१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘चिसो एस्ट्रे’लाई सकारात्मक प्रतिक्रिया, कथावाचन शैलीको प्रशंसा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३३:oo

दिन्स पाल्पाली निर्देशित फिल्म ‘चिसो एस्ट्रे’ले सकारात्मक प्रतिक्रिया पाएको छ। मंगलबार साँझ सिभिल मलको क्युएफएक्समा भएको प्रिमियरपछि प्रतिक्रिया दिँदै कलाकारहरूले फिल्मको कथावाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन्।

प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरिरहँदा आफूलाई हलिउड फिल्म हेरेजस्तो भान भएको प्रतिक्रिया दिए। उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटीजस्तै सबै कुराको मात्रा मिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताएका थिए।

निर्देशक प्रदीप भट्टराईले नेपाली सिनेमा हलिउडजस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एस्ट्रे जवाफ भएको प्रतिक्रिया दिएका छन्। ‘सीधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो। लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजी गरिरहेका थियौँ, त्यो यही सिनेमा (चिसो एस्ट्रे) हो,’ उनले थपे, ‘सिनेमाको दृश्य भाषामा यो ठूलो फड्को हो।’

निर्देशक निश्चल बस्नेतले फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मिहिनेत प्रशंसनीय रहेको भन्दै पाल्पालीको प्रशंसा गरे। फिल्मको अभिनयदेखि कस्ट्युम छनोटसम्मको तारिफ गर्दै दृश्य भाषामा फिल्म निकै नै अब्बल रहेको बताए। यसैगरी, अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौं खाल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए। ‘पहिलो कुरा त यो मेरो स्वादमा पर्‍याे । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ। मलाई मनपर्‍याे।’

साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, बिम्ब आदि प्रभावशाली रहेको बताए। ‘म परम्परागत कथावाचनमा विश्वास गर्दिनँ। यो फिल्मले पनि गरेको छैन। मलाई त सबैभन्दा बढी यही हिम्मत नै मनपर्‍याे। बाँकी कुरा पनि राम्रो छ,’ उनको प्रतिक्रिया थियो। अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा यो फिल्म पृथक् रहेको बताए। उनले पनि कथा भन्ने शैलीको तारिफ गरेका छन्।

मंगलबार प्रिमियरमा उपस्थित अधिकांशले फिल्मको कथावाचन शैली, अभिनय र छायांकनको मुक्तकण्ठले प्रशंसा गरेका छन्। फिल्मले पाएको प्रतिक्रियाले सन्तुष्ट देखिएका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मिहिनेत सार्थक भएको महसुस गरिरहेको बताएका छन्। ‘हामीले अलि फरक शैलीको फिल्म बनाउने प्रयास गरेका थियौँ। फिल्म फ्रटिनिटीबाट स्याबास पायौँ। अब दर्शकको प्रतीक्षा छ,’ उनको भनाइ थियो।

फिल्मको प्रिमियरअघि भूपि पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उनले भूपिको कविताको भावलाई लिएर सिनेमा बन्नु नै सुन्दर पक्ष रहेको बताइन्। उनले समग्रमा आफूलाई चलचित्र मन परेको प्रतिक्रिया दिएकी छिन्।

कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताको भावलाई कथानक स्वरूप दिई निर्माण गरिएकाे फिल्मालाई उज्जवल बस्ताकोटीले खिचेका छन् भने दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल र रवीन तामाङको मुख्य भूमिका रहेको छ। अजर जंगमले संगीत दिएका छन्।

कंगारू क्रियसन, लोकल सिनेमा र क्रियटिभ नेपाल फिल्मसको संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन्। फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ। फिल्म शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदै छ।