आक्रमण रोक्न रुसलाई चौतर्फी दबाब
युक्रेनमाथि जल, स्थल र आकाश सबैतिरबाट भइरहेको आक्रमण तत्काल रोकिनुपर्छ : एन्टोनियो गुटेरेस महासचिव, संयुक्त राष्ट्रसंघ
रुस र युक्रेनले जारी संघर्ष समाप्तिका लागि बेलारुसमा वार्ता गरेका छन् । तर, युक्रेनले युद्धविरामका लागि गरेको आग्रह रुसले अस्वीकार गरेको छ । यद्यपि, दुवै देशले वार्ता जारी राख्ने र केही दिनमै अर्को चरणको वार्ता गर्ने सहमति गरेका छन् ।
वार्ता जारी रहँदै गर्दा युक्रेनको राजधानी किभ र अर्को सहर खार्किवमा रुसले मिसाइल हमला गरेको छ । वार्ताकै बीच हमला बढेकाले रुस युद्धलाई थप चर्काउने तयारी गरिरहेको अनुमान छ । तनाव बढ्दै गएको र पाँच लाख मानिसले युक्रेन छाडेर छिमेकी देश पुगेको राष्ट्रसंघले बताएको छ ।
युक्रेनी सेनाका अनुसार वार्ता सुरु हुनुभन्दा केही समयअघि आक्रमणको गति सुस्त बनाएको रुसले वार्ता सुुरु भएसँगै भने युद्धलाई थप चर्काउँदै गएको छ । वार्ताटोलीमा युक्रेनका थुप्रै उच्चपदस्थ अधिकारी समावेश भए पनि राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की भने सरिक छैनन् । रुसी वार्ताटोलीमा को–को सहभागी छन् भन्ने खुलाइएको छैन ।
रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न चौतर्फी दबाब पर्न थालेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग डेढ घन्टा लामो टेलिफोन कुराकानी गरेर तत्काल युद्धविरामका लागि दबाब दिएको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रसंघको महासभामा युक्रेनमाथिको विशेष सत्रलाई सम्बोधन गर्दै युद्ध जसरी पनि रोकिनुपर्ने भनेका छन् । ‘युक्रेनमाथि जल, थल र आकाश चारैतिरबाट भइरहेको आक्रमण अहिल्यै रोकिनुपर्छ । युक्रेनका सहरहरूमा रुसी मिसाइल एवं गोलाबारुद दिनरात बर्सिरहेका छन् । राजधानी किभलाई चारैतिरबाट घेरा हालिएको छ,’ गुटेरेसले भने । उनले रुसले आवासीय भवनका साथै अन्य महत्वपूर्ण गैरसैन्य पूर्वाधारहरूलाई पनि निसाना बनाइरहेको प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् ।
संयुक्त राष्ट्रसंघकी मानव अधिकार उच्चायुक्त मिचेल बचेतेले रुसी आक्रमणबाट युक्रेनमा अहिलेसम्म एक सय दुई सर्वसाधारणको मृत्यु र तीन सय चारजना घाइते भएको बताएकी छन् । मर्नेहरूमा सात बालबालिका पनि छन् । यद्यपि, युक्रेनको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने अहिलेसम्म तीन सय ५२ सर्वसाधारण मारिएको उल्लेख छ । रुसी सेना र युक्रेनी सुरक्षाबलमा के–कति हताहती भयो भन्ने तथ्यांक भने अहिलेसम्म बाहिर आएको छैन ।
पुटिनले पनि थाले छलफल
पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफ्ना शीर्ष आर्थिक सल्लाहकारहरूसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । रुसी मुद्रा रुवलको मूल्य अमेरिकी डलरको तुलनामा अप्रत्यासित रूपले ४० प्रतिशतसम्मले खस्किएपछि रुसले सोमबार मस्को स्टक एक्सचेन्ज बन्द गरेको थियो । रुसी मुद्रा अप्रत्यासित अवमूल्यन भएर बैंक सञ्चालनमै समस्या आउन सक्ने चेतावनी विज्ञहरूले दिएलगत्तै रुसले ब्याजदरलाई दोब्बरभन्दा बढीले वृद्धि गरेर २० प्रतिशत पुर्याएपछि रुबलको मूल्य केही उक्लिएर २० प्रतिशत ऋणात्मकमा स्थिर भएको थियो ।
भारी अवमूल्यन हुँदा रुसी मुद्राको क्रयशक्ति र सर्वसाधारणको बचतमा ठूलो प्रभाव परेको छ । तर, यी वित्तीय प्रभावका बाबजुद रुसले आर्थिक प्रतिबन्धलाई परास्त गर्न कठिन नभएको र त्यससँग जुध्न पर्याप्त आर्थिक सक्षमता रहेको भनेको छ । रुससँग अहिले तेल र ग्याँसको बिक्रीबाट जम्मा गरिएको ६ खर्ब ३० अर्ब अमेरिकी डलरको सञ्चिति छ । तर, सञ्चितिलाई डलर, युरो र स्टर्लिङजस्ता विदेशी मुद्रा र सुनमा बदलेर राखेकाले रुसको केन्द्रीय बैंकमाथि नगद प्रवाहमा दबाब परेको देखिएको छ ।
