१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:१७:oo
Read Time : > 5 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्फिनिटी नेटवर्कका नाममा दुबईमा नेपाली कामदारमाथि ठगी

Read Time : > 5 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१७:oo

दुबईबाट करिब एक कर्ष पहिले नेपाल फर्किएका गुल्मीका शेरबहादुर कुँवरले उतै भेटेका राकेश पन्त र इन्द्र शाहको आग्रहमा एक लाख रुपैयाँ इन्फिनिटी नामक अनलाइन नेटवर्क व्यवसायमा लगानी गरे । केही समयपछि लगानीको दोब्बरभन्दा बढी दुई लाख चालीस हजार फिर्ता आयो । त्यो देखेर उनले एकपटक सो रकम आफूले नलिई पुनः सोही कम्पनीमा लगानी गरे । यसपटक लगानी गरेको रकमको पनि दोब्बर रकम नाफासहित उनले फिर्ता पाए ।

लगातार आकर्षक रकम मुनाफा हात परेपछि उनलाई कम्पनीप्रति विश्वास लाग्यो । त्यसपछि उनले आफूले सहकारीबाट पैसा निकालेर कम्पनीमा लगानी गर्नुका साथै श्रीमती, दाजु, भाइ, मामा, भतिजलगायतका १२ जनालाई पनि लगानी गर्न लगाए । लगानी गरेको सुरुसुरुमा आफन्तहरूले पनि केही रकम पाए । तर, पछिल्लो एक वर्षदेखि कसैले पनि रकम नपाएको उनले गुनासो गरे । ‘मेरो र आफन्तीको गरी करिब ५० लाख रुपैयाँ फिर्ता हुन बाँकी छ । फोन गर्‍यो आउँछ–आउँछ मात्रै भन्छ, तर विगत एक वर्षदेखि रकम आएको छैन ।’

आबुधाबीमा कार्यरत झापाका लच्छु उपाध्यायलाई पनि कोठामा सँगै बस्ने साथीले राकेश पन्त र इन्द्र शाहसँग भेट गराए । भेटघाटको क्रममा उनीहरूले उपाध्यायलाई पनि नेपालमा ठूलो फ्याक्ट्री सञ्चालन गर्ने र अहिले लगानी गर्नेहरू कम्पनीको सेयर होल्डर हुने लोभ देखाए । अहिले जति लगानी गरिन्छ त्यसको डबल रकम फिर्ता गर्ने लोभ देखाए । 

राम्रो नाफा आउने लोभमा सन् २०२१ को जनवरीमा उपाध्यायले पहिलोपटक कम्पनीमा एक हजार डलर लगानी गरे । केही समयपछि लगानी गरेको रकमको ब्याजसमेत फिर्ता आएको उनले बताए । त्यसपछि दोस्रोपटक अप्रिलमा उनले फेरि एक हजार डलर लगानी गरे । त्यसको भने आधा रकम मात्रै फिर्ता आयो । उनले श्रीमती, दुइटी छोरी, मितबुबालगायतलाई पनि कम्पनीमा लगानी गर्न लगाए । उनीहरूले गरेका लगानीको ८५ प्रतिशत रकम मात्रै फिर्ता आएको उनको भनाइ छ । समय–समयमा उनीहरूले लगानी गर्दै गर रकम फिर्ता आउँछ भन्दै आश्वासन देखाए । त्यही लोभमा परेर उनले जुलाईमा थप सात लाख रुपैयाँ लगानी गरे । तर, त्यसपछि रकम फिर्ता नआएको उनले गुनासो गरे । ‘मैले पटक–पटक गरी १५ लाख रुपैयाँ लगानी गरे । तर, फिर्ता भने आएन,’ उनले भने । 

