१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : अमुल थापा, संजित परियार
भोजराज भण्डारी नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३९:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपभोक्ताको भान्सामा तरकारी पुगेपछि बल्ल खुल्छ कालीमाटीको विषादी परीक्षण प्रयोगशाला

अझ सरकारी बिदाको दिन त विषादी परीक्षण प्रयोगशाला नै खुल्दैन

Read Time : > 5 मिनेट
भोजराज भण्डारी, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३९:oo

काठमाडौं उपत्यकाका बासिन्दा महँगो तरकारीसँगै घातक विषादी पनि खान बाध्य छन् । कालीमाटी फलफूल तथा तरकारी बजारबाट विषादी परीक्षणविना नै तरकारी उपभोक्ताको भान्सा–भान्सामा पुग्ने गरेको छ । तरकारीको विषादी परीक्षण गर्न कालीमाटीमै राखिएको प्रयोगशाला उपभोक्ताको भान्सामा तरकारी पुगिसकेपछि मात्रै खुल्ने गरेको छ । 

कालीमाटीमा हरेक राति १२ बजेपछि तरकारीका ट्रक भित्रिन्छन् । रातभर अनलोड गरेर बिहान ३ बजेतिरै उपत्यकाका थोक तथा खुद्रा व्यापारीले तरकारी उठाउँछन् । बिहान ५ बजेसम्म त ठेलागाडा व्यवसायीले पनि तरकारी लगिसक्छन् । तर, कालीमाटी विषादी दु्रत विकास केन्द्र भने बिहान ६ बजे मात्रै खुल्छ । नयाँ पत्रिकाले मध्यरातदेखि बिहानसम्म गरेको निगरानीमा यस्तो देखिएको हो । केन्द्रले बचेखुचेका केही तरकारीको मात्रै परीक्षण गरेर औपचारिकता निर्वाह गरिरहेको छ ।

आफूहरूले सरकारले खटाएकै समयमा विषादी परीक्षण गर्दै आएको केन्द्रका प्रमुख प्रकाश घिमिरेले बताए । ‘हामीलाई सरकारले नै बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म प्रयोगशाला सञ्चालन गर्न भनेको छ । खोलेदेखि बन्द नभएसम्म आएका तरकारीको विषादी परीक्षण गर्छौँ,’ उनले भने, ‘प्रयोगशाला बन्द रहेको समयमा आएका तरकारीको जिम्मेवारी हामी लिन सक्दैनौँ । त्यसका लागि त राज्यले नै पहल गर्नुपर्छ । हामी त सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हो ।’ 

विषादी परीक्षण प्रयोगशाला खुल्ने वेलासम्म तरकारी उपभोक्ताको घर–घरमा पुगिसक्ने कालीमाटी तरकारी विकास समितिका एक कर्मचारीले बताए । ‘प्रयोगशालामा विषादी परीक्षणको काम बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै हुन्छ । व्यापारीहरूले भने बिहान ३ बजेदेखि ५ बजेभित्र तरकारी उठाइसकेका हुन्छन् । उपभोक्ताको भान्सामा तरकारी पुगिसकेपछि प्रयोगशालामा परीक्षण हुनुको के अर्थ ?’ उनले भने ।

बचेखुचेका तरकारी परीक्षणको रिपोर्टले भन्छ–  उपभोक्ताले तरकारीसँगै घातक विषादी पनि खाइरहेका छन्

कालीमाटीसहित देशभरका तरकारीमा विषादी परीक्षण गर्ने ल्याबमा दुई समूहका विषादीको मात्रै परीक्षण हुन्छ । किसानले तरकारीमा रोग लाग्न नदिन र किरा मार्न कार्बामेट र अर्गानोफस्फेट बढी प्रयोग गर्ने भएकाले नेपालमा यी दुई समूहका विषादीको मात्रै परीक्षण गर्ने गरिएको छ । ठूलो परिमाणका तरकारी कालीमाटी बजारबाट उठिसकेपछि बाँकी रहेकोमा यी विषादी परीक्षण गर्दा आएको रिपोर्टले राज्यको लापरबाहीका कारण उपभोक्ता विषादी खान बाध्य भएको देखाउँछ । 

