मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ चैत १५ मंगलबार ०६:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दर्जन वायुसेवा कम्पनीको चासो, छुट दिएर आकर्षित गर्ने क्यानको तयारी

२ जेठदेखि उडान गर्न जजिरा एयरवेजको प्रस्ताव, नेवानि कोलम्बो उड्ने तयारीमा, पहिलो दिन चार्टर र नियमित गरी कम्तीमा १० वटा उडान हुने अनुमान

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ चैत १५ मंगलबार ०६:२३:००

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नियमित उडान गर्न एक दर्जन वायुसेवा कम्पनीहरूले चासो देखाएका छन् । विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न गरी ‘एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)’ जारी भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडानका लागि चासो देखाउन थालेका हुन् । विमानस्थलमा उडान गर्न कुवेतको जजिरा एयरवेजले प्रस्ताव नै पठाइसकेको छ । त्यस्तै, नेपाल वायुसेवा निगमले पनि भैरहवाबाट कोलम्बो उडान गर्ने तयारी थालेको छ । श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयरलगायतका वायुसेवा कम्पनीले पनि चासो देखाएको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

फ्लाई दुबईको १० जनाको टिम भैरहवा आएर विमानस्थल अवलोकन गरेर फर्किएको छ । त्यस्तै, ओमान एयरले पनि दूतावासमार्फत सम्पर्क बढाएको छ भने युकेबाट समेत ब्रिटिसहरू विमानस्थल अवलोकनका लागि आएको महाप्रबन्धक दाहालले बताए । उनले भने, ‘उनीहरूले एउटा प्रश्न सोधेका छन्, हामी जवाफ भरेर पठाउँछौँ ।’ अहिले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आवेदन दिने समय हो । फेरि, आवेदन दिने सबै जहाजलाई उडान दिन पनि नसकिने उनको भनाइ छ । किनभने, विमानस्थलमा अहिले एकैपटक पाँचवटासम्म विमान मात्रै पार्किङ गर्न मिल्छ ।

 छुट दिएर जहाज तान्ने तयारी
भैरहवा उडानका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न जहाज ल्यान्डिङ, पार्किङलगायतमा छुट सुविधा दिने तयारी छ । अहिले विमानस्थल सेवाशुल्क नियमावली, २०६७ संशोधन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगिसकेको छ । पर्यटन मन्त्रालयले पठाएको संशोधित ‘विमानस्थल सेवाशुल्क नियमावली, २०७८’को ड्राफ्ट अर्थ मन्त्रालयले पनि स्वीकृत गरिसकेको बताइएको छ । 

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अनुमति दिनका लागि नीति–नियमावली संशोधनको काम, भैरहवालाई अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)बाट अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता दिलाउने, कर्मचारी व्यवस्थापनलगायत काम भइरहेका छन् । विमानस्थलमा जहाज पार्किङ गर्दा केही महिना निःशुल्क सेवा दिने तयारी छ । ‘काठमाडौंमा जहाज होल्डिङ गर्नुपर्छ, भैरहवामा त्यो गर्नुपर्दैन, यसले पनि वायुसेवा कम्पनीको लागत कम हुन्छ, लागत कम परेपछि टिकट पनि सस्तो होला,’ दाहालले भने, ‘गौतम बुद्ध विमानस्थलमा ६ सय मिटर भिजिबिलिटीमै जहाज ल्यान्ड गर्न सक्ने प्रविधि जडान गरिएको छ ।’ जबकि काठमाडौंमा जहाज ल्यान्ड गर्न एक हजार मिटर भिजिबिलिटी हुनुपर्छ ।

