मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत ६ आइतबार ०९:२५:००
Read Time : < 1 मिनेट
समाचार

गत वर्षको भन्दा २ डिग्रीले बढ्यो  नेपालगन्जको तापक्रम

Read Time : < 1 मिनेट
२०७८ चैत ६ आइतबार ०९:२५:००

गत वर्षको तुलनामा यसपटक नेपालगन्जमा अत्यधिक गर्मी बढेको छ । १९ मार्च २०२१ मा नेपालगन्जको अधिकतम तापक्रम ३३ दशमलव ८ थियो । यस वर्षको १९ मार्चमा अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय नेपालगन्जका मौसम विज्ञान सहायक मेनका झाले जानकारी दिइन् । 

गत वर्षको भन्दा यस वर्ष हरेक दिन एक–दुई डिग्री तापक्रम बढेको उनले बताइन् । झाका अनुसार १५ मार्च २०२१ मा नेपालगन्जको अधिकतम तापक्रम ३२ दशमलव २ थियो । १६ मार्चमा ३२ दशमलव ८, १७ मार्चमा ३३ दशमलव ४ र १८ मार्चमा ३४ दशमलव ७ थियो । यस वर्षको १५ मार्चमा ३३ दशमलव, १६ मा ३३ दशमलव, १७ मा ३३ दशमलव ३ र १८ मार्चमा अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस पुगेको झाले बताइन् ।

‘गत वर्षको भन्दा यस वर्ष २ डिग्री सेल्सियसले गर्मी बढेको तथ्यांकले देखाउँछ,’ उनले भनिन् । वर्षात् हुने सम्भावना नरहेकाले यस वर्ष गर्मी बढ्न सक्ने सम्भावना उनले औँल्याइन् । गर्मी बढ्दै गए लु को खतरा रहेको उनको भनाइ छ । ‘पृथ्वी तातिँदै गएकाले यसको असर नेपालमा पनि परेको छ,’ उनले भनिन् ।

गर्मी बढेसँगै नेपालगन्जमा चहलपहल घटेको छ । दिउँसोको समयमा सर्वसाधारण बाहिर ननिस्केपछि नेपालगन्ज सुनसान हुने गरेको छ । अतिआवश्यक कामका लागि मात्र सर्वसाधारण बाहिर निस्कने गरेको सदरलाइनका सुन व्यापारी जगदीश वैश्यले बताए । ‘दिउँसोको समयमा किनमेल गर्ने र हिँडडुल गर्ने सर्वसाधारणको संख्या ह्वात्तै घटेको छ,’ उनले भने ।