कालीमाटी विषादी दु्रत विकास केन्द्रका अनुसार माघमा दुई सय २४ तरकारीको नमुना परीक्षण गरिएकामा ११ वटामा खानै नमिल्ने अर्थात् विषादीको मात्रा उच्च देखिएको थियो । त्यस्तै, फागुनमा दुई सय ६७ तरकारीको नमुना परीक्षण गर्दा तीनवटा खानै नमिल्ने भेटिएका थिए । चैतमा भने १५ गतेसम्म जम्मा २५ वटाको विषादी परीक्षण गर्दा तीनवटा खान अयोग्य देखिएका थिए । 

केन्द्रका प्रमुख घिमिरेका अनुसार परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट दुवै वा कुनै एकको मात्र पनि इन्जाइम रोकावट दर प्रतिशत ४५ भन्दा माथि देखिए उक्त तरकारी खानै हुँदैन । ३५ देखि ४५ प्रतिशतसम्म मात्रा देखिए केही दिन राखेर मात्रै खान मिल्छ । कार्बामेट र अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा तल रहेका तरकारी भने उपभोग गर्दा फरक पर्दैन । 

माघमा ११ तरकारीमा अर्गानोफस्फेटको मात्रा बढी देखिएको थियो । काभ्रे, धादिङ, नुवाकोट, चितवन, लालबन्दी र भारतबाट आएका अकबरे, काँक्रो, बन्दा, गाँजर, फर्सी, भिन्डी, साग, गोलभेँडा र खुर्सानीमा विषादी उच्च देखिएको थियो । जस्तै ः काभ्रेबाट आएको अकबरे खुर्सानीमा ८७.४५, धादिङबाट आएको काँक्रोमा ८३.२४, नुवाकोटबाट आएको बन्दामा ९१.६९ र चितवनबाट आएको गाँजरमा ७५.५५ प्रतिशत अर्गानोफस्फेट देखिएको थियो । 

फागुनमा लालबन्दीबाट आएको गोलभेँडामा अर्गानोफस्फेट ९१.५१, चितवनबाट आएको लोकल काउलीमा ९३.१३ र काभ्रेबाट आएको गोलभेँडामा ७८.५४ प्रतिशत देखिएको थियो । त्यस्तै, १५ चैतसम्ममा भने धादिङबाट आएको तनेबोडीमा ९२.४६, भारतबाट आएको माछे खुर्सानीमा ९४.७१ र भक्तपुरबाट आएको काउलीमा ७९.७९ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ । 
यसले ल्याब खुलेको समयमा पनि परीक्षण निकै सुस्त रहेको देखाउँछ । चालू आर्थिक वर्षको अर्धवार्षिकमा १३ सय ५५ नमुना मात्रै परीक्षण भएको छ । त्यसमध्ये नष्ट नै गर्नुपर्ने १९ र केही दिन क्वारेन्टिनमा राखेर उपभोग गर्न मिल्ने २१ वटा देखिएका थिए । घिमिरेका अनुसार खुर्सानीमा भने खानै नमिल्ने गरी विषादीको मात्रा देखिएको पहिलोपटक हो ।

परीक्षणमा विषादीको मात्रा बढी देखिएपछि तरकारी आएको ठाउँसहित खुलाएर कालीमाटी बजार समितिमार्फत कृषि ज्ञान केन्द्रलाई चिठी लेख्ने गरेको घिमिरेले बताए । त्यस क्षेत्रका किसानको बारीमा गएर थप चेकजाँच गर्ने काम कृषि ज्ञान केन्द्रको भएको उनले भनाइ छ । ‘परीक्षणबाट मात्रै विषादी रोकिने त होइन । तर, उपभोक्ताको भान्सासम्म कस्तो तरकारी पुगिरहेको छ भन्ने सर्सती चित्र देखिन्छ । पाँच वर्षअघिको रिपोर्टलाई आधार मान्दा त अहिले तरकारीमा विषादी प्रयोग गर्ने मात्रा घटेको देखिन्छ । तर, पूरै सन्तोष मान्ने अवस्था छैन,’ घिमिरेले भने, ‘राज्यका सबै जिम्मेवार निकायले किसानका बारीसम्म पनि निगरानी बढाउनुपर्छ । ल्याबमा केही नमुना लिएर गरिने परीक्षणले मात्रै यसलाई रोक्न सकिँदैन ।’

