१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:४४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निर्यातमा लगाइएको अवरोध हटाउने चीनको प्रतिबद्धता

साढे दुई वर्षदेखि रसुवा र तातोपानी नाकाबाट निर्यातमा गरिएको अवरोध हटाउने चिनियाँ विदेशमन्त्रीको वचन

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४४:oo

साढे दुई वर्षदेखि प्रभावित उत्तरी नाकाबाट हुने व्यापार अब छिट्टै सहज हुने भएको छ । रसुवा र तातोपानी नाकाबाट हुने आयात–निर्यातलाई छिट्टै सहज बनाउने चीनले प्रतिबद्धता गरेको छ ।  चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा नेपालले दुई मुलुकबीचका नाकाबाट हुने व्यापार सहजीकरण गरिनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको थियो । खासगरी नेपालको निकासीमा चीनले लगाएको अवरोध हटाउन नेपाली पक्षले विशेष जोड दिएको थियो । मुख्य वार्ता र साइडलाइनर छलफलमा चिनियाँ पक्षले दुवै नाकाबाट छिट्टै सहज आयात–निर्यात गर्न सकिने प्रबन्ध मिलाउने आश्वासन दिएको छ । 

‘हामीले झन्डै साढे दुई वर्षयता नाका पूर्ण र सहज रूपमा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका थियौँ, नेपालको निर्यातमा लगाइएको अवरोध हटाउन पटक–पटक आग्रह गर्दै आएका थियौँ, तर चिनियाँ पक्षले हाम्रो कुरालाई सुने–नसुनझैँ गर्दै आएको थियो,’ बैठकमा सहभागी वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर, यसपटक चीनले यस विषयलाई अलि गम्भीरताका साथ लिएको छ, मुख्य बैठक र साइडलाइनर बैठकमा चिनियाँ विदेशमन्त्री र सहायक वाणिज्यमन्त्रीले आयात–निर्यात सहज रूपमा गर्न सकिने वातावरण मिलाउने बताएका छन् ।’

चिनियाँ विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीबीचको वार्तामा तातोपानी र रसुवागढी नाकामा दोहोरो कार्गो आवागमन सुरु हुनुपर्नेमा नेपालले जोड दिएको थियो भने चीनले कोभिड प्रोटोकलका आधारमा नाका नियमित गर्न सहजीकरण गर्ने आश्वासन दिएको छ । यसका लागि थप गृहकार्य गर्न दुवै परराष्ट्रमन्त्रीले सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् । उच्च तहको भ्रमणमा उठाइएको र समझदारी भएको विषय कार्यान्वयन हुने सम्भावना अधिक हुने परराष्ट्रका एक अधिकारीले बताए । ‘विदेशमन्त्रीको यो भ्रमण राष्ट्रपतिपछिको उच्च तहकै भ्रमण हो,’ उनले भने, ‘त्यसैले विदेशमन्त्रीजस्तो ओहोदाका व्यक्तिले नाका सहजीकरण गर्छौँ भनेपछि हामी सकारात्मक हुनुपर्छ, नाका छिट्टै पूर्ण र सहज रूपमा सञ्चालन हुन्छ भन्नेमा आशावादी हुनुपर्छ ।’

नेपालले दुई मुलुकबीचको व्यापार असन्तुलनका विषयलाई समेत प्राथमिकताका साथ उठाएको थियो । त्यसमा चीनले उत्पादन तथा निर्यात वृद्धिमा सघाउन आफू तयार रहेको जनाएको थियो । विदेशमन्त्रीको भ्रमणकै अवसरमा नेपालबाट चीनमा हेलेज घाँस निर्यातका लागि सम्झौता भएको छ । त्यस्तै, विश्व व्यापार संगठनको मान्यताअनुसार नेपालबाट चीन निर्यात हुने वस्तुमध्ये ९८ प्रतिशतलाई भन्सार छुट दिनेसम्बन्धी समेत सम्झौता भएको छ । 

 नाका सहज हुने वातावरण बन्दै 
सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको हो । त्यसयता चिनियाँ नाका हुँदै हुने आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । आर्थिक वर्ष ०७६/७७ को माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७६/७७ को कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता चीनले कोभिडको कारण देखाउँदै रसुवा र तातोपानी नाकाबाट हुने निर्यातमा अवरोध गर्दै आएको छ । तर, कोभिडको प्रभाव न्यून हुँदै गएको तथा कोभिडविरुद्धको खोप अभियान (भ्याक्सिनेसन)ले समेत तीव्रता पाएका कारण नाका सहज र पूर्ण रूपमा सञ्चालन हुने वातावरण बन्दै गएको छ । 