युक्रेनमथिको रुसी आक्रमणको बदलामा पश्चिमा मुलुकले एकपछि अर्काे आर्थिक प्रतिबन्धका साथै नेटोको सैन्य तैनाथीलाई समेत बढाउन थालेपछि रुसी राष्ट्रपति पुटिनले युक्रेनमा अन्य मुलुकले दखलअन्दाजी गरे ‘आणविक अस्त्र’ उपयोगसमेतको अप्रत्यक्ष धम्की दिएका छन् । ह्वाइट हाउसका प्रवक्ता जेन पास्कीले रुसी राष्ट्रपति पुटिनले रुसको डिटरेन्स युनिटलाई उच्च सतर्कतामा रहन दिएको आदेशलाई क्रमेलिनको ‘तनावलाई अप्रत्यासित रूपले बढाउने’ र ‘उत्पादित धम्की’को संज्ञा दिएका छन् । महासभाको एघारौँ आपत्कालीन विशेष सत्रमा बोल्ने क्रममा महासचिव गुटेरेसले पनि आणविक अस्त्र प्रयोगको धम्कीलाई कसैगरी पनि जायज ठह¥याउन नसक्ने टिप्पणी गरेका छन् ।
युक्रेनलाई तत्काल युरोपेली संघमा समावेश गर्न जेलेनेस्कीको अनुरोध
युक्रेनका राष्ट्रपति जेलेनेस्कीले युरोपेली संघलाई युक्रेनलाई तत्काल संघमा समावेश गर्न अनुरोध गरेका छन् । ‘हाम्रो उद्देश्य युरोपेलीहरू सँगसँगै र समान हैसियतमा रहने हो । मलाई यकिन छ हामी यसलायक छौँ । र, यो सम्भव छ भन्ने मलाई विश्वास छ,’ टेलिभिजनबाट प्रसारित सन्देशमा जेलेन्स्कीले भनेका छन् । बिहीबार जेलेन्स्कीले एक भिडियो सन्देश जारी गरेर आफू क्रेमलिनको पहिलो र आफ्नो परिवार दोस्रो नम्बरको निसानामा रहेको बताएका थिए । ‘उनीहरू युक्रेनलाई राज्य प्रमुखविहीन बनाएर राजनीतिक रूपमा धराशायी बनाउन चाहन्छन्,’ जेलेन्स्कीले भनेका छन् । जेलेन्स्की अहिले कहाँ छन् भन्ने गोप्य राखिएको छ ।
गत बिहीबार युरोपेली नेताहरूसँगको फोन संवादमा उनले आफू जीवित नफर्किन सक्ने बताएका थिए । जेलेन्स्कीले शुक्रबार पनि रूसी आक्रमणकारीविरुद्ध युक्रेनको निरन्तर प्रतिरोधको घोषणा गर्दै छोटो भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा युक्रेनी नेताहरू भागेको हल्ला चलेपछि उनको सो पोस्ट जारी भएको थियो ।
जेलेन्स्कीले बारम्बार देश छाडेर नभाग्ने बताइरहेका छन् । विज्ञहरू रुसी फौजले किभ कब्जा गरे भने जेलेन्स्की या त मारिने या रुसको बन्दी हुने बताउँछन् । तर, उचित सञ्चार स्थापित भयो र युद्ध मोर्चामा युक्रेनी फौजले प्रतिरोध जारी राख्न सके भने उनले पश्चिमी युक्रेनबाट सरकार चलाउन सक्ने भनाइ युरेसिया सेनटर फर एट्लान्टिक काउन्सिलका वरिष्ठ निर्देशक तथा युक्रेनका लागि पूर्वअमेरिकी राजदूत निर्देशक जोन हर्बस्टकको छ । ‘अहिलेको मुख्य आशा भनेको रुसले दबाउन नसक्ने खालको बलियो प्रतिरोध उठ्ला कि भन्ने हो,’ हर्बस्ट भन्छन् । युनिभर्सिटी अफ पेन्सिल्भेनियाका रुस तथा पूर्वी युरोपेली अध्ययनका प्राध्यापक मिचेल ओरेनस्टाइन भने जेलेन्स्की किभबाट अपदस्थ भएसँगै पुटिनले आफ्नो छनोटको सरकार गठन गर्ने बताउँछन् ।
जेलेन्स्की युक्रेनबाट भागे सम्भवतः निर्वासित राज्य प्रमुख भएर रहनेछन् । थुप्रै देशको सरकारले विदेशको भूमिबाट निर्वासित सरकार चलाएको उदाहरण छन् । दोस्रो विश्वयुद्धको समयमा, पोलिस सरकार नाजी जर्मनी र सोभियत संघको आक्रमणपछि लन्डन सरेर त्यहीँबाट सञ्चालन भएको थियो । जेलेन्स्कीले निर्वासित सरकारको नेतृत्व गरे त्यो युक्रेनको हार त हुनेछ, तर लगत्तै युद्धको अन्त्य नहुन सक्छ । आगामी केही सातामै रुसले युद्धमा सफलता पाउन सक्छ । यद्यपि, तत्कालीन सफलताले प्रभावशाली प्रतिरोधलाई अन्त्य गर्छ कि गर्दैन ? अन्तर्राष्ट्रिय शक्तिको नजर त्यसमा हुनेछ ।
एजेन्सीको सहयोगमा