शनिबार र सार्वजनिक बिदाको दिन विषादी परीक्षण प्रयोगशाला नै बन्द

शनिबार होस् या सार्वजनिक बिदाको दिन कालीमाटी तरकारी बजारमा दैनिक नयाँ तरकारी भित्रिन्छ र उपभोक्ताको भान्सामा पुग्छ । तर, शनिबार र सार्वजनिक बिदाको दिन आएका तरकारीमा विषादी भने परीक्षण नै हुँदैन । ती दिन अन्य प्रशासनिक निकायजस्तै कालीमाटी विषादी द्रुत विकास केन्द्र पनि बन्द हुन्छ । नागरिकको स्वास्थ्यमाथि राज्यबाटै कुन हदसम्मको अपराध भइरहेको छ भन्ने यसले प्रस्ट पार्छ । 

‘शनिबार र सार्वजनिक बिदाको दिन प्रयोगशाला बन्द हुन्छ । हामी कर्मचारी राज्यको सिस्टमअनुसार चल्ने हो । प्रयोगशाला सधैँ चलाउन सम्भव नै नहुने भन्ने त हुँदैन, तर राज्यले नै सिस्टम, स्रोत, साधनको व्यवस्था गर्नुप¥यो,’ कालीमाटी विषादी दु्रत विकास केन्द्रका प्रमुख घिमिरेले भने । 

उपत्यकाबाहिर १३ ठाउँमा विषादी परीक्षण प्रयोगशाला : तीनवटा बन्द, सञ्चालनमा रहेका पनि प्रभावकारी छैनन्, नाकामा आवश्यक परीक्षण नभई भित्रिन्छन् भारतीय तरकारी

उपत्यकाबाहिर केन्द्रीय कृषि प्रयोगशाला र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत १३ ठाउँमा विषादी परीक्षण प्रयोगशाला छन् । भारतसँगका सात मुख्य नाकामा राखिएका खाद्य प्रविधिअन्तर्गतका प्रयोगशालामा भारतीय तरकारीलगायत खाद्य वस्तुको परीक्षण हुन्छन् । केन्द्रीय कृषि प्रयोगशालाका जिल्लास्थित इकाइहरूले भने अहिले मुख्यतः देशभित्र उत्पादित तरकारीको मात्रै विषादी परीक्षण गर्छन् । 

केन्द्रीय कृषिका बिर्तामोड, सर्लाही, बुटवल, नेपालगन्ज, कैलाली र पोखरामा प्रयोगशाला छन् । तर, पोखरा, सर्लाही र नेपालगन्जका अहिले बन्द छन् । सञ्चालनमा रहेका पनि प्रभावकारी छैनन् । पोखरामा कर्मचारी अभावको कारण देखाउँदै विषादी परीक्षण रोकिएको एक वर्षभन्दा बढी भइसकेको छ । सर्लाही र नेपालगन्जमा तीन महिनादेखि परीक्षण ठप्प छ । खाद्य प्रविधिको प्रयोगशाला र भन्सारमा सामान लगेकाले परीक्षण रोकिएको घिमिरेले बताए । अन्य ठाउँका प्रयोगशालामा पनि चित्तबुझ्दो परीक्षण छैन । एक–दुई कर्मचारीको भरमा प्रयोगशाला चलेका छन् ।

त्यस्तै, कृषि मन्त्रालयको निर्देशनमा खाद्य प्रविधिले गत १ कात्तिकदेखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा प्रयोगशाला राखेर भारतबाट आयातित तरकारीलगायत खाद्य वस्तुमा विषादी परीक्षण गर्दै आएको छ । तर, परीक्षण दक्ष प्राविधिक, भण्डार कक्षको अभावलगायत कारण प्रभावकारी काम गर्न नसकेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काँकडभिट्टाका प्रमुख सुवास वस्तीले बताए । 

‘अहिले हामीले सामान्य परीक्षण त गरेका छौँ, तर परीक्षण गर्ने ठाउँमा पूर्वाधार अभाव हुँदा हाम्रै स्वास्थ्यका लागि पनि खतरा बनिरहेको छ,’ उनले भने, ‘वीरगन्जबाट ल्याएको पुरानो परीक्षण मेसिन भएकाले आउनुपर्ने नतिजा आउँदैन, निकै कष्टपूर्ण तरिकाले परीक्षण गरिरहेका छौँ । दिनमा १०–१२ नमुना मात्रै जाँच गरेका छौँ ।’ आलु, क्याप्सिकम, केरा, सुन्तलालगायत खान अयोग्य भेटिएको वस्तीले बताए ।

