१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:५६:oo
Read Time : > 3 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बलात्कार अभियोगी पल शाह पुर्पक्षका लागि थुनामा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५६:oo

नाबालिका बलात्कारको आरोपमा शाह कारागार चलान, अब थुनाबाटै आफू निर्दोष प्रमाणित गर्नुपर्ने, म्यानेजर जोशी भने एक लाख धरौटीमा छुटे

अभिनेता पल शाह भनिने पूर्णविक्रम शाह नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत तनहुँको आदेशपछि शाह बिहीबार जेल चलान भएका हुन् । अर्का प्रतिवादी कृष्णराज जोशीलाई भने अदालतले एक लाख धरौटी छाड्ने आदेश गरेको छ । जोशी पलका म्यानेजर हुन् । उनलाई घटनाको मतियार मानिएको छ । उनी बिहीबारै हिरासतमुक्त भएका छन् ।

१५ वर्षीया बालिकामाथि बलात्कार अभियोग लागेका शाहविरुद्ध बिहीबार जिल्ला अदालत तनहुँमा थुनछेक बहस भएको थियो । बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एक इजलासले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख’ अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । आदेशपछि उनलाई बिहीबार नै तनहुँस्थित कारागार कार्यालय दमौली पठाइएको छ । 

जिल्ला न्यायाधीश ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । ‘पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटी माग भएको थियो । जोशी बिहीबार नै धरौटी रकम राखेर तारिखमा छुटेर गएका छन्,’ उनले भने ।

आदेशपत्रमा उल्लेख भएअनुसार विवाह गर्ने प्रलोभनमा पारी शाहले बालिकालाई पटक–पटक बलात्कार तथा यौन दुर्व्यवहार गरेका थिए । तर, पुर्पक्षका लागि थुनामा राख्न भने अदालते १४ वैशाख ०७८ को घटना र सोही आधारमा रेकर्ड गरिएका अडियोलाई आधार बनाएको छ । 

‘प्रतिवादीले ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्रै स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा निज प्रतिवादीले ब्यास–१२ लाई करणी गरेको तथ्यलाई थप पुस्ट्याइँ हुन आएको देखिन्छ,’ आदेशपत्रमा भनिएको छ ।

पीडित बालिकाको पक्षबाट बहस गरेकी अधिवक्ता राधिका खतिवडाले प्राप्त दसी प्रमाणका आधारमा बालिका बलात्कृत भएको देखिएकाले सोही आधारमा आरोपी शाहलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश सुनाएको जानकारी दिइन् । 

मध्यरातमा बालिकाको कोठामा प्रवेश गरेको स्वीकार
शाहले बालिकालाई तनहुँ दुलेगौँडास्थित प्रदीप थापाको घरमा गत १४ वैशाखमा जबर्जस्ती करणी गरेका थिए । म्युजिक भिडियो सुटिङपछि उनीहरू त्यो रात थापाको घरमा वास बसेका थिए । मदिराको नशामा रहेका शाह रातको ११:४५ बजे पीडित बालिकाको कोठामा प्रवेश गरेका थिए । मदिरासहित प्रवेश गरेका उनले बालिकालाई समेत पिउन भनेको अदालतको आदेशमा उल्लेख छ ।

बालिकालाई जबर्जस्ती करणी गरेपछि शाह आफ्नै कोठामा आई सुतेका थिए । मध्यरातमा बालिकाको कोठामा प्रवेश गरेको पलले प्रहरीसँगको बयानका क्रममा स्वीकार गरेका छन् । तर, बलात्कार नगरेको उनले बयानमा भनेका थिए । मध्यरातमा बालिकाको कोठामा प्रवेश गर्नुको कारण भने उनले पुष्टि गर्न सकेका थिएनन् । यो तथ्यलाई अदालतले समेत मुख्य आधार बनाएको छ ।

‘जबर्जस्ती करणीमा पूर्णतः इन्कार गरेको भए पनि निजले मौकामा गरेको बयान हेर्दा राति करिब १२ बजे पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्वीकार गरेको पाइयो । एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । प्रतिवादीको स्वीकारोक्तिले सोही राति निजले पीडितलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो,’ आदेशमा उल्लेख छ ।