उपाध्यायका अनुसार आफूले लगानी गरेको साँवा रकममध्ये प्रत्येक दिन एक प्रतिशत रकम फिर्ता दिन्थ्यो । तर, साताको चार दिन मात्रै । शुक्रबार, शनिबार र आइतबार भने आउँदैनथ्यो । त्यो रकम पनि लगानीकर्ताको बैंक खातामा आउँदैनथ्यो । आफ्नो आइडी राखेर अनलाइनमा पैसा देखाइन्थ्यो । अनि त्यो रकम पन्त र शाहको आइडीमा ट्रान्सफर गरेपछि उनीहरूले बैंकबाट निकालेर दिन्थे । नेपाल, भारत र दुबईमा गरी ७० हजार ग्लोबल नेटवर्कको सदस्य रहेको र आधा भन्दा बढी सदस्यको पैसा फिर्ता नभएको उनले बताए ।  उनले भने ‘मैले चिनेका तीन जनाले १/१ करोड डुबाएका छन् । दुबईमा मात्रै २५ हजारभन्दा बढीले लगानी गरेका छन् । एक अर्ब भन्दा बढी रकम ठगिएको छ ।’

दुबईमा काम गर्ने झापाकी संगीता राई पनि कम्पनीमा काम गर्ने साथी सुस्मिता खड्का सिंखडामार्फत राकेश पन्तसँग भेट भयो । राकेशले उनलाई पनि कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेको र भोलिका दिनमा त्यसले राम्रो प्रतिफल दिने भन्दै विश्वस्त दिलाए । केही समय त संगीताले यसका बारेमा अध्ययन पनि गरिन् । त्यसैले सुरुमा ५०० डलर मात्रै लगानी गरिन् ।  ‘हप्तामा पाँच दिनसम्म पाँच प्रतिशतका दरले फिर्ता आयो । त्यसपछि मलाई अलि विश्वास गर्न थाल्यो,’ उनले भनिन् । उनले आफ्नो आइडीबाट आफैँले प्रतिफल आफ्नै बैक खातामा रकमान्तर गर्दा सीधै उनको खातामा आयो । त्यसपछि पूर्ण विश्वासमा परेकी संगीताले पटक–पटक गरी आफ्नो परिवारकै नाममा मात्रै ४५ लाख रुपैयाँ लगानी गरेको बताउँछिन् । लगानी गरेको रकममध्ये करिब आधाजति मात्रै फिर्ता आएको उनले बताइन् । 

कपिलवस्तुका महेन्द्र घिमिरे प्रोग्राम म्यानेजर हुन् । तर, कोभिडको समयमा उनका सबै काम ठप्प भयो । व्यवसाय बन्द भएकै समयमा चिनजानका मानिसले इन्फिनिटी व्यवसायका बारेमा सुनायो । साथीले राम्रो नाफा हुने बताएपछि लकडाउनको समयलाई सदुपयोग पनि गरौँ भन्दै उनले ६० हजार रुपैयाँ लगानी गरे । पहिलोपटक गरेको लगानी दोब्बर भएर फिर्ता आएको एक लाख ६० हजार उनले पुनः लगानी गरे । त्यो रकम पनि फिर्ता आयो । तेस्रोपटक उनी तीन लाख लगानी गरेको बताउँछन् । तेस्रोपटक उनले आफू मात्रै होइन, आफूमार्फत २० जनाजति जोडेको उनी बताउँछन् । ‘केहीले अलि–अलि पाए । धेरै पाएकै छैनन् । करिब ४० लाख रुपैयाँ फिर्ता आउन बाँकी छ,’ उनले भने ।

 के हो इन्फिनिटी ग्लोबल ट्रेडर्स  ?
इन्फिनिटी ग्लोबल ट्रेडर्स अनलाइन नेटवर्किङ व्यवसायजस्तै हो । यसले वस्तु तथा सेवाको बिक्री गर्दैन । तर, कम्पनीका प्रतिनिधिहरू यसबाट दोब्बर प्रतिफल प्राप्त हुने भन्दै ठग्ने गर्छन् । यो कम्पनी पहिला एमसिटी (माई क्लब ट्रेडर्स )को नामबाट सञ्चालित थियो । पछि यसैलाई इन्फिनिटी नाम राखियो । कम्पनीले टोल डिल ग्रुप अफ कम्पनीसँग अनुबन्धित भएको बताएको छ । सो ग्रुपकोे विभिन्न मुलुकमा आठवटा विभिन्न व्यवसाय छन् । गोल्ड एन्ड डायमन्ड, रियल इस्टेट, शिक्षा, पर्यटन, रिटेल, स्वास्थ्य र फेसन सम्बन्धित कम्पनीहरूमा लगानी भएको बताइन्छ । यसको कर्पोरेट कार्यालय थाइल्यान्ड र दुबईमा भएको बताइएको छ ।एमसिटी नामक कम्पनीमा प्रवेश गर्नका लागि पासपोर्ट, इआडी कार्ड, आधारकार्ड, मेल आइडी र फोन नम्बर अनिवार्य हुन्छ । लगानीका लागि कम्पनीको कुनै पनि प्रतिनिधिसँग भेटी आफूलाई उपयुक्त हुने लगानीको विकल्प रोज्नुपर्ने बताइन्छ । आफ्नो आइडी क्रियट भएपछि लगानी गर्न सकिन्छ ।

