१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
किरण दहाल काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:१o:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सत्तागठबन्धनको निर्णय : एमालेका सिटमा जित हासिल गर्ने मुख्य रणनीति, शक्ति सन्तुलनको अध्ययन गर्न पालिकास्तरसम्मै संयन्त्र

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१o:oo

स्थानीय निर्वाचनमा तालमेल गर्ने सत्तागठबन्धनको निर्णय

सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा अधिकतम सिटमा जित हासिल गर्ने रणनीतिसहित तालमेल गरेर जाने निर्णय गरेका छन् । एमालेले जितेका सिट हात पार्ने मुख्य रणनीतिसहित गठबन्धनले शक्ति सन्तुलनको अध्ययन गर्न पालिकास्तरसम्म संयन्त्र बनाएको छ । 

सत्तासाझेदार पाँचै दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने अलगअलग निर्णय लिएपछि बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले चुनावमा तालमेल गरेर जाने निर्णय गरेको हो । पाँच दलमा रहेका दलहरूले अन्य दलसँग तालमेल गर्न नपाउने कांग्रेसको प्रस्तावलाई भने अन्य दलका नेताहरूले अस्वीकार गरेका छन् । 

तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्ति सन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन मगाउने सहमति गरेका छन् । संयन्त्रले २२ चैतभित्र प्रतिवेदन दिने र त्यसका आधारमा ठोस निर्णय लिइने सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

‘स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । त्यसका लागि दलहरूका प्रदेशस्तरीय प्रमुख रहेको प्रदेशस्तरीय समिति, जिल्लास्तरमा जिल्लाका प्रमुखहरूको समिति र गाउँपालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बन्छ,’ बैठकपछि नेता कार्कीले भने, ‘ती संयन्त्रले २२ चैतभित्र सम्बन्धित प्रदेश, जिल्ला र गाउँपालिकामा पाँँच दलको अवस्था कस्तो छ, त्यसबारे केन्द्रलाई प्रतिवेदन पेस गर्नेछन् ।’

नेता कार्कीका अनुसार केन्द्रीय नेतृत्वले समग्र परिस्थितिको विश्लेषण गर्नेछ । संयन्त्रले वस्तुगत आधारमा प्रतिवेदन पेस गरेपछि छलफल गरेर थप निष्कर्षमा पुग्ने उनले जानकारी दिए । ‘जसरी हामी राष्ट्रिय सभामा एक भएर चुनाव लड्यौँ, त्यसैगरी स्थानीय तह निर्वाचनमा पनि एक भएर खडा हुन्छौँ,’ उनले भने, ‘संयन्त्रले वस्तुगत आधारमा काम पूरा गरेर रिपोर्ट पेस गर्छ । त्यसका आधारमा समग्र मुलुकको परिस्थितिबारे केन्द्रले जानकारी लिन्छ र थप निर्णय गर्छौँ ।’ 

१५ चैतमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आवश्यकता र परिस्थितिका आधारमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय लिएपछि बिहीबार गठबन्धनको पहिलो बैठक बसेको हो । चुनावी तयारीबारे साझा अवधारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको बैठक बोलाएका थिए । बैठकमा महानगरपालिकाको उम्मेदवारी केन्द्रबाटै निर्णय लिने र उपमहानगरपालिकादेखि तल्लो तहका उम्मेदवारबारे सहमति जुटाउन संयन्त्रले सहजीकरण गर्ने सहमति बनेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने केन्द्रीयस्तरमा गठबन्धन नबनाउने र आवश्यकताका आधारमा स्थानीय तहमा तालमेल गर्न सकिने निर्णय लिइसकेको छ । 

गठबन्धनमा विश्वास बढाउने प्रयास
गठबन्धनलाई लिएर कांग्रेस नेताहरूका अभिव्यक्तिमा एकरूपता नदेखिएकै वेला शीर्ष नेताहरूले भने आपसी विश्वास बनाउने पहल थालेका छन् । तालमेलअनुसार एक–अर्काका उम्मेदवारलाई भोट जाउन् भनेर शीर्ष नेताहरूले विश्वास बढाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको गठबन्धन अगाडि बढ्ने र आपसी सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