बलात्कार पुष्टि गर्न अदालतले चिकित्सकको प्रतिवेदनलाई पनि आधार बनाएको छ । स्वास्थ परीक्षण प्रतिवेदनमा समेत बालिका  बलात्कृत भएको उल्लेख भएको अदालतको आदेशपत्रमा जनाइएको छ । ‘स्वास्थ परीक्षण रिपोर्टमा सिनेकर्मी पल शाह भनिने पूर्णविक्रम शाहले पीडितलाई विवाह गर्छु भनी ललाइफकाइ पटक–पटक विभिन्न ठाउँका होटेलमा र १४ वैशाख ०७८ मा दुलेगौँडास्थित प्रदीप थापाको घरकोठामा जबर्जस्ती करणी गरेको भनी पीडितले बताएअनुसार व्यहोरा चिकित्सकले उल्लेख गरेको पाइयो,’ आदेशमा भनिएको छ ।

घटना भएको १० महिनापछि जाहेरी परेको भन्दै शाहका वकिलले बहसका क्रममा बलात्कार नभएको दाबी गरे पनि प्रतिवादी र पीडित एउटै फिल्डमा लागेकाले कानुनी उपचारमा जाँदा आफ्नो क्यारिअरमा असर पर्ने हो कि भन्ने विषयमा विचार विमर्श गर्दागर्दै जाहेरी दिन ढिला भएको पीडित पक्षसँगको तर्कसँग अदालत सहमत देखिएको छ । 

‘आफू कहिले, कसरी न्यायिक उपचारमा जाने हो र त्यसरी जाँदा दीर्घकालीन रूपमा के कस्तो परिस्थिति वा असहजता आउन सक्दछ भन्ने विषयमा पीडित तथा निजका संरक्षकले गम्भीर ढंगले सोच्न र विचार विमर्श गर्न पाउनुपर्ने कुरालाई नकार्न सकिँदैन,’ आदेशमा भनिएको छ, ‘घटना भएको एक वर्षभित्रै जाहेरी परी अभियोगपत्र दायर हुन आएको देखिन्छ । त्यसरी समयमा जाहेरी नगर्नुको पछाडिको कारण अवस्था र परिस्थितिका विषयमा पछि प्रमाण बुझ्दै जाँदाका अवस्थामा समेत प्रस्ट हुने भएकाले थुनछेकको रोहमा त्यसलाई थप विश्लेषण गरिरहन आवश्यक देखिएन ।’

अमर्यादित र अश्लील टीका–टिप्पणी नगर्न अदालतको अनुरोध
शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादीलगायतका उनीहरूका परिवारजनसमेत माथि अमर्यादित र अश्लील टीका–टिप्पणी नगर्न अनुरोध गरिएको छ । आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दा यस अदालतमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्नेसमेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान अभियोजन एवं न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादीलगायत निजहरूका परिवारजनसमेत उपर अमर्यादित र अश्लील ढंगले टीका–टिप्पणी नगरिदिनका निम्ति आमसञ्चारमाध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा इजलास विनम्र अनुरोध गर्दछ ।’

शाह उच्च अदालत जाने
शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अब उच्च अदालत जाने बताए । ‘अब हामी थुनामा राख्ने गरी भएको आदेशको उपरमा माथिल्लो निकाय जान्छौँ । यहाँको मुद्दाको प्रक्रिया अगाडि बढ्दै जान्छ । प्रमाण बुझ्ने काम हुँदै जान्छ । पल शाहलाई थुनामा राख्ने गरेको जुन आदेश हो, त्यो बदर गरी पाउँ भनेर हामी उच्च अदालत पोखरा जान्छौँ,’ उनले भने, ‘मुद्दा फैसला नभएसम्म शाह थुनामै बस्नुपर्ने हुन्छ ।’

पीडित बालिकाको तर्फबाट अधिवक्ता तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता विपीनराज तिवारी, अधिवक्ता राधिका खतिवडा, एकनारायण गौतम, शिवराज काफ्ले, किशोर सापकोटालगायतले बहस गरेका थिए । शाहको पक्षबाट भने लव मैनाली, कमलामोहन वाग्ले, यदुनाथ गौतमलगायतले बहस गरेका थिए ।  

शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको थियो । ११ फागुनमा पीडितका परिवारले शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएका थिए । शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि पलका समर्थकहरूले तनहुँ प्रहरी कार्यालयअगाडि केही दिन हुलहुज्जतसमेत गरेका थिए ।

शाहलाई थुनामा पठाउने यस्तो छ आदेश
राति करिब १२ बजे पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्वीकार गरेको पाइयो । एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । प्रतिवादीको स्वीकारोक्तिले सोही राति निजले पीडितलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो ।

ad
ad