लगानी गरेको रकमको शून्य दशमलव पाँचदेखि एक दशमलव पाँच प्रतिशतसम्म प्रतिदिन फिर्ता आउने बताइन्छ । यदि एउटा सदस्यले अर्को नयाँ सदस्यलाई यो कम्पनीमा प्रवेश गराएमा अतिरिक्त १० प्रतिशत बोनस आउने बताइन्छ । त्यसमा नै फुल टाइम काम गर्ने हो भने अतिरिक्त ट्रेडर्स  इन्सेन्टिभ पाँचदेखि आठ प्रतिशतसम्म फिर्ता आउनेसमेत बताइन्छ । 

उजुरी आए इन्टरपोलमार्फत अनुसन्धान गर्छौँ
श्यामकुमार महतो, प्रवक्ता सिआइबी  

नेटवर्किङमार्फत त्यसरी ठगी भएको विषयमा हालसम्म उजुरी परेको छैन, तर सूचना आए अनुसन्धान हुन्छ । विदेशमा भएको यस्तो ठगीको पनि हामीले अनुसन्धान गर्न मिल्छ । अनुसन्धान गर्न अलि कठिन भने हुन्छ, तर, उजुरी आयो भने हामी इन्टरपोललगायत निकायसँग समन्वय गरी अनुसन्धान गर्न सक्छौँ ।

लगानीकर्ताले आफ्नो फिर्ता भएको रकम चारवटा तरिकाबाट क्यास गर्न सक्ने आश्वासन दिइन्छ । पहिलो विकल्प वालेटमा आएको फिर्ता रकम आफ्नै बैंक खातामा ट्रान्सफर गर्न सकिन्छ । यसो गर्दा बैंकले १० प्रतिशत रकम कटौती गर्छ । विटक्वाइनमार्फत डिजिटल वालेटमा पनि ट्रान्सफर गर्न सकिन्छ । यसो गर्दा पाँच प्रतिशत रकम कटौती हुन्छ । लगानीकर्ताले आफ्नो वालेटमा भएको रकम कम्पनीको वालेटमा पठाएर पनि निकाल्न सक्छ । चौथो विकल्पमा एउटा सदस्यले आफूलाई आएको रकम अर्को व्यक्तिलाई सदस्य बनाई क्यास गर्न सकिने बताइन्छ । 

लगानी योजनाअन्तर्गत कम्तीमा ३५०० देखि २५०० डलर (४२३००० देखि ३०२५०० रुपैयाँ) लगानी गर्नुपर्ने हुन्छ । यस्तो लगानीबाट एक प्रतिशत रकम प्रतिदिन फिर्ता आउने बताइन्छ । वर्षमा २३० कारोबार दिन यो रकम फिर्ता हुन्छ । यसरी एक वर्षसम्म फिर्ता आउँदा लगानी गरेको रकमको दोब्बरभन्दा बढी रकम फिर्ता हुने बताइन्छ । जस्तै, ३५०० डलर लगानी गर्ने लगानीकर्ताले २३० दिनमा एक–एक प्रतिशत रकम फिर्ता गर्दा आठ हजार ५० डलर (नौ लाख ७४ हजार रुपैयाँ) फिर्ता हुने बताइन्छ । 

व्यवसाय योजनाका लागि कम्तीमा ५०० डलरदेखि ३५०० डलरसम्म लगानी गर्न सकिने बताइन्छ । यसमा भुक्तानी गर्ने प्रक्रिया भने केही फरक छ । कम्पनीका अनुसार २५ हजार डलरबराबरको व्यवसाय गरेमा डी क्लबमा पुग्छ । यो क्लबमा पुगेपछि तीन प्रतिशत कमिसन दिन्छ । ७५ हजार डलरको व्यवसाय गरेमा आई क्लबमा पुग्छ । यो क्लबमा पुगेपछि सात प्रतिशत कमिसन दिइन्छ । एक लाख ५० हजार डलरको व्यवसाय गरेपछि पी क्लबमा पुगिन्छ । यो क्लबमा पुगेपछि १० प्रतिशत कमिसन दिइन्छ । 

को हुन् इन्फिनिटीका सञ्चालक ?

