१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२१:oo

जिल्लाको नारायणस्थानमा रहेको बलेवा विमानस्थल कालोपत्रे गर्ने कार्य सुरु भएको छ। कोरोना महामारी र अन्य विभिन्न कारणले पटकपटक काम प्रभावित बन्दै आएकोमा अहिले भने विमानस्थल कालोपत्र  गर्ने कार्य सुरु भएको हो। सरकारको योजना र ठेक्काअनुसार विमानस्थलको धावनमार्ग ०७७ फागुनमै कालोपत्र गर्नुपर्ने थियो।

नयाँ प्रविधिको प्रयोग गरेर फागुनको पहिलो सातादेखि नै एयरपोर्टको धावनमार्ग कालोपत्रको काम सुरु भएको हो। फागुन १ गतेबाट सुरु भएको धावनमार्ग कालोपत्रको काम फागुन मसान्तभित्रै सक्ने गरी अगाडि बढेको निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए। ‘विभिन्न समस्याका बाबजुद पनि धावनमार्ग निर्माणको काम अगाडि बढको छ,’ उनले भने, ‘फागुन १ गतेबाटै सुरु गरेका थियौँ । यो महिनाभित्रै निर्माण पूरा गर्ने हाम्रो योजना छ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले ०७७ फागुन महिनाभित्र विमानस्थलको सात सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरिसक्ने गरी काष्ठमण्डम उमा एन्ड कम्पनी जेभी, बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

कोरोना महामारी तथा खराब मौसमलगायतका कारणले गर्दा काम पटकपटक प्रभावित हुँदा आफूहरूसमेत अप्ठ्यारोमा परेको कम्पनीका प्रतिनिधि थापा बताउँछन्। ‘कहिले कोरोनाले गर्दा काम गर्न सकिएन, त्यसपछि मौसम पनि अनुकूल रहेन,’ उनले भने, ‘मौसम सुधार आउनेबित्तिकै काम अगाडि बढेको छ। हामी पनि छिटो काम सक्ने पक्षमा थियौँ । भैपरी आउने समस्याले गर्दा अप्ठ्यारो भयो ।’ धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिले नै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल सडक र कोरोनाका कारण धावनमार्गको ग्राभेलसमेत भइसक्दासमेत कालोपत्रको काम हुन सकेको थिएन।

कालोपत्रका लागि आस्फाल प्रविधिको प्रयोग
विमानस्थल कालोपत्रका लागि आस्फाल प्रविधिको प्रयोग गरिएको छ । मौसम र प्रविधिले दुःख नदिए अबको केही दिनमै कालोपत्रको काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिए। ‘मौसममा सुधार भएपछि कालोपत्रको काम अगाडि बढेको छ, नयाँ प्रविधिको प्रयोग भएका कारण प्रविधि र मौसम अनुकूल भएर चाँडै काम सकिन्छ,’ उनले भने । विमानस्थल कालोपत्रको ठेक्का चैत्र मसान्तसम्म मात्रै रहेकोे प्राधिकरणले जनाएको छ। कोरोना महामारीका कारण प्रभावित आयोजनाहरूको म्याद सरकारले चैत मसान्तसम्म थप गरेको थियो।

कालोपत्र  निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ। विमानस्थल कालोपत्र  भएपछि पुनः हवाईसेवा सञ्चालन हुने बाग्लुङ नगरप्रमुख जनकराज पौडेल बताउँछन्। ‘विगतमा बाग्लुङ नगरपालिकाले जिम्मेवारी लिएर एयरपोर्ट सञ्चालनमा ल्याएको थियो, त्यही कारणले पनि सरकारले एयरपोर्ट कालोपत्रे गर्ने योजना ल्यायो,’ उनी भन्छन्, ‘अब हवाईसेवा सञ्चालनका लागि थप सहज हुनेछ। यसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनको सम्भावनालाई थप उजागर गर्नेछ।’

हवाईसेवा नियमित भएमा बाग्लुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ । अहिले पनि बलेवा विमानस्थलसम्म पुग्ने सडक कच्ची भएका कारण समस्या भएको पौडेलको भनाइ छ। ‘हवाई यात्रा गर्न चाहानेहरू पनि पोखरा गएर त्यहाँबाट जहाजमा यात्रा गर्ने गरेका छन्,’ उनले भने, ‘बलेवा एयरपोर्ट पुग्न र पोखरा पुग्न उस्तैउस्तै समय लाग्ने भएपछि त्यस्तो हुनु स्वाभाविक हो । हामी कालीगण्डकी करिडोरको कालोपत्रका लागि पहल गरिरहेका छौँ ।’ 

२६ वर्षसम्म गौचरनको रूपमा रह्यो विमानस्थल
तीन दशकअघि बलेवा विमानस्थलमा नियमित जहाज चल्थ्यो। त्यसवेला यस क्षेत्रबाट देशको विभिन्न ठाउँमा पुग्ने एउटै हवाईसेवा मात्रै थियो। यातायातको अन्य सुविधा नभए पनि हवाईसेवाले यात्रालाई सहज र छिटोछरितो बनाएको थियो। तर, ०४८ सालपछि बाग्लुङ–पोखरा जोड्ने गरी पृथ्वी राजमार्ग निर्माण भएपछि मानिसहरू बलेवा एयरपोर्ट पुग्न छाडे। हवाईसेवाको तुलनामा सस्तो हुने भएपछि मानिसहरू सडक मार्गबाटै यात्रा गर्न थाले। विमानस्थल पुग्न यातायातको सहज व्यवस्था नहुँदा हवाईसेवा उपभोग गर्न सक्नेहरू पनि विमानस्थल पुग्न छाडे। यात्रुहरू कम भएपछि नेपाल वायुसेवा निगमले पनि बलेवामा जहाज पठाउन छोड्यो। जहाज चल्न छाडेपछि घाँसेमैदानमा परिणत भएको विमानस्थल २६ वर्षसम्म गौचरनको रूपमा रहेको थियो।

ad
ad