
नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार पपुवा न्युगिनीमाथि १५ रनको रोमाञ्चक जित निकालेको छ । मलेसियासमेत सम्मिलित सिरिजमा नेपालले जितसँगै महत्वपूर्ण दुई अंक जोडेको छ ।नेपालले बुधबार मलेसियाको सामना गर्नेछ भने मलेसियाले मंगलबार पपुवा न्युगिनीको सामना गर्नेछ । कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले सोमबार पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा एक सय ८३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोडेको थियो । यसअघि पपुवा न्युगिनीले नेपाललाई एकदिवसीय सिरिजमा २–० ले पराजित गरेको यियो ।
एक सय ८४ रन लक्ष्य पछ्याएको पपुवा न्युगिनीले अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गर्दै नेपालमाथि दबाब राखेको थियो । पपुवा न्युगिनीलाई अन्तिम ६ बलमा १७ रन आवश्यकता थियो । नेपालका लागि १८औँ ओभरमा करण केसीले बलिङ गरेका थिए । करणले १८.५ ओभरमा पपुवा न्युगिनीका नर्मान भानुआलाई एलबिडब्लूको धरापमा राख्दै नेपालको जित पक्का पारेका थिए ।
भानुआ क्रिजमा रहँदासम्म पपुवा न्युगिनी जितनजिक थियो । उनको विकेटसँगै पपुवा न्युगिनी पछाडि प¥यो । १९.५ ओभरमा करणले सिमोनलाई शून्य रनमा आउट गरे । इनिङ्सको अन्तिम ओभरमा नेपालबाट दीपेन्द्रसिंह ऐरी बलिङमा आएका थिए । १९.२ ओभरमा ११औँ क्रमका ब्याट्सम्यान आलेई रनआउट भए । आलेईको विकेटसँगै नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्यो ।
सन्दीप तेस्रोपटक म्यान अफ दी म्याच
नेपालले पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दा कप्तान सन्दीप लामिछानेले प्रेरणादायी बलिङ प्रदर्शन गरेका थिए । यसै प्रदर्शनका आधारमा उनी त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा म्यान अफ दी म्याच बनेका छन् । करिअरमा उनी तेस्रोपटक म्यान अफ दी म्याच भएका हुन् । युएईमा भएको आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा उनी पहिलोपटक म्यान अफ दी म्याच भएका थिए । सो विश्वकप छनोटमा उनी क्यानडा र ओमानविरुद्धको खेलमा म्याद अफ दी म्याच भएका थिए । सन्दीपले चार ओभरमा २२ रन खर्चेर सर्वाधिक तीन विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका मुख्य ब्याट्सान तथा कप्तान असान भला, सेसे बाउ तथा जासन किलाको विकेट लिए । यसैगरी उनले ११औँ क्रमका ब्याट्सम्यान अलेई नाओलाई रन आउट गर्न ऐरीलाई समेत सहयोग गरे ।
भुर्तेलद्वारा विश्व कीर्तिमान बराबरी
पपुवा न्युगिनीविरुद्धको प्रतिस्पर्धामा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले विश्व कीर्तिमान बराबर गरेका छन् । भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० अन्तर्गत कम खेलमै पाँच सय रन पूरा गरी रेकर्ड बराबरी गरेका हुन् । उनले यो उपलब्धि हात पार्न मात्रै १२ अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । उनले ११ बलमा २० रन जोडेका थिए । सोपरबाट उनी रनआउट भए । भुर्तेलले इंग्ल्यान्डका बायाँहाते डेविड मलान र अफगानिस्तानका हजुतुल्लाह जजाईसँगको विश्व कीर्तिमान बराबर गरेका हुन् । मलान र जजाईले १२ इनिङमा पाँच सय रनको रेकर्ड बनाएका थिए ।
भारतका लोकेश राहुलले १३ इनिङमा पाँच सय रन बनाएका थिए । गत वर्ष कीर्तिपुरमै भएको नेदरल्यान्ड्सविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा भुर्तेल डेब्यु गरेका थिए । कुशलले आफ्नो पहिलो टी–२० सिरिजमा लगातार तीन अर्धशतकीय इनिङ्सको रेकर्ड समेत बनाएका छन् ।
समग्रमा भुर्तेलले टी–२० खेलमा १२ इनिङ्समा चारपटक नटआउट रहँदै तीन सय ८७ बलमा पाँच सय १८ रन जोडेका छन् । उनले अहिलेसम्म पाँच अर्धशतक तथा एक शतकीय इनिङ्स खेलेका छन् । यसक्रममा उनले ४९ चौका र २१ छक्का प्रहार गरेका छन् । कुशल आठ पटक क्याच आउट भएका छन् । कुशलको स्ट्राइक १३३.८५ रहेको छ ।