खाद्य विभागका अनुसार तीन महिनाको अवधिमा सात नाकाका प्रयोगशालामा १८ हजार आठ सय २८ नमुनाको मात्रै परीक्षण भएको छ । विभागका एक कर्मचारीका अनुसार पुराना मेसिन मागेर प्रयोगशाला सञ्चालन गरिएकाले प्रभावकारी भएको छैन । ‘खाद्यले अझै मेसिन खरिद गर्न सकेको छैन । एकातिर कर्मचारी अभाव, अर्कातिर पुराना मेसिनबाट विनापूर्वाधार परीक्षण गर्दा प्रभावकारी भएको छैन,’ उनले भने । 

मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको र केही महिनाभित्र उपलब्ध हुने खाद्य विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ‘तयारी नहुँदै हामीले १ कात्तिकबाट प्रयोगशाला सुरु गर्‍यौँ । तर, आवश्यक सामग्री जुटाएर परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिले रहेका कमी–कमजोरी सुधार्छौँ । नयाँ मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ 

कृषि मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाशकुमार सञ्जेल भन्छन्– पर्याप्त परीक्षण नभएको सत्य हो, अब स्थानीय तह र प्रदेशस्तरबाटै गर्ने जोड छ

कालीमाटीमा मात्रै होइन, मन्त्रालयले जहाँबाट जति परीक्षण गरेका छौँ, त्यो पर्याप्त होइन । प्रयोगशालाहरूमा कर्मचारी अभाव छ । हालै खाद्य प्रविधिबाट भएको परीक्षण केही हदसम्म सन्तोषजनक भए पनि केन्द्रीय प्रयोगशालाबाट हुँदै आएको परीक्षण सुस्त छ । अहिले भएको परीक्षण चेतना जगाउने अभिप्राय मात्रै हो । हामीले बुझिसकेका छौँ कि अब स्थानीय तह र प्रदेशस्तरबाटै परीक्षणको वातावरण मिलाउनुपर्छ । हाम्रो जोड यसमै छ, अब संरचनात्मक ढंगले लाग्छौँ । 

कालीमाटी विषादी द्रुत विकास केन्द्रका प्रमुख प्रकाश घिमिरे भन्छन्– हामी त सरकारले भनेअनुसार गर्ने हो, ६ बजेअघि खोल्न सक्दैनौँ

हामीलाई सरकारले नै बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म प्रयोगशाला सञ्चालन गर्न भनेको छ । खोलेदेखि बन्द नभएसम्म आएका तरकारीको विषादी परीक्षण गर्छौँ । प्रयोगशाला बन्द रहेको समयमा आएका तरकारीको जिम्मेवारी हामी लिन सक्दैनौँ । त्यसका लागि त राज्यले नै पहल गर्नुपर्छ । हामी त सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हो । कालीमाटीमा मात्रै होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत देशका अन्य ६ ठाउँमा स्वदेशी उत्पादित तरकारीको विषादी परीक्षण हुन्छ । तर, पोखरामा कर्मचारी अभावले तीन वर्षदेखि बन्द छ । सर्लाही र नेपालगन्जमा मेसिनलगायत पूर्वाधार नहुँदा तीन महिनादेखि ठप्प छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्छन्– मेसिन खरिदका लागि तयारी भइरहेको छ, त्यसपछि चुस्त हुन्छ

पूर्वतयारीविना नै हामीले १ कात्तिकबाट ६ सीमानाकामा प्रयोगशाला सुरु गर्‍यौँ । केन्द्रीय कृषि प्रयोगशालाबाट पनि आवश्यक सामग्री जुटाएर परीक्षण गरिरहेका छौँ । चारवटा मेसिन हामीले पहिल्यै खरिद गरेका थियौँ । अब अरू १२ वटा खरिद प्रक्रियामा छौँ, टेन्डर भइरहेको छ । अहिलेसम्मका कमीकमजोरी सुधारेर चुस्त बनाउँछौँ । 

ad
ad