१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १७:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्षमा चौधरी निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:३७:oo

नेकपा (माओवादी केन्द्र)ले निर्वाचनबाट सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी चयन गरेको छ। अधिवेशन सम्पन्न भएको करिब तीन महिनासम्म पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो। धनगढीमा भएको निर्वाचनबाट प्रदेश कमिटी अध्यक्षसहित नौ पदाधिकारी निर्वाचित भएका छन्।

प्रदेश अध्यक्षमा हरि चौधरी ‘उत्सव’ ११४ मत ल्याएर विजयी भएका छन्। अध्यक्षका अर्का प्रतिद्वन्द्वी मानबहादुर धामी ‘सन्तोष’ले ९३ मत प्राप्त गरे। अध्यक्षमा निर्वाचित चौधरी राष्ट्रिय सभा सदस्य हुन्। उनी माओवादीको कैलाली जिल्लाको पूर्वइन्चार्ज, पूर्वकेन्द्रीय सदस्य र पूर्वपोलिटब्युरो सदस्य रहिसकेका छन्। धामी पार्टीको पूर्वकेन्द्रीय सदस्य हुन्। उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्।

उपाध्यक्ष पदमा मानसिंह माल १२४ मत, अक्कलबहादुर रावल सय मत र रणबहादुर कुँवर १०१ मत ल्याएर विजयी भए। तीन उपाध्यक्षका लागि सातजनाले उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा पराजित प्रेमप्रकाश भट्टले ८८, दुर्गा बडुवालले ३५, लोकबहादुर बोहाेराले ७२ र मीनबहादुर घर्तीले ५६ मत प्राप्त गरे।

सचिवमा जनकबहादुर बुढा सर्वाधिक १६४ मत ल्याएर विजयी भएका छन्। सचिवका प्रतिस्पर्धी अमरसिंह चौधरीले ३८ मत ल्याएकाे निर्वाचन समितिले जनाएको छ। सहसचिवमा रामबहादुर देवकर १४६, नन्दबहादुर साउद १५७ र अजिता श्रेष्ठ १०८ मत ल्याएर निर्वाचित भए। तीन सहसचिवमा पाँच प्रतिस्पर्धी थिए। प्रेमाकुमारी ओली ८६ र अमिनप्रसाद दहित ६५ मत ल्याएर पराजित भए। यसैगरी कोषाध्यक्षमा कमलाकुमारी शाह ११३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी बिनिता बिकले ८४ मत ल्याइन्।

प्रदेश कमिटीका २१६ सदस्य मतदाता रहेकोमा २१० मत खसेको निर्वाचन समितिका संयोजक केदारचन्द्र भट्टले जानकारी दिए। गत मंसिरमा भएको माओवादीको प्रदेश अधिवेशनले सहमतिका आधारमा २१६ सदस्यीय कमिटी गठन गरेको थियो। उक्त कमिटीबाट पदाधिकारी चयन गर्नुपर्ने भए पनि अध्यक्षमा सहमति नजुटेपछि कमिटीले अन्य पदाधिकारी पनि छान्न सकेको थिएन। अध्यक्ष चयनका लागि पटकपटक भएका बैठक र छलफलमा सहमति नजुटेपछि निर्वाचन भएको हो। 

माओवादी केन्द्रमा निर्वाचनबाट पहिलोपटक माथिल्लो कमिटी चयन गरिएको हो। निर्वाचनमा प्यानलसहित प्रतिस्पर्धा गर्न भने रोक लगाइएको थियो।

ad
ad