१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १३:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अब हुम्लामै विशेषज्ञ स्वास्थ्य सेवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

कर्णाली प्रदेशकाे सबैभन्दा विकट जिल्लाका रूपमा रहेको हुम्लामा अहिले पनि मोटरबाटो पुगेको छैन। यातायातको साधनका रूपमा हवाई सेवा मात्र छ। दैनिक उपभोग्य सामान तथा औषधिहरूसमेत हवाई माध्यमबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ। स्वास्थ्यको सूचकांकमा पनि पछि परेको हुम्लामा अब भने विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ।

हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सम्झौता भएको हो। एक महिना अघिदेखि हुम्ला जिल्ला अस्पतालमा सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालय र कर्णाली प्रतिष्ठानबीच शुक्रबार दुईपक्षीय सम्झौता भएको हो। प्रतिष्ठानका तर्फबाट शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावल तथा मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उपकुलपति डा. रावलले भने, ‘हुम्लामा कर्णाली प्रतिष्ठानबाट एमडिजिपी डा. क्रिशान्त भण्डारी पठाएर हुम्ला जिल्ला अस्पतालमा एक महिना अघिदेखि विशेषज्ञ सेवा सुरु भइरहेको छ। थप दुईजना विशेषज्ञ डाक्टर पठाउने र विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयसँग सम्झौता भएको हो। आगामी वैशाखभन्दा अगाडि नै जुम्लाबाट विशेषज्ञ डाक्टर हुम्ला पठाइनेछ।’ हुम्लामा सर्जिकल सेवा, ओटी सेवा र गाइनोलाेजिस्टलगायतका विशेषज्ञ सेवा सञ्चालनका लागि थप दुई चिकित्सकसहित तीन एमडी जिपी डाक्टर पठाइने उपकुलपति डा. रावलले जानकारी दिए।

जटिल प्ररकारका शल्यक्रिया हुम्लामै गर्न, जटिल बिरामी रेफर रोक्न, स्थानीयलाई जिल्लामै सस्तोमा विशेषज्ञ स्वास्थ्य सेवा दिने मन्त्रालयको लक्ष्यअनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा सेवा दिने तयारी गरेको हो। देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजनाअनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो। अब दुर्गम हुम्लाका नागरिकले जिल्लामै जटिल खालका शल्यक्रियादेखि उपचार पाउने छन्। महँगो खर्च गरेर जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौं जानुपर्ने बाध्यताबाट हुम्लावासी मुक्त हुनेछन्।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ०६८ मा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो। उच्च हिमाली तथा विकट क्षेत्र जुम्लामा पहिलोपटक चिकित्सा शिक्षा अध्ययनलाई निकै महत्वका साथ हेरिएको छ। जुम्ला प्रतिष्ठानमा चिकित्सा शिक्षाको एमबिबिएस र स्नातकोत्तर तह (एमडी)को अध्यापन भइरहेको छ।

प्रतिष्ठानले यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङ अध्यापनसमेत सुरु गरेको छ । ती दुवै विषयमा २०–२० जना विद्यार्थी अध्ययन गर्नेछन्। यसअघि नै प्रतिष्ठानमा बिएनएस मिडवाइफी र बिपिएचको अध्यापन सुरु भइसकेको छ। प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि तीन सय शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसियू) र चार शय्याको शल्यक्रिया कक्ष छ।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत छन्। शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप, दक्ष जनशक्ति (शिक्षक)को प्रतिष्ठानले व्यवस्थापन गरेको छ।