संयन्त्रले रिपोर्ट दिएपछि थप निर्णय हुन्छ : ज्ञानेन्द्र कार्की नेता, कांग्रेस

स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । त्यसका लागि दलहरूका प्रदेशस्तरीय प्रमुख रहेको प्रदेशस्तरीय समिति, जिल्लास्तरमा जिल्लाका प्रमुखहरूको समिति र गाउँपालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बन्छ । ती संयन्त्रले २२ चैतभित्र सम्बन्धित प्रदेश, जिल्ला र गाउँपालिकामा पाँँच दलको अवस्थाबारे केन्द्रलाई प्रतिवेदन पेस गर्नेछन् । समग्र परिस्थितिबारे केन्द्रले जानकारी लिन्छ र थप निर्णय गर्छौँ ।

गठबन्धन अघि बढ्छ, अप्ठ्यारो आए फुकाउँछौँ : शेरबहादुर देउवा सभापति, कांग्रेस

हाम्रो पार्टीले गठबन्धन गरेरै चुनावमा जाने निर्णय गरेको छ, यसमा दुईमत छैन । अरू पार्टीका नेताहरूले मलाई सहयोग गर्नुभएको छ । आपसी सहयोगलाई अझ बढी एकताबद्ध रूपमा अघि बढाउनेछौँ । गठबन्धन अगाडि बढ्नेछ । अप्ठ्यारो फुकाउने र मिलाउने काम राजनीतिक दलहरूको हो, भाग्ने होइन नि ! अप्ठ्यारो समाधान गरेर अघि बढ्छौँ ।

गठबन्धनलाई अगाडि बढाउन अब द्विविधा छैन : प्रचण्ड अध्यक्ष, माओवादी

राष्ट्रियताको रक्षाका निम्ति बनेको गठबन्धनलाई निर्वाचनमा पनि अघि बढाउन प्रस्ट भएका छौँ । कांग्रेसले पनि करिब–करिब गठबन्धन कायम राखेर जाने भनिसकेपछि अब द्विविधा छैन । हामी मिलेर जान्छौँ । निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रूपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्व र एकतालाई प्रवद्र्धन गरोस् भन्ने हो ।

गठबन्धनको नजर एमालेका सिटमा
एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । ७५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा जित निकाल्ने गरी गठबन्धनमा रहेका दलहरूले रणनीति बनाउँदै छन् । ०७४ को स्थानीय तहमा प्रमुख १२३, उपप्रमुख १३७, अध्यक्ष १७१, उपाध्यक्ष १९४, वडाध्यक्ष दुई हजार २५९, सदस्य पाँच हजार ४५८, महिला सदस्य दुई हजार ७७७ र दलित महिला दुई हजार ६८० सहित कुल १४ हजार ९९ सिट जितेर एमाले पहिलो शक्ति भएको थियो ।

दोस्रो शक्ति बनेको कांग्रेसले प्रमुख १०५, उपप्रमुख ८४, अध्यक्ष १६१, उपाध्यक्ष १३९, वडाध्यक्ष दुई हजार २८७, सदस्य चार हजार ४२३, महिला सदस्य दुई हजार एक सय ५६ र दलित महिला दुई हजार १०१ गरी कुल ११ हजार ४५६ सिटमा जित निकालेको थियो । यसबाहेक माओवादीले प्रमुख ३४, उपप्रमुख ४३, अध्यक्ष ७२, उपाध्यक्ष ६८, वडाध्यक्ष एक हजार १०३, सदस्य दुई हजार ५६, महिला सदस्य एक हजार ३५ र दलित महिला एक हजार ३० मा जित गरी कुल पाँच हजार ४४१ सिटसहित तेस्रो शक्ति बनेको थियो । 

ad
ad