मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
पर्शुराम काफ्ले नयाँदिल्ली
२०७८ चैत १९ शनिबार १५:५९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा–मोदीबीच सवा एक घन्टा वार्ता, अन्तर्राष्ट्रिय सोलार एलाइन्समा नेपालको प्रवेश 

चार सम्झौतामा हस्ताक्षर, सीमा समस्यादेखि जलविद्युत विकासमा छलफल 

Read Time : > 2 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
२०७८ चैत १९ शनिबार १५:५९:००

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग नेपालले आर्थिक साझेदारी गर्न चाहेको बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीसँग कुटनीतिक वार्ताबाट सीमा समस्या समाधानमा जोड दिएका छन्। देउवा र मोदी दुवैले दुई देशबीच बाढी र डुबान, पञ्चेश्वर परियोजनाको डिपिआरलगायतका विषयमा छलफल भएको जानकारी दिएका छन्। देउवा र मोदीबीच शुरुमा सानो समूहमा र पछि प्रतिनिधिमण्डलस्तरीय करिब सवा १ घन्टा वार्ता भएको थियो।

प्रधानमन्त्री देउवा आफूहरूबीच सकारात्मक छलफल भएको बताएका छन्। उनले भने, ‘हामीबीच सकारात्मक कुराकानी भयो। आगामी दिनमा सम्बन्ध कसरी अघि बढाउने भन्ने विषयमा विस्तृतमा हामीले छलफल गरेका छौँ।’

भारतीय प्रधानमन्त्री मोदीले समकक्षी देउवा भारतका पुराना मित्र भएको भन्दै भारत नेपालको शान्ति, प्रगति र विकासमा लामो समयदेखि सुख दुःखको साक्षी रहेको बताए। सभ्यता, सांस्कृतिक आदान–प्रदानको धागोले दुई देश अनादिकालदेखि जोडिएको उल्लेख गर्दै उनले नेपालको विकासमा  सहयोगको प्रतिबद्धता व्यक्त गरे।

मोदीले ऊर्जा क्षेत्रमा सहकार्यका लागि सार्थक वार्ता भएको बताए। नेपालबाट भारतमा ऊर्जा खरिदका विषयमा चाँडै नै सकारात्मक निर्णय गर्न लागेको मोदीको भनाइ थियो। दुई देशबीच सीमापार कनेक्टिभिटी र जनतालाई बाधारहित, सुगम आदानप्रदान हुनुपर्ने विषयमा छलफल भएको उनले बताए । मोदीले अवाञ्छित तत्त्वद्वारा खुला सीमा दुरुपयोग नहोस् भन्नेमा पनि देउवासँग छलफल भएको जानकारी दिए। दुई देशबीच रक्षा र सुरक्षा क्षेत्रबीच गहन सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ थियो।

जलस्रोतदेखि सीमा समस्याबारे छलफल
दुई देशबीच जनस्तरको सम्बन्धदेखि जलस्रोत, विकास र आपसी सुरक्षा चासो तथा सीमा समस्याका विषयमा छलफल भएको छ। दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले लामो समयदेखि डिपिआर रोकिएको पञ्चेश्वर अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको र उक्त परियोजना दुवै मुलुकको विकासमा गेमचेन्जर हुने उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग सीमा समस्या समाधानका लागि कूटनीतिक माध्यममार्फत अघि बढ्नुपर्ने विषयम सकारात्मक छलफल भएको बताए। संयुक्त पत्रकार सम्मेलनमा देउवाले कूटनीतिक संवादका माध्यमबाट सीमा समस्या समाधानमा जोड दिएको र यसमा मोदी पनि सहमत भएको उल्लेख गरे। दुईदेशबीच बाढी नियन्त्रण, डुबानका विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री देउवाले पञ्चेश्वरको डिपिआर चाँडै टुंग्याउने विषयमा छलफल भएको भन्दै परियोजना दुवै मुलुकका लागि कोसेढुंगा हुने दाबी गरे।

भारतले नेपालबाट थप ऊर्जा किन्ने सहमति गरेको छ। यस सम्बन्धमा भारत सरकारले चाँडै नै केही निर्णय गर्न लागेको छ। भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालबाट भारतले बिजुली किन्ने र त्यसले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए। दुई देशबीच जलविद्युत विकासका लागि ज्वाइन्ट भिजन स्टेट्मेन्ट तयार गर्ने सहमति भएको मोदीले जानकारी दिए । 

प्रधानमन्त्री देउवाले भारतलाई महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको सीमाक्षेत्रबाट जहाज आवागमनका लागि आग्रह गरेका छन्। यसमा भारतले सहमति व्यक्त गरिसकेको छैन। तर, सम्बन्धित सरकारी निकायले छलफल गर्ने सहमति भएको छ। भारतले चाँदनी–दोधारामा सुक्खा बन्दरगाह बनाइदिने, भैरहवा र नेपालगन्जमा चाँडै नै एकीकृत जाँचचौकी निर्माण गर्ने बचनबद्धता दिएको छ।

चार परियोजना उद्घाटन, चार सम्झौता
प्रधानमन्त्री देउवा र मोदीको उपस्थितिमा चार परियोजना उद्घाटन तथा शुभारम्भ भएको छ। दुई देशबीच हस्ताक्षरित चार सम्झौतापत्र आदानप्रदान भएको छ। भारतीय सहयोगमा निर्मित कुर्था(नेपाल)देखि जयनगर (भारत)सम्म ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन तथा रेल सञ्चालन शुभारम्भ भएको छ।
भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर, १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन भई नेपाल सरकारलाई हस्तान्तरण भएको छ।

यस्तै, नेपाल र भारतबीच रुपे कार्ड सञ्चालन शुभारम्भ भएको छ। यसले नेपालमा भारतीय पर्यटकका लागि सुविधा दिई नेपालको पर्यटनमा सहयोग पुग्नेछ । दुई देशबीच भुकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन पनि भएको छ। दुई देशबीच इन्टरनेसनल सोलार एलाइन्समा नेपाल प्रवेश गर्नेसम्बन्धी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षरसमेत भएको छ। योसँगै नेपाल सोलार एलाइन्सको सदस्य भएको छ। यसैगरी, रेल्वेसम्बन्धी प्राविधिक सहकार्यसम्बन्धी सम्झौता आदानप्रदान भएको छ।

भारतीय आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसनबीच पेट्रोलियम पदार्थ उपलब्ध गराउने विषय र प्राविधिक विज्ञहरू आदानप्रदान गर्ने विषयमा दुईवटा सम्झौतापत्र आदानप्रदान भएको छ।