Skip This
युक्रेनबाट ५८० नेपाली बाहिरिए १० जना स्वदेश फर्किए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार

युक्रेनबाट ५८० नेपाली बाहिरिए १० जना स्वदेश फर्किए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:२६:oo

युद्धग्रस्त युक्रेनबाट आइतबार अपराह्नसम्म ५८० जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये नेपाल आइपुग्ने भने जम्मा १० जना मात्रै छन् । बाँकी ५७० जना युक्रेनकै चार छिमेकी मुलुक हुँदै युरोपका अन्य मुलुक प्रवेश गरेका छन् । स्वदेश आएकामध्ये चारजना भने भारत सरकारले गरेको उद्धार उडानबाट दिल्ली हुँदै र ६ जना आफ्नै खर्चमा नियमित उडानबाट स्वदेश फर्केका हुन् । 

युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काले अब युक्रेनमा उद्धार गर्नुपर्ने अलपत्र नेपाली नागरिक नरहेको जानकारी दिए । राजदूत खड्काले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘हामीसँग सम्पर्कमा कोही पनि आउनुभएको छैन, त्यसकारण युक्रेनमा नेपालीहरू अब बाँकी हुनुहुन्न भन्ने हाम्रो बुझाइ हो ।

४६६ जना पोल्यान्ड पुगे

युक्रेनबाट हालसम्म बाहिरिएकामध्ये ४६६ जना पोल्यान्ड पुगेका छन् । युक्रेन छाडेकामध्ये ७८ जना स्लोभाकिया, २७ जना रोमानिया र आठजना हंगेरी पुगेको तथ्यांक छ । उनका अनुसार युक्रेनबाट बाहिरिएका ५७० नेपाली नागरिकले स्वदेश फर्किने इच्छा गरेका छैनन् । उनीहरूले आफैँ युरोपका विभिन्न मुलुक जाने प्रयास थालेका छन् । राजदूत खड्काका अनुसार युक्रेनबाट बाहिरिएका र स्वदेश नफर्केका नेपालीहरू आफैँ इच्छाएको गन्तव्यतर्फ लागेका छन् । 

खड्काका अनुसार पोल्यान्डको राजधानी वार्सा र आसपासका शरणार्थी शिविरहरूमा सानो संख्यामा नेपाली छन् । तर, उनीहरू स्वदेश फर्किने पर्खाइमा नभएर युरोपका अन्य मुलुक जाने पर्खाइमा छन् । उनीहरूलाई गैरआवासीय नेपाली संघले बस्नखान समन्वय गरिरहेको छ । 

युक्रेनबाट बाहिरिएकामध्ये स्लोभाकियामा व्यवसायी जयप्रसाद सिवाकोटीले नेपालीलाई समन्वय र सहयोग गरेका छन् भने हंगेरी पुगेका नेपालीलाई त्यहाँ बस्दै आएका नेपाली सुरेन्द्र श्रेष्ठले समन्वय गरेका छन् । जर्मनीस्थित नेपाली राजदूतावासले युक्रेनमा विनापासपोर्ट रहेका ६८ जना नेपाली नागरिकलाई ट्राभल डकुमेन्ट बनाइदिएको छ । 

राजदूत खड्काले युक्रेनबाट बाहिरिन चाहने नेपाली अब नरहेको बताए । ‘नेपालीहरू बाँकी छैनन् नै भन्न त सकिएन, तर हामीसँग सम्पर्कमा कोही पनि नरहेको हुनाले अब युक्रेनबाट बाहिर उद्दार गर्नुपर्ने अवस्था छैन भन्ने निष्कर्षमा पुगेका छौँ,’ राजदूत खड्काले भने । उनका अनुसार लामो समयदेखि युक्रेनमा रहेका र त्यहीँका नागरिक भइसकेका नेपालीभाषी केही व्यवसायीले युक्रेन छाडेका छैनन् । युक्रेनी नागरिक रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष हरिबहादुर मल्ल सपरिवार टर्की पुगेका छन् । 

युक्रेनको राजधानी किभमा रुसी सेना प्रवेश गरेका छन् भने राजधानीवरिपरि हमला जारी राखेको सिएनएनले जनाएको छ । युद्ध सुरु भएको १७औँ दिन युक्रेनको राजधानीमा भीषण आक्रमण भएको हो । हालसम्म १३ सय युक्रेनीको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

ad
ad