१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
यशोदा चौलागाईं
२०७८ माघ २७ बिहीबार ०८:१६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यौनिक अल्पसंख्यकको जनसंख्या कति हो ?

Read Time : > 2 मिनेट
यशोदा चौलागाईं
२०७८ माघ २७ बिहीबार ०८:१६:००

सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने सामान्यतः त्यस्तो व्यक्ति ‘अन्य’मा गनिन्छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको लगभग साता दिन बितिसक्यो । 

गत ३० भदौदेखि १८ असोजसम्म घर तथा सूचीकरण तथ्यांक संकलन भयो । जनगणनाअन्तर्गत पहिलो चरणको सो तथ्यांक संकलनका क्रममा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको शीर्षक बन्यो– व्यक्तिको लैंगिक पहिचान किटान गर्न दिइएको विकल्प ‘अन्य’ । २५ कात्तिकदेखि ९ मंसिरसम्म चलेको जनगणनाको दोस्रो चरणमा मुख्य गणकहरूले घर–घरमा गई हरेक परिवारको विस्तृत विवरण संकलन गरेका थिए । यस चरणमा भरिने मुख्य प्रश्नावलीमा भने लैंगिक विवरणको खण्डमा उत्तरका तीनवटा विकल्प थिए– महिला, पुरुष र अन्य । 

केन्द्रीय तथ्यांक विभागले हाल राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक सार्वजनिक गर्‍यो । सार्वजनिक तथ्यांकअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख, ९२ हजार चार सय ८० रहेको छ । त्यसमध्ये एक करोड ४९ लाख एक हजार एक सय ६९ महिला र बाँकी एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुरुषको संख्या रहेको छ । 

त्यसो भए के नेपालमा अहिले महिला र पुरुषबाहेक यौनिक अल्पसंख्यकको संख्या शून्य छ हो ? होइन भने विभागले सार्वजनिक गरेको नेपालको कुल जनसंख्यामा यौनिक अल्पसंख्यकको संख्या किन अटेन ? आजसम्म यौनिक अल्पसंख्यकको जनसंख्या सार्वजनिक गर्न नसक्नु विभागको कमजोरी हो या लापरबाही ? आफूलाई पनि यही समाजको हिस्सा ठान्ने तेस्रोलिंगी समुदायले आफ्नो समाजको संख्या यतिन्जेलसम्म थाहा नपाउनुपर्ने कारण के हो ?

लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको संख्या यकिन गरी सार्वजनिक गर्न नसक्नु तथ्यांक विभागको गम्भीर कमजोरी हो । यौनिक अल्पसंख्यकहरूको पूर्ण पहिचानसहितको जनगणना नहुनुले अझै पनि लैंगिक अल्पसंख्यकहरू राज्यको प्राथमिकतामा पर्न सकेका छैनन् भनेर बुझ्न सकिन्छ । आज पनि सामाजिक संरचनाका कारण केही मानिसलाई आफ्नो लैंगिक पहिचानबारे खुल्न निकै गाह्रो छ । राष्ट्रिय जनगणनामा अन्य भनेर समावेश गरिए पनि अप्ठ्यारो या लाज मान्ने प्रवृत्तिले कति गणकले प्रश्न नै नसोधेको गुनासो पनि सुनिएको छ ।

के नेपालमा अहिले महिला र पुरुषबाहेक यौनिक अल्पसंख्यकको संख्या शून्य छ ? होइन भने हालै सार्वजनिक नेपालको कुल जनसंख्यामा यौनिक अल्पसंख्यकको संख्या किन अटेन ?

कोही महिला, पुरुष या त्योभन्दा पनि फरक भएर जन्मनु सामान्य प्राकृतिक प्रक्रिया हो । प्रकृतिले दिएको पहिचानलाई समाज या राज्यले कुण्ठित गर्न सक्दैनन्, कानुनतः मिल्दैन पनि । कानुनतः नमिल्ने भए पनि हाम्रो समाजले अझै तिनलाई स्विकार्न सकेको छैन । तिनलाई नागरिक नै नठान्ने प्रवृत्तिसमेत देखिन्छ । जसले गर्दा यतिखेर तेस्रोलिंगीहरू ठूलो समस्यामा छन् । 

नागरिकतादेखि पासपोर्ट बनाउँदासम्म उनीहरूले झेल्ने मानसिक पीडा हामीले कल्पना गरेभन्दा निकै गहिरो छ । हरेक ठाउँमा हरेकचोटि म यो समुदायको हुँ भनेर उत्तर दिनुपर्दा उनीहरूले कति हैरानी झेल्नुपर्दो हो ? बाटामा हिँड्दा उनीहरूले सुन्नपर्ने अपशब्द अनि घृणाभावबाट पनि हाम्रो समाज कतिसम्म नकारात्मक छ भन्ने प्रस्ट हुन्छ । लैंगिक समानताका सवालमा आन्दोलनहरू भएका छन् । आवाजहरू उठेका छन्, तर लैंगिक अल्पसंख्यकले समानता त परको कुरा सामान्य पहिचानसमेत पाउन अझै कठिन छ । हामीले आफैँलाई सभ्य नागरिक भनिरहँदा यस्तो हुनु विडम्बना हो । तेस्रोलिंगीहरू पनि सामान्य नागरिक हुन् । लैंगिक आधारमै कसैले पाउने अधिकार र सम्मान फरक हुनु लज्जाको विषय हो । 

तथ्यांक नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा यस्ता समुदाय समेटिँदैनन् । राजनीतिक, सामाजिक, शैक्षिक अधिकार माग्दासमेत तिमीहरूको समुदाय कति छ र भनेर सोधिने प्रश्नले उनीहरूले आफूलाई झनै कमजोर महसुस गर्छन् । नेपाली समाजमा कैयौँ लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता छ । आखिर किन यस्तो भइरहेछ ? के तेस्रोलिंगीको आममानिससरह बाँच्न पाउने अधिकार छैन ? के आफ्नो स्वेच्छाले उनीहरू तेस्रोलिंगी भएका हुन् ? होइन भने उनीहरूलाई हेर्ने दृष्टिकोण किन फरक छ ? खुला पंख फिँजाएर निर्धक्क भएर बाँच्न पाउने उनीहरूको अधिकारमा पूर्ण विराम नलागोस् !
(चौलागाईं पत्रकारिता अध्ययनरत छिन्)