१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धनगढीमाई नगरपालिकाले बाँड्यो भूमिहीनलाई निस्सापत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:५७:oo

हकभोग गरिरहेको जग्गा प्राप्तिका लागि दिएको निवेदनको आधारमा निस्सा पत्र बाँडेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन धनगढीमाई नगरपालिकाले जग्गा नापजाँच तीव्र बनाएको छ ।

नगर प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, धनगढीमाई–१४ का वडाध्यक्ष ठरेन्द्रबहादुर राई तथा सिरहा नापी कार्यालयका प्रमुख इन्जिनियर रविन सिंहले स्थानीय ६ सय ६६ घरधुरीलाई मंगलबार निस्सापत्र वितरण गरे । ‘निस्सापत्रको आधारमै हकभोग गरिरहेको जग्गा नापजाँच हुने र जग्गाधनी दर्ता प्रमाणपुर्जा बन्ने भएकाले जतन गरेर राख्नु होला,’ चौधरीले भने ।

धनगढीमाई–१४ का ६ घरधुरी भूूमिहीन दलित, तीन सय ५२ घरधुरी भूमिहीन सुकुम्बासी र तीन सय आठ घरधुरी अव्यवस्थित बसोवासी ६ सय ६६ घरधुरीले हकभोग गरिरहेको जग्गा प्राप्तिका लागि निवेदन दिएको आधारमा निस्सापत्र दिइएको स्थानीय तहस्तरीय भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिका फोकल पर्सन सञ्जय चौधरीले बताए । ‘त्यसकै आधारमा आगामी हप्तादेखि स्थलगत रूपमा प्राविधिकहरूको टोलीले जग्गा नापजाँच गर्दै छ,’ चौधरीले भने ।

नापीमा १२ जनाको प्राविधिक टोली
राष्ट्रिय भूमि आयोग र नगरबाट खटिएका १२ जना सर्वेक्षक तथा अमिनसहितको टोलीले धनगढीमाई–१३ को भोर्लेनी गाउँमा जग्गा नापिरहेको र डाबर गाउँमा नापेपछि १४ नम्बर वडामा जग्गा नापी थालिने उनले बताए । धनगढीमाई–१३ को भालुटार गाउँबाट गत १६ फागुनबाट जग्गा नापजाँच थालेको प्राविधिकहरूको टोलीले सिमले, भोटेटार, असारी, कालिकास्थान, दूरबिन डाँडा, जाँतेचौरी, कुमराहा, जोगीडाँडा, भुल्के, काफ्ले डाँडालगायतका ठाउँमा जग्गा नापी गरिसकेको उनको भनाइ छ ।

उनका अनुसार उक्त वडामा ४४ घरधुरी भूूमिहीन दलित, एक सय १३ घरधुरी भूमिहीन सुकुम्बासी र दुई सय ३० घरधुरी अव्यवस्थित बसोवासीलाई निस्सापत्र दिएर जग्गा अन्तिम चरणको नापी गरिएको हो । ‘स्थानीय तहको निर्वाचनको आधारसंहिता लागू हुनुुअगावै १३ नम्बर वडाबाट जग्गा प्राप्तिका लागि परेको निवेदनको आधारमा जोतभोग गरिरहेको ऐलानी र अव्यवस्थित जग्गा नापी गरिसक्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यसपछि नगर कार्यपालिकाले रुजु गरेर जिल्ला समिति हुँदै राष्ट्रिय भूमि आयोगमा पठाउने र जिल्लास्थित नापी कार्यालयले नक्सा, कित्ता नम्बर छुट्याएर मालपोतले श्रेस्ता कायम गरेपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा दिइनेछ ।’ धनगढीमाई नगरको १ देखि १४ नम्बर वडामा बसोवास गरिरहेकामध्ये सुरुमा करिब दुई हजार सात सय घरधुरीले जग्गा प्राप्तिका लागि आवेदन दिएको भए पनि छुटेकाहरूसमेत थपिँदा तीन हजारभन्दा बढी हुने समितिले जनाएको छ ।

अन्य स्थानीय तहले काम थाल्दै
तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरी नगर क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रक्रिया थालेको धनगढीमाई नगरपालिकाले जग्गाधनी प्रमाणपुर्जा दिनेगरी अन्तिम चरणको काम गरिरहेका वेला अन्य स्थानीय तहले भने आयोगसँग सम्झौता गरेर भर्खर काम थालेका छन् । आयोगका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले १७ फागुनमा जिल्लाका गोलबजार, कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिकासँग सम्झौता गरेका छन् । त्यसअघिको भूमिसम्बन्धी समस्या समाधान आयोगसँगको सम्झौताअनुसार मिर्चैया नगरपालिकाले पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको जोतभोगमा रहेको जग्गासम्बन्धी काम गरिरहेको प्रवक्ता खड्काले बताए । 

ad
ad