१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुन तस्करी गर्न विशेष प्रकृतिको ‘अन्डरवेयर’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२४:oo

वैदेशिक रोजगारीबाट फर्किएका २२ जना डेढ केजी सुनसहित पक्राउ 

विमानस्थलबाट सुन तस्करी गर्नेहरूले विशेष प्रकृतिको ‘अन्डरवेयर’को प्रयोग गर्न थालेका छन् । ‘वाक थ्रु गेट’ले पत्ता नलगाउने ठाउँमा सुन लुकाउन मिल्ने अन्डरवेयर प्रयोग हुन थालेको हो । 

सुन लुकाउने फल्सबटमसहितको अन्डरवेयरमार्फत सुन तस्करी गर्ने २२ जना मंगलबार पक्राउ परेका छन् । कतार र संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका उनीहरूले अन्डरवेयरभित्र सुन लुकाएको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए । ‘हाम्रो वाक थ्रु गेटले पत्ता नलगाउने गरी दुई तिघ्राको बीचमा सुन लुकाउन मिल्ने फल्स बटमसहितको अन्डरवेयर उनीहरूले लगाएका थिए,’ भट्टराईले भने, ‘ह्यान्ड मेटल डिटेक्टर प्रयोग गर्दा मात्र उनीहरूले सुन लुकाएको खुलेको हो ।’ 

शौचालयमा गएर अन्डरवेयर खोल्न लगाई भन्सारले त्यस्तो सुन बरामद गरेको हो । २२ जनासँग एक हजार ६ सय ५३.८ ग्राम सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ । जसको बजार मूल्य करिब एक करोड ५० लाख रुपैयाँ पर्दछ । पक्राउ परेका व्यक्तिहरूले औसतमा करिब ८० ग्राम अन्डरवेयरमा सुन लुकाएका थिए । ‘तस्करी गर्ने समूहले नयाँ शैली अपनाएको देखिन्छ,’ भन्सार प्रमुख भट्टराईले भने, ‘पक्राउ परेकाहरूलाई एउटै समूहले परिचालन गरेको सम्भावना छ ।’ पक्राउ पर्नेहरूमा लालबहादुर मगराती, रोशन यादव, कौशलकिशोर महतो, हिरा सरदार, धरमवीर यादवलगायत छन् । उनीहरूलाई भन्सारले हिरासतमा राख्न महानगरीय प्रहरी वृत्त कमलपोखरी पठाएको छ । 

भन्सारको झिटीगुन्टासम्बन्धी आदेशअनुसार विदेशबाट आउँदा ५० ग्रामसम्मको सुनका गहना ल्याउँदा भन्सार राजस्व तिर्नुपर्दैन । सो सुविधाको दुरुपयोग बढेपछि पछिल्लो दुई महिनायता सुनको गहनाको आकारजस्ता मात्र दिएर ल्याउनेको हकमा भन्सार दस्तुर तिर्न लगाउन थालेको छ । काँचो सुन ल्याउँदा भन्सार तिर्नुपर्ने तथा गहनाको हकमा ५० ग्रामसम्म भन्सार तिर्न नपर्ने प्रावधान छ । तस्करी गर्ने समूहले काँचो सुनलाई सामान्य गहनाको आकार दिई ५० ग्रामका सुनका बाला तस्करी गर्दै आएका छन् । विदेशबाट दुई सय ग्रामसम्म सुनका गहना ल्याउन पाइने भए पनि ५० देखि दुई सय ग्रामसम्मको भने भन्सार राजस्व तिर्नुपर्ने हुन्छ । ५० देखि दुई सय ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सारमा स्वघोषणा गर्नुपर्ने हुन्छ । लुकाउन खोजेको अवस्थामा भने सुन बरामद गरी भन्सारले उनीहरूलाई मुद्दा दायर गर्दै आएको छ । यसअघि मलद्वारमा समेत लुकाएर सुन तस्करी गर्नेहरूसमेत विमानस्थलमा पक्राउ परेका छन् । त्यस्तै, कतिपयमा धुलो बनाएरसमेत सुन तस्करी गर्ने प्रवृत्ति देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । 

नेपाल र खाडीलगायतका कतिपय देशमा एक तोला सुनको मूल्यमा करिब १० हजार रुपैयाँ फरक छ । सोहीकारण यसरी वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी हुने गरेको छ । जसकारण वैदेशिक रोजगारमा गएका कतिपय विपन्न युवाहरूसमेत तस्करीको मुद्दामा फस्ने गरेका छन् । तस्करीमा विमानस्थलमा कार्यरत भन्सार कर्मचारी, प्रहरी र अध्यागमन कार्यालयका कतिपयको समेत पटकपटक संलग्नता बाहिरिँदै आएको छ । 

१४ लाख जापानी येनसहित एक पक्राउ 
जापान जान लागेका एक युवक स्रोत नखुलेको जापानी मुद्रासहित विमानस्थलमा पक्राउ परेका छन् । मंगलबार दिउँसो सिंगापुर एयरलाइन्समार्फत जापान जान लागेका स्याङ्जाका रेशमराज भट्टराई १४ लाख ९० हजार जापानी येनसहित पक्राउ परेका हुन् । उनी श्रीमतीसहित जापान जान लागेका थिए । सो रकम वैधानिक रूपमा सटही गरेको कागजपत्र देखाउन नसकेपछि उनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीका प्रवक्ता एसपी हिमालय श्रेष्ठले बताए । उनी श्रम भिसामा जापान जाने क्रममा थिए । रेशम पक्राउ परेपछि उनकी श्रीमती विमानस्थलबाट फर्किएकी छन् । 

ad
ad