मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यशोदा चौलागाईं
२०७८ फाल्गुण २४ मंगलबार ०८:४२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

श्रमिक महिला दिवस मनाउनुको औचित्य

हरेक वर्ष श्रमिक महिला दिवस मनाइरहँदा के साँच्चै समाजमा सकारात्मक परिवर्तन आयो त ? महिला हिंसा कम भयो त ?

Read Time : > 1 मिनेट
यशोदा चौलागाईं
२०७८ फाल्गुण २४ मंगलबार ०८:४२:००

प्रत्येक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आममहिलाका लागि एक उत्सव हो । महिला सशक्तीकरणको अभियानलाई विश्वव्यापी रूपमा बुलन्द पारिँदै महान् संकल्प र अठोटसाथ यो दिवस मनाइन्छ । उसो त पूरै साताभर महिला दिवस सप्ताहका रूपमा महिला अधिकारसम्बन्धी चर्चा गर्ने गरिन्छ । 

बर्सेनि श्रमिक महिला दिवस मनाउनुको औचित्य महिलाको हक, अधिकार र सम्मानको विषय मात्र होइन । महिलाविनाको संसार कति निरस होला ? महिलाको प्रगति भनेको घर, समाज, राष्ट्र र पूरै विश्वको प्रगति हो । श्रमिक महिला दिवसको अभियान र उत्सव कुनै महिला वर्ग विशेषप्रति मात्र लक्षित नभई समग्र महिलाको प्रगतिपथको एउटा अभियान हो ।

हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा पनि महिलामाथि हुने हिंसा आज पनि उत्तिकै कायम रहनु लज्जाको विषय हो । दाइजोका नाममा घरपरिवारबाट बुहारी जलाइनु, प्रेम प्रस्ताव स्वीकार नगरेका कारण कसैमाथि एसिड छ्यापिनु, यौनप्यास मेटाउन बलात्कार गरिनुजस्ता जघन्य अपराध आज पनि दोहोरिइरहेका छन् । पहिलोपटक रजस्वला भएदेखि नै किशोरी र महिला ‘पर’ सर्न बाध्य हुन्छन् । समाजले महिलाको योनीमा लगेर उसको इज्जत राखिदिएको छ । योभन्दा लज्जाको विषय के होला र आजको समयमा ?

हाम्रो पितृसत्तात्मक समाजमा आज पनि धेरै महिला पुरुषको शासकीय नीतिबाट बाहिर निस्किन सकेका छैनन् । महिलाले विवाहसँगै बाबुआमाको थर छाड्नुपर्छ । महिलाको शरीरमा पुरुषको राज चल्छ । जब आफ्ना हकहितका निम्ति महिला उठ्छन्, तब उनीहरूमाथि औँला तेस्र्याइन्छ र निम्नस्तरको गालीगलोज गरिन्छ । 
समाजमा भएका समस्यामध्ये महिला हिंसा अग्रपंक्तिमा पर्छ । समाजका शिक्षित र अशिक्षित यी दुवै महिला पीडित छन् । उनीहरूले शिक्षा, श्रम र आफ्नो शरीरप्रतिको सम्मान पाइरहेका छैनन् । स्वतन्त्रता व्यक्तिको जन्मसिद्ध अधिकार हो । अझै पनि हाम्रो समाजमा महिलालाई कमजोर सोच्ने, महिलालाई पछाडि पार्ने र महिलाको घरेलु काम तथा श्रीमान्लाई खुसी बनाउनु मात्र हो भन्ने अबुझहरूको कमी छैन । महिलालाई अझै पनि समान कामका लागि पनि पुरुषसरह ज्याला दिन हिच्किचाउनेको कमी छैन हाम्रो समाजमा । दाइजो प्रथा, भेदभाव, असमानता, बोक्सी आरोपजस्ता घटना अझै पनि हाम्रो समाजमा घट्नुको साटो बढिरहेकै छन् । 

जति नै कानुन बनेर संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म महिलाका रूपमा गरिने विभेद अन्त्य हुन सक्दैन । त्यसो त स्वभाव र परम्परा जादु झैँ तुरुन्तै परिवर्तन हुँदैनन् । महिला दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन । त्यसका लागि प्रेमपूर्ण घर एवं समाज निर्माण गर्नु पहिलो आवश्यकता हो किनभने प्रेममा विभेद हुँदैन । सशक्त नभईकन प्रगति हासिल गर्न सकिँदैन । तर, केमा पहिले सशक्त हुनुपर्छ त्यो जान्नु आवश्यक छ । सर्वप्रथम शारीरिक, मानसिक तथा बौद्धिक रूपमा सशक्त हुन जरुरी छ किनभने महिला जबसम्म शारीरिक रूपमा स्वस्थ हुँदैनन्, मानसिक रूपमा शान्त हुदैनन् अनि बौद्धिक रूपमा के सही, के गलत छुट्याउन सक्दैनन्, तबसम्म समानता र अधिकारले कुनै अर्थ राख्दैन ।

महिला दिवसमा ठूला गोष्ठी र सेमिनारभन्दा पनि गाउँ–गाउँ पुगेर महिलामा जनचेतना छर्नु आवश्यक छ । लैंगिक समानतासम्बन्धी शिक्षा बालबालिकासम्मै पुर्‍याउनुपर्छ । गर्भभित्र बच्चा हुँदै आमा र बाबुमा त्यो चेतनाको विकास कसरी गर्न सकिन्छ ? यी तमाम प्रश्नमा सबैले ध्यान दिन जरुरी छ ।