१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत १५ मंगलबार १८:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशका मन्त्री थापाले कानुनविपरीत लिएको दोहोरो सुविधा फिर्ता गर्ने (भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७८ चैत १५ मंगलबार १८:२८:००

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले कानुनविपरीत  लिएको दोहोरो सुविधा फिर्ता गर्ने भएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ पत्रिकाकर्मीले दोहोरो सुविधाका बारेमा गरेको प्रश्नपछि मन्त्री थापाले आफूले लिएको दोहोरो सुविधा फिर्ता गर्ने बताएका हुन्।

नेपाली कांग्रेसबाट निर्वाचित थापा ८ साउन ०७८ मा मन्त्री नियुक्त भएका थिए। थापाले सांसद रहेको करिब तीन वर्ष नियमविपरीत दोहोरो सुविधा लिँदै आएका थिए। 

गण्डकी प्रदेश सभाले ३० चैत ०७४ मा प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो। विधेयकको २० नम्बरमा सरकारी कोषबाट निवृतिभरण पाएको व्यक्ति पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत भएमा त्यस्तो पदाधिकारी वा सदस्यले निवृत्तिभरण वा यस ऐनबमोजिमको सुविधामध्ये एउटा सुविधा मात्र पाउने उल्लेख छ। 

तर नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारीसमेत रहेका थापाले राष्ट्र बैंकबाट पेन्सनसँगै प्रदेश सभाबाट प्रदेश सभा सदस्यबापत पाउने सेवा सुविधासमेत गरी दोहोरो सुविधा लिँदै आएका थिए। 

प्रदेश सभाका ६० सदस्यमध्ये दोहोरो सुविधा लिने थापा मात्र एक हुन्। थापाले दोहोरो सुविधा लिएको सार्वजनिक भएसँगै उनको आलोचना भएको थियो भने दोहोरो सुविधा नलिन आग्रह गरे पनि उनले अटेर गर्दै आएका थिए।

घर जग्गा, बैंक तथा वित्तीय क्षेत्र, होटेल, मललगायतका विभिन्न व्यवसायमा आबद्ध रहेका थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्। 

कानुनका विद्यार्थीसमेत रहेका मन्त्री थापाले भने, ‘प्रदेश सभाको सेवा सुविधा सुरुदेखि लिएको छु, दोहोरो चाहिँ देखिँदैन कि भन्ने भयो, यस विषयमा सुरुमा म सिरियस भइनँ, केही समय दाहोरो लिएको हो, यसलाई कुन तरिकाले कसरी फिर्ता गर्ने भन्नेमा म सिन्सियर भएको छु।’ 

उनले थपे, ‘मैले केही समय दोहोरो सुविधा लिएको छु, ममा लोभलालचको नेचर छैन, त्यसलाई फिर्ता गर्नु नै पर्छ, त्यसलाई उचित समयमा फिर्ता गर्ने गरी प्रक्रिया अघि बढाउने जानकारी गराउँछु।’ 

आफूले राष्ट्र बैंकबाट लिएको सुविधा फिर्ता गर्ने भन्दै थापाले यसबारेमा राष्ट्र बैंकमा कुरा गर्दा कुन प्रक्रियाबाट फिर्ता गर्ने भन्नेमा सल्लाह भैरहेको जानकारी दिए।

आफूले दाहोरो सुविधा लिए पनि कुनै रकम घरमा नलगेको र सबै रकम सामाजिक काममा खर्च गरेको समेत उनले दाबी गरे। कार्यक्रममा थापाले गएको १३ महिनामा आफूले प्रदेश सभा र मन्त्रीबापत पाएको तलब, भत्तासँगै अन्य सेवासुविधाबापत प्राप्त रकम विभिन्न सामाजिक काममा खर्च गरेको विवरणसमेत सार्वजनिक गरेका थिए। 

कार्यक्रममा थापाले माघ २०७७ देखि फागुन २०७८ सम्म गरी बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा गरी बैंक खातामा १३ लाख ६६ हजार तीन सय ६० रुपौयाँ २९ पैसा जम्मा भएको र त्यसमा आफूले एक लाख २० हजार पाँच सय ४७ रुपैयाँ थप गरी १४ लाख ८६ हजार ९ सय सात रुपैयाँ विभिन्न विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए।