१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Sunday, 11 May, 2025
२o७८ चैत ८ मंगलबार o५:५८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुर्घटनामा चरम लापरबाही, सजाय तोक्दा न्यूनतम : १० वर्ष कैद सजाय माग, ६ महिना मात्र सजाय गर्ने जिल्ला अदालतको फैसला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार o५:५८:oo

चालकको गम्भीर लापरबाहीले दुर्घटना हुँदा पैदलयात्रुको मृत्यु भएको सवारी ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतले न्यूनतम मात्र सजाय सुनाएको छ । २७ महिनाअघि मादक पदार्थ सेवन गरी कार चलाएर सडकपेटीमा पैदलयात्रुलाई ठक्कर दिने चालक पृथ्वी मल्ललाई काठमाडौं अदालतले ६ महिना मात्र कैद सजाय सुनाएको हो । 

चालकमाथि १० वर्षसम्म कैद सजाय माग दाबी गरी मुद्दा दायर भएको थियो । तर, प्रहरी र सरकारी वकिल कार्यालयले गरेको दाबी अभियोगमा आंशिक मात्र अभियोग पुग्ने गरी काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले सोमबार फैसला गरेका हुन् । फैसलामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

२८ मंसिर ०७६ मा मल्लले चलाएको बा.१४च ६१२३ नम्बरको कारको ठक्करबाट बुढानीलकण्ठमा पैदलयात्रु लीला देवकोटाको मृत्यु भएको थियो । चालकले अत्यधिक मदिरा सेवन गरेर सवारी चलाएको र उनीसँग लाइसेन्ससमेत नभएको प्रहरी अनुसन्धानमा खुलेको थियो । जसअनुसार उनलाई १० वर्षसम्म कैद सजाय माग गरी सवारी ज्यान मुद्दा दायर भए पनि अदालतले आंशिक दाबी पुग्ने फैसला गरेको छ । फैसलाको पूर्णपाठ आउन बाँकी भएकाले के आधारमा यस्तो आंशिक दाबी पुग्ने फैसला भयो प्रस्ट भइसकेको छैन । फैसलाप्रति पीडित परिवारको असन्तुष्टि छ । 

मल्ल यसअघि नै सर्वाेच्च अदालतको आदेशमा छुटिसकेका छन् । उनी रोगी भएको र कोरोनाको समयमा जोखिम भएको भन्दै सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले ३१ असार ०७७ मा पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । ६ महिना कैद यसअघि नै पूरा गरिसकेकाले उनी जेल बस्नुपर्ने छैन । पुर्पक्षका लागि थुनामा हुँदा पनि उनी लामो समय अस्पताल बसेका थिए । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसार मल्लविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना माग गरिएको थियो । तर, अदालतले दफा १६१(३) अनुसारको सजाय सुनाएको छ । १६१(२) मा लापरबाहीका कारण मृत्यु हुँदा हुने सजाय छ भने १६१(३) मा लापरबाही नभएको अवस्थाको सजायसम्बन्धी प्रावधान छ । 

१६१(२) मा छ, ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे–बसेको मान्छे त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’ 

मादक पदार्थ सेवन गरेर गाडी चलाएको, पैदल पेटीमा गएर किचेको तथा चालकको लाइसेन्ससमेत नभएको अवस्थाका आधारमा यही दफाअनुसार सजाय माग भएको थियो । दुर्घटनापछि उनी फरारसमेत भएका थिए । तर, अदालतले भने चरम लापरबाही नभएको अवस्थामा दुर्घटना भएको भनेर फैसला सुनाएको छ ।