Skip This
अन्नपूर्ण केबलकार पूर्ण सञ्चालनमा आउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Saturday, 27 July, 2024
२o७८ चैत १ मंगलबार o९:o२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण केबलकार पूर्ण सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार o९:o२:oo

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा आएको अन्नपूर्ण केबलकार आज १ चैत मंगलबारदेखि पूर्ण रूपमा सचालन हुने भएको छ । ६ फागुनमा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको केबलकार मर्मतका लागि भन्दै २५ फागुनदेखि बन्द रहेको थियो । 

यसअघि बिहान १० देखि बेलुका पाँच बजेसम्म सञ्चालन गरिएको केबलकार मंगलबारेदखि पूर्ण रूपमा सञ्चालनमा आएसँगै बिहान पाँचदेखि बेलुका सूर्यास्त हुने समयसम्म सञ्चालनमा आउने महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । विशेष गरी पोखराबाट सूर्याेदय र सूर्यास्तको अवलोकन गर्न पर्यटकलाई लक्षित गरेर समय थप गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले पोखराको पर्यटकीय स्थल सराङकोट डाँडामा जानका लागि मंसिर ०७३ मा निर्माण कार्य सुरु गरेको थियो । निर्माण सुरु गरिएको दिनदेखि १८ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने भनिए पनि जग्गा मुआब्जा विवादसँगै कोरोनाका कारण ६३ महिनापछि मात्र निर्माण सम्पन्न भएर केबलकार सञ्चालनमा आएको कम्पनीका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । 

 दूरी २.४ किलोमिटर 
सेदीबगरदेखि सराङकोटसम्मको केबलकारको दूरी २.४ किलोमिटर रहेको छ । केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट सातदेखि आठ मिनेटमै सराङकोट पुग्न सकिन्छ । हाल पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडदेखि गाडीमा करिब ४५ मिनेट लाग्छ । समुद्री सतहदेखि करिब एक हजार ६ सय मिटर उचाइमा रहेको सराङकोटमा सडकमार्गबाट जान–आउन बाटो साँघुरोसँगै अप्ठ्यारो रहेकाले सबै पर्यटक पुग्न सक्दैनन् । हाल दैनिक तीनदेखि चार हजार पर्यटक त्यहाँ पुग्ने गरेको बताइएको छ । 

यात्राका लागि नेपालीलाई सात सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई आठ सय रुपैयाँ र अन्य देशका पर्यटकलाई आठ डलर भाडा तोकिएको छ । यात्रा गर्दा ज्येष्ठ नागरिकले ५० र विद्यार्थीले २५ प्रतिशत छुट पाउने त्रिपाठीले जानकारी दिए । 

 १८ टावर १८ गोन्डला
केबलकार सञ्चालनका लागि १८ वटा टावरसँगै यात्रु बोक्ने १७ र सामान बोक्ने एक गरी १८ वटा गोन्डला अर्थात् डिब्बा रहेका छन् । प्रतिडिब्बामा आठजनाको सिट क्षमता रहेको छ । डिब्बाको संख्या बढाएर ३५ बटा पु¥याइने त्रिपाठीले जानकारी दिए । हाल प्रतिघन्टा पाँच सयजना ओहोरदोहोर गर्न मिल्ने केबलकार पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रतिघन्टा एक हजारजनाले ओहोरदोहोर गर्न सक्नेछन् । केबलकारमा हाल २५ जनाभन्दा बढीले रोजगारी पाएकोमा व्यावसायिक रूपमा सञ्चालनमा आउँदा ८० जनाले रोजगारी पाउनेछन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यू टावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।

 सुरुको लागत अनुमान  ८० करोड, खर्च दुई अर्ब 
सुरुमा केबलकार निमार्णको कुल लागत ८० करोड लाग्ने बताइए पनि निर्माण कार्य सकिँदासम्म लगानी बढेर करिब दुई अर्ब पुगेको त्रिपाठीले जानकारी दिए । निर्माण थाल्दा सुरुमा स्टिल फेब्रिकेसन मोडलबाट गर्ने भनिए पनि पछि आरसिसी (कंक्रिट) मोडलमा निर्माण गर्दा, जग्गा खरिदलगायतका कारण लागत बढेको त्रिपाठीको भनाइ छ । केबलकारमा नेपाली व्यवसायी कालु गुरुङलगायतको ७५, स्थानीयको १० र वैदेशिक लगानी १५ प्रतिशत रहेको छ । केबलकारमा यात्रा गर्दा थ्रिनट भ्यूमार्फत एकैपटकमा फेवाताल, शान्ति स्तूपा, हिमशृंखला, पोखरा बजार, आसपासका हरियाली क्षेत्रसँगै प्राकृतिक सैन्दर्यको दृश्यावलोकन गर्न पाइनेछ ।