि दुवैजना गुल्मीबाट तनहुँ कारागार सरुवा भए । त्यसपछि कैदीबन्दीले परिश्रमको मूल्य नपाएको विषयमा बोलिदिने कोही नभएको महिला चौकिदार सीता विकले गुनासो गरिन् । 

‘कैदीबन्दी डेढ वर्षसम्म समन्वयको आशा गरेर बसे । कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीदेखि अनुगमन गर्ने सबैलाई ठगिएको विषयमा गुनासो गरे । तर, उनीहरूको रकम अझैसम्म आएको छैन,’ उनले भनिन् । निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले भने विभागबाट पहल हुँदै छ भन्ने आफूले सुनेको बताए । कारागारमा विशेष गरेर बाँसका मुढा उत्पादन हुन्छन् । त्योबाहेक सल, स्वेटर, ढकिया र बाँसकै र्‍याक, पेनदानी, चुडीलगायतका सामग्री कैदीबन्दीले उत्पादन गर्दै आएका छन् ।