१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री ओलीले गरे तिलोत्तमा टावरको उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा निर्मित तिलोत्तमा बहुउद्देश्यीय टावरको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन्। 

तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ उक्त बहुउद्देश्यीय टावर निर्माण गरेको हो । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य वनवाटिकामा वार्षिक साढे तीन लाख पर्यटक आउने गरेका छन्।

०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलान्यास गरेका टावरको मंगलबार एमाले अध्यक्ष ओलीले उद्घाटन गरेका हुन्। ११ तले उक्त टावर एक सय ३४ फिट उचाइको छ। काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुइँ तता तीन हजार पाँच सय ९५ वर्गफिट क्षेत्रफलमा रहेको छ । टावर रहेको क्षेत्र २५ हजार एक सय २२ वर्गफिट क्षेत्रफलमा फैलिएको छ।

नगरपालिका र वनवाटिकाको साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रहेको बताइएको छ। टावरमा होटेल, रेस्टुरेन्ट, कफीसप, डिपार्टमेन्ट स्टोर, लाइब्रेरीसहित अन्य विभिन्न सेवा केन्द्र तथा दूरदृश्यावलोकन सेवासमेत उपलब्ध हुनेछ। टावर सञ्चालनका लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाइसकेको छ।

टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न संरचना निर्माण हुनेछन्। लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम भइरहेको छ। टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिँदै छ।

त्यस्तै, त्यहाँ चाइल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको नगरपालिकाका इन्जिनियर प्रदीप वनले बताए। टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिन्छ भने दूरबिन प्रयोग गरी भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने बताइएको छ।

टावरको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने उल्लेख गर्दै भान्सालाई औषधालयको रूपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए। उपलब्ध स्रोत–साधनलाई नयाँपन र राम्रो बनाए पर्यटन प्रवर्द्धन गर्न सकिने ओलीको भनाइ छ ।  
कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत हुने बताए। 

पूर्वउपप्रधानमन्त्री एवं संघीय सांसद विष्णुप्रसाद पौडेल, राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराई, लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद लीला गिरीलगायतको सहभागिता रहेको उद्घाटन कार्यक्रमको अवसरमा तिलोत्तमा दर्पण नामक पुस्तक, डकुमेन्ट्री र गीतको विमोचनसमेत गरिएको छ।