 ‘चिनियाँ नाकाबाट सहज व्यापार छिट्टै’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चीनका सहायक वाणिज्यमन्त्री (सचिवस्तर) सेङ क्युपिङबीच शनिबार भएको औपचारिक भेटमा चिनियाँ पक्षले उत्तरी नाका सहज र पूर्ण रूपमा सञ्चालनमा आउने आश्वासन दिएको छ । वाणिज्य सचिव डा. पाण्डेयले हाल सञ्चालनमा रहेका व्यापारिक नाकाहरू रसुवा र तातोपानी लामो समयदेखि पूर्ण रूपमा सञ्चालन हुन नसकेको विषय धानाकर्षण गराउँदै उक्त नाकाहरू नियमित र पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा सहायकमन्त्री क्युपिङले कोभिड–१९ का कारण प्रभावित बनेको रसुवा र तातोपानी सीमानाका छिट्टै सहज बन्ने बताएका हुन् । 

‘विश्वव्यापी महामारी कोभिड–१९ को प्रभावप्रति चीन सरकार अत्यन्त संवेदनशील भएको हुँदा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेका कारण रसुवा र तातोपानी नाका प्रभावित भएका हुन्,’ उनले भने, ‘तर, हाल चीनमा समेत कोभिड–१९ को प्रभाव न्यून हुँदै गएको परिप्रेक्ष्यमा छिट्टै नै उक्त रसुवा र तातोपानीको सीमानाका सहज आयात–निर्यातका लागि आवश्यक प्रबन्ध मिलाउनेछौँ ।’

 गैरभन्सार अवरोध हटाउन आग्रह 
छलफलमा सचिव डा. पाण्डेयले नेपाल र चीनबीच सदीयौँदेखि व्यापारिक सम्बन्ध रहेको स्मरण गर्दै दुवै देशले पारस्परिक हित हुने गरी व्यापार र लगानीका क्षेत्रमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताए । उनले रसुवा र तातोपानी नाका पूर्ण क्षमतामा सहज रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । दुई देशबीचको व्यापारलाई सहजीकरण गर्न व्यापारिक पूर्वाधारको विकास, बहुकार्यात्मक क्वारेन्टिन प्रयोगशालाको निर्माण साथै व्यापारसँग सम्बन्धित अन्य गैरभन्सार अवरोधहरू न्यूनीकरणमा दुई देशबीच सहकार्य हुनुपर्ने उनले बताए ।  
‘चीन सरकारले नेपालको व्यापारिक पूर्वाधार विकासमा सहयोग गर्नुका साथै नेपाली वस्तुहरूलाई कोटारहित भन्साररहित सुविधा उपलब्ध गराएकोमा म धन्यवाद व्यक्त गर्दछु,’ उनले भने, ‘उक्त सुविधाको उपयोगका लागि नेपाल लक्षित विशेष हार्मोनाइज्ड कोडको व्यवस्था गर्न र पेस्ट रिक्स एसेसमेन्टलगायत स्यानिटरी र फाइटोस्यानिटरी मापदण्ड पूरा गर्ने विषयमा नेपाल सरकारलाई सहयोग गर्न चीनसँग आग्रहसमेत गर्दछु ।’

क्रस बोर्डर सेज निर्माणमा सकारात्मक
चीनका सहायक वाणिज्यमन्त्री क्युपिङले चीन सरकार नेपालको व्यापार प्रवद्र्धन, व्यापारिक पूर्वाधारको विकास र विस्तारमा सकारात्मक रहेको कुरा बताए । नेपाल र चीनबीच द्विपक्षीय व्यापारको उच्च सम्भावना रहेको उल्लेख गर्दै उनले दिगो व्यापारका लागि कृषि, वन, पर्यटनजस्ता क्षेत्रमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे । उक्त अवसरमा नेपाल–चीन अन्तरदेशीय विशेष आर्थिक क्षेत्र (क्रस बोर्डर इकोनोमिक जोन)मार्फत द्विपक्षीय व्यापारको प्रवद्र्धन गर्न सकिने हुँदा सोका लागि आवश्यक पहल गर्न डा. पाण्डेयले आग्रह गरे । जवाफमा सहायकमन्त्री क्युपिङले सो अवधारणाको प्रशंसा गर्दै आफू चीन फर्केपछि तिब्बत स्वायत्त प्रदेशलाई उक्त कार्यमा शीघ्रता दिन निर्देशन दिने विश्वास दिलाए ।

ad
ad