इन्फिनिटीका ग्लोबल ट्रेडर्सका मुख्य डिजाइनर नेपाली नागरिक राकेश पन्त र भारतीय नागरिक दीपक भास्कर हुन् । यिनीहरूलाई साथमा इन्दिरा शाह, सुस्मिता, सूर्य खरेल, राजन खतिवडा भएको इन्फिनिटी पीडितहरू बताउँछन् । राजन खतिवडा गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष पनि हुन् । कम्पनीका मुख्य नाइके पन्त र शाहले दुबईमा यो व्यवसाय विस्तार गरिरहेका छन् । तर, पछिल्लो ६ महिनादेखि कुनै पनि सदस्यको रकम फिर्ता आएको छैन ।

नेपालमा सूर्य खरेलले नेटवर्क विस्तार गरेको पीडितहरूको दाबी छ । पीडितहरूका अनुसार पन्तले दुबईमा ओरेन्टो भेराइटी रेस्टुरेन्ट खोलेका छन् भने विराटनगरमा ओरेन्टो मल्टी ट्रेडर्सको नाममा कम्पनी खोलेका छन् । पन्तले दुबईस्थित नेपाली पार्कमा गएर नेपाली कामदारलाई भेट्ने र राम्रो प्रतिफल पाउने आश्वासन दिने गरेको पीडितहरू नै बताउँछन् । 

उनले सबैले गरेका लगानीले नेपालमा जलविद्युत्, होटेल, अस्पताल, रियल स्टेटलगायतका क्षेत्रमा लगानी गरिने र सबै लगानीकर्ता सो कम्पनीको मालिक हुने भन्दै प्रेरित गर्ने गरेको पीडितहरू सुनाउँछन् । पैसा नआएको गुनासो गर्दा पन्तले कम्पनीले आफ्नै डिजिटल क्रिप्टोकरेन्सी जारी गर्न लागेको बताउँदै आएको पीडितहरू बताउँछन् ।

ऐनमा के छ ?
वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐनको दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने व्यवस्था छ । जसअनुसार वस्तु खरिद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको सञ्जालयुक्त कार्य र वस्तुको कारोबार नगरी केवल प्रत्यक्ष विक्रेता वा वितरण बनाई शुल्क मात्र लिने गरी गरिने सञ्जालयुक्त कार्य भएको व्यवसाय गर्न नहुने स्पष्ट पारेको छ । ऐनविपरीत यस्तो कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई बिगो खुलेको भए बिगोबमोजिमको जरिवाना र बिगो नखुलेकोमा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने ऐन व्यवस्था छ । 

नेपाल राष्ट्र बैंकले भर्चुअल क्रिप्टोकरेन्सीको कारोबार गर्न तथा सोसँग सम्बन्धित हाइपर फन्ड, जोसियल, क्राउड वान, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध नहुन भनेको छ । केन्द्रीय बैंकले गत माघमा सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा यस्ता करेन्सीले कानुनी मान्यता नपाएको भन्दै गैरकानुनी रूपमा सञ्चालन भएको व्यवसायमा नलाग्नसमेत आग्रह गरेको छ । नेपालमा बस्ने नेपाली नागरिक, विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले यस्तो काम गरेमा कारबाही हुनेसमेत बताएको छ । 

त्यस्तै, अर्थ मन्त्रालयले गत पुस २३ गते सूचना जारी गर्दै इजाजत प्राप्त नगरेका अनलाई वा नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह गरेको छ । अनलाइन कारोबार, अनलाई व्यवसाय, अनलाई बैकिङ, अनलाइन बिमालगायतका नाममा सर्वसाधारणलाई ठगी गरिएको भन्दै गैरकानुनी यस्ता व्यवसायमा नफस्नसमेत आग्रह गरेको छ । 

 

ad
ad