१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
महानगर गेट अगाडि फोहोरले स्वागत : पोखरा महानगरको दुबै गेट अगाडि लागेको फोहोरको डंगुर । जसका कारण सेवाग्राही नाक थुनेर सेवा लिन बाध्य छन् । तस्बिर: गोविन्द सुवेदी
२o८१ जेठ ७ सोमबार १७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्थानीयको अवरोधपछि चार दिनदेखि उठेन पोखराको फोहोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:३५:oo

पोखरा १४ मा रहेको ल्यान्डफिल साइटवरपरका स्थानीयले गरेकोे अवरोधका कारण पोखरा महानगरको फोहोर विगत चार दिनदेखि उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर फोहोर लैजाने गाडीलाई अवरोध गरेपछि फोहोर उठाउन नसकिएको पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन शाखाकी प्रमुख कल्पना बरालले जानकारी दिइन् । उनका अनुसार ल्यान्डफिल साइटवरपरका स्थानीयले आफ्ना माग पूरा नभएसम्म फोहोर लैजान नदिने भन्दै अवरोध गरेका हुन् । फोहोर नउठ्दा पोखराका चोकहरू नै दुर्गन्धित भएका छन् । 

दैनिक एक सय टन फोहोर पुग्ने ल्यान्डफिल साइटमा फोहोर नउठ्दा केही पोखरावासीले फोहोर घरमै र केहीले सडक छेउमा लगेर थुपार्ने गरेका छन् । महानगर कार्यालयवरपरका वासिन्दाले महानगरको गेटअगाडि नै फोहाेर लगेर फालिदिँदा महानगरका सेवाग्राही नै नाक थुन्दै भित्र पस्न बाध्य छन् ।

समस्या समाधानका लागि स्थानीय संघर्ष समितिसँग कुरा भइरहेको प्रमुख बरालले जानकारी दिइन् । ‘स्थानीय सरोकार समितिले विभिन्न माग पूरा नभएको भन्दै फोहोर लैजान नदिएपछि चार दिनदेखि फोहोर व्यवस्थापन गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘संघर्ष समितिले राखेका कतिपय माग पूरा भइसकेका छन् । केही माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ ।’

२०५७ सालमा तत्कालीन उपमहानगरपालिका र स्थानीयवासीबीच ल्यान्डफिल्ड सञ्चालनबारे २८ बुँदे समझदारी भएको थियो । उक्त समझदारी कार्यान्वयन नभएको भन्दै अघिल्लो मंसिरमा पनि स्थानीयले अवरोध गरेका थिए । त्यतिवेला २५ मंसिर २०७७ मा महानगरका मेयर मानबहादुर जिसीकै उपस्थितिमा माग सम्बोधन गर्ने सहमतिसँगै स्थानीय फोहोर लैजान दिन सहमत भएका थिए । कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोरिए पनि महानगरले वास्ता नगरेको भन्दै पुन स्थानीयले फोहोर लैजान अवरोध गरेका हुन् ।

ल्याबसहितको स्वास्थ्यचौकी निर्माण, बाटोको स्तरोन्नति, अपांगमैत्री ट्रयाकसहित बाटोको ढलान, सडक बत्तीको व्यवस्था, प्रभावित क्षेत्रमा खेलमैदानको निर्माण, निर्मलपोखरी जोड्न पक्की पुल निर्माणलगायतका स्थानीयका माग छन् । 

सफाई अभियन्तासमेत रहेका नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले सहमति भएको माग पूरा नगर्ने महानगर र फोहोर ल्यान्डफिल साइडमा लैजानै रोक्ने काम दुवै गलत रहेको बताए ।  ‘स्थानीयसँग भएको सहमति महानगरले यथाशीघ्र पूरा गर्नुपर्ने थियो । महानगर गैरजिम्मेवार देखियो । त्यसैगरी माग पूरा गर्नका लागि अन्य विकल्प हुँदाहुँदै फोहोर लैजानै नदिएर स्थानीय अगुवा पनि गैरजिम्मेवार देखिए,’ उनले भने । 

 

ad
ad