१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १० बिहीबार
  • Friday, 09 May, 2025
२o७८ चैत १० बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्मार्टसिटी भनिएको एउटा गाउँ जहाँ खानेपानीका लागि घण्टौँ लाइन बस्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १० बिहीबार १७:४४:oo

तुलसीपुर बजारदेखि १३ किलोमिटरको दुरीमा छन्– कल्ले, बल्लेलगायतका गाउँ। स्मार्टसिटीको नाम दिइएको यस ठाउँका बासिन्दाहरू अहिले पानी नपाउँदा काकाकुल बनेका छन्। धारा जडान गरिएको छ। घरअगाडि नै पाइप पुगेका छन् तर पानी आउँदैन।

वर्षातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा तुलसीपुर उपमहानगरपालिका–३ का आधा दर्जन गाउँहरू काकाकुल हुन्छन्। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्छ। तर, त्यहाँ पनि पालो पाउन निकै गाह्रो पर्छ। ‘धारामा कहिले आउँछ, कहिले आउँदैन,’ तुलसीपुर–३ अम्बासनिवासी शशीकला विकले भनिन्, ‘धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ।’

सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ। ‘घरमा पानी सकिएको हुन्छ। पानी ल्याएपछि खाना पकाउने भन्ने  हुन्छ,’ उनले भनिन्, ‘तर, प्रायः १२ बजेसम्म पनि पानी ल्याइनपुर्याउँदा त्यतिवेलासम्म खाना पाकेको हुँदैन।’ गाउँका सबै मान्छे २-३ घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन्। मुहान सानो भएकाले त्यहाँ पनि पहिले गएकाले पानी पाउँछन्। पछि गएकाहरूले पानी पाउन निकै मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताइन्। ‘पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ। जो अघि गयो उसैले पानी पाउँछ। पछि गएकाले पानी पनि नपाउने अवस्था छ,’ उनले भनिन्, ‘पानी ल्याउनलाई राति उठ्नुपर्छ।’

यस क्षेत्रका कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, सितधारालगायतका गाउँहरूमा करिब ३ सय बढी घरहरू छन्। यी गाउँहरूमा खानेपानी पुर्याउन उपमहानगरपालिकाले पहल गरिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगी बताउँछन्।

गाउँलेहरूले थापानी र घुटघुतेबाट पानी ल्याउने गरेका छन्। त्यहाँ दुईवटा ट्यांकी छन्। तीमध्ये एउटा ट्यांकीको पानी कल्लेबल्ले  र अर्को ट्यांकीको पानी अम्बास पठाउने गरिएको छ। तर, हिउँदमा पानी नपाउने समस्याले वर्षौँदेखि आजित भएको स्थानीय मालबहादुर वली बताउँछन्। ‘पटकपटक निर्वाचनको समयमा पानी ल्याइदिने आश्वासन दिने गर्छन्,’ उनले भने, ‘त्यसपछि फर्केर पनि आउँदैनन्।’