१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशकै दोस्रो ठूलो न्यू खिम्ती सब-स्टेसनको औपचारिक उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३९:oo

विद्युत् प्रवाह गर्ने क्षमताका हिसाबले देशकै दोस्रो ठूलो न्यू खिम्ती सब-स्टेसनको औपचारिक उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच उक्त सब-स्टेसनको औपचारिक उद्घाटन गरेका हुन् । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सब-स्टेसन भारतीय निर्माण कम्पनी केइसी इन्टरनेसनलमार्फत गत असोजमा निर्माण सम्पन्न भई सञ्चालनमा आए पनि  औपचारिक उद्घाटन भने शनिबार प्रधानमन्त्री देउवाले गरेका हुन् । 

नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूका अनुसार ढल्केबरमा निर्माण भएको ४ सय केभीको सब-स्टेसनपछि न्यू खिम्ती दोस्राे ठूलो सब-स्टेसन हो । निर्माण सम्पन्न भएलगत्तै न्यू खिम्तीमा माथिल्लो तामाकोसीसहित चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय ७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

न्यू खिम्ती सब-स्टेसनमार्फत २ वटा प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा विद्युत् प्रवाह भइरहेको छ । यसअघि नै सञ्चालनमा रहेको खिम्ती जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राजधानी लैजान प्रयोग गरिँदै आएको १३२ केभी प्रसारण लाइनमार्फत काडमाडौं पठाउन र २२० केभी प्रसारण लाइनमार्फत तराईको ढल्केबरतर्फ विद्युत् प्रसारण हुन्छ । 

माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार दोलखा र रामेछापमा उत्पादित विद्युत् मुलुककै ठूलो सब-स्टेसन ढल्केबर हुँदै पूर्व-पश्चिम प्रसारण लाइनमा विद्युत् वितरण गरिएको छ। 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृह रहेको लामाबगरको गोंगरदेखि रामेछापको फुलासीसम्म ४७ किलोमिटर दुरीको  प्रसारण लाइन निर्माण गरी डबल सर्किटबाट उत्पादित विद्युत् न्यू खिम्ती सब-स्टेसनमा जोडिएको थियो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको सब-स्टेसन भारतीय निर्माण कम्पनी केइसी इन्टरनेसनलमार्फत गत असोजमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । 

यी हुन न्यू खिम्ती सब-स्टेसनमा जोडिएका विद्युत् आयोजना 
न्यू खिम्ती सब-स्टेसनमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित ४ वटा जलविद्युत् आयोजनाको विद्युत् जोडिएको छ । खिम्तीको ६० मेगावाट ,लिखु चौथोबाट उत्पादित ५२ मेगावाट र लिखु ए बाट उत्पादित २२ मेगावाट विद्युत् न्यू खिम्तीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको माथिल्लो तामाकोसी आयोजनाका उपप्रबन्धक बिमल गुरुङले जानकारी दिए । 

यीबाहेक सोही सब-स्टेसनमा माथिल्लो तामाकोसीले निर्माण सुरु गरेको २० मेगावाटको रोल्वालिङ डाइभर्सन, नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु गरेको ९९ मेगावाटको तामाकोसी पाँचौँसहित रामेछापको खिम्ती र लिखु करिडोरमा निर्माणाधीन दर्जनौँ आयोजनाबाट उत्पादित विद्युत् जोडिनेछ ।

सब-स्टेसन निर्माणमा सहयोग गर्नेलाई सम्मान 
हेलिकाेप्टरमार्फत सब-स्टेसन उद्घाटन गर्न रामेछापको फुलासी पुगेका प्रधानमन्त्री देउवा सब-स्टेसनको उद्घाटन गरेलगत्तै माथिल्लो तामाकोसीको भूमिगत विद्युत् गृह भएको लामाबगरस्थित गोंगर पुगेका थिए । गोंगर पुगेर प्रधानमन्त्री देउवा आयोजनाको अवलोकन गरी औपचारिक कार्यक्रममा सहभागी भए । 

कार्यक्रममा सब-स्टेसन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको  छ। सम्मानित हुनेहरूमा माथिल्लो तामाकोसी आयोजनाका तत्कालीन आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठ, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेललगायत छन् ।