
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझाबसहित पारित भएको छ । बिहीबार सम्पन्न दुईदिने केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन सुझाबसहित पारित गरेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
प्रतिवेदनमाथि नौ समूहमा विभाजित केन्द्रीय सदस्यहरूले समूहगत छलफल गरेका थिए । समूह नेताले बिहीबारको बैठकमा सुझाब पेस गरेपछि अध्यक्ष नेपालले उठेका प्रश्नको जवाफ दिएका थिए ।
पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसिसी र व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्मको संगठनात्मक कामको समीक्षा र आगामी कार्ययोजनालगायतका विषय समावेश छन् ।
बैठकले संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझाबसहित पारित गरेको छ ।