 सम्भावित उडान–यात्रु
लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी पर्यटक र खाडी मुलुकका उडानहरू भएमा गौतम बुद्ध विमानस्थल सञ्चालन राम्रोसँग हुने महानिर्देशक अधिकारीको विश्वास छ । ‘काठमाडौंको विमानस्थल करिब स्याचुरेसनमा पुग्न थालेको हुँदा भैरहवा विमानस्थलको भविष्य उज्ज्वल देख्छु,’ उनले भने । बौद्धमार्गी मुलुकहरू चीन, जापान, कोरिया, भियतनाम, श्रीलंकालगायत मुलुकबाट सीधा भैरहवा उडान हुनेमा क्यान विश्वस्त छ । विमानस्थलको व्यवस्थापन र मर्मत–सम्भार क्यानले नै गर्नेछ । 

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा सन् २०१५ जनवरीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरिएको थियो । यो विमानस्थल सन् २०१७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएपछि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, तराईकेन्द्रित बन्द–हडताल, चिनियाँ निर्माण कम्पनी र विमानस्थलमा निर्माण सामग्री उपलब्ध गराउने जिम्मेवारी लिएका स्थानीय ठेकेदार कम्पनी, कोभिड महामारीलगायत विविध कारणले चार वर्ष ढिलो सम्पन्न भएको छ ।

 वायुसेवा निगमको वाइडबडीबाट परीक्षण उडान
क्यानले १ वैशाखमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० जहाजबाट गौतम बुद्धमा परीक्षण उडान गर्ने तयारीमा छ । परीक्षण उडानमा वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलमा भन्सार, इमिग्रेसन, सुरक्षाकर्मी, आयल निगम, ग्राउन्ड ह्यान्डलिङलगायतमा २०–२२ वटा निकाय कार्यरत हुन्छन् । ‘सबै निकायहरू २ जेठअघि विमानस्थलमा आफ्नो सेवा सुरु गर्न सकारात्मक हुनुहुन्छ,’ दाहालले भने, ‘सुरक्षाकर्मीका लागि बस्ने ठाउँ मिलाउँदै छौँ, भन्सार र इमिग्रेसनको इकाइ पनि आउँदै छ ।’ विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले पाइसकेको छ । यो सेवाका लागि निगमको टिम नै पुगेको महाप्रबन्धक दाहालले बताए । टेस्ट फ्लाइटमै ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध हुनुपर्छ । अरू निकायको सेवा नियमित उडान सुरु हुने दिनसम्म उपलब्ध हुनुपर्ने उनको भनाइ छ ।

 पहिलो दिन १० उडान हुने अनुमान
नेपाल नागरिक उड्डयन प्राधिकरणले १ वैशाखमा परीक्षण उडान गर्ने र बुद्धपूर्णिमाको दिन २ जेठदेखि नियमित उडान सुरु गर्ने तयारी गरिरहेको छ । सोही कारण अझै आवेदन दिन पर्याप्त समय रहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘अहिलेसम्म कुवेतको जजिरा एयरवेजले ओमान–भैरहवा दैनिक उडान गर्ने गरी प्रस्ताव पठाएको छ,’ उनले भने, ‘नेपालीहरूको श्रम गन्तव्य कुवेतको जजिराले अहिले काठमाडौंमा दैनिक उडान गरिरहेको छ ।’ नेपाल वायुसेवा निगमले पनि भैरहवा–कोलम्बो–भैरहवा उडान गर्न चासो देखाएको उनको भनाइ छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पनि भैरहवाबाट उडान गर्नका लागि गृहकार्य भइरहेको बताए ।

एरो थाईको प्राविधिक टोलीले विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरी क्यानका महानिर्देशकलाई प्रतिवेदन बुझाइसकेको छ । क्यानले गौतम बुद्ध विमानस्थल उडान योग्य भएको भनेर विमानस्थलको अवस्थाबारे सम्पूर्ण विवरणहरू राखेर ‘एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)’ जारी गरेपछि विभिन्न देशका वायुसेवा कम्पनीहरूले चासो देखाउन थालेका हुन् । २१ अप्रिलमा गौतम बुद्धले अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रमाणित हुने बताइएको छ ।