मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण १६ सोमबार १८:४९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाशिवरात्रिमा ८ लाखले पशुपतिको दर्शन गर्ने अनुमान, यस्तो छ ट्राफिक व्यवस्थापन (भिडियोसहित)

Read Time : > 3 मिनेट
२०७८ फाल्गुण १६ सोमबार १८:४९:००

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा आउने साधुसन्तको संख्या यो वर्ष पनि घटेको छ। गत वर्ष कोरोना संक्रमणका कारण भारतबाट थोरै संख्यामा मात्रै साधुसन्त आएका थिए। कोरोना संक्रमण घट्दै गए पनि यो वर्ष शिवरात्रिको पूर्वसन्ध्यामा करिब ३ हजार मात्रै साधुसन्त पशुपति आइपुगेका हुन्। 

त्यसमध्ये केही ढोंगी बाबा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पहिले–पहिले खास साधुसन्त आएर बस्ने ठाउँमा अहिले केही नक्कली साधुहरूसमेत आएर बसेका छन्। कोषका अनुसार यहाँ आएर खरानी धसेर बसेका सबै व्यक्तिहरू साधुसन्त होइनन्। खास साधुसन्तको संख्या भने निकै कम भेटिएको कोषले जनाएको छ। 

शिवरात्रिको वेला यहाँ आउने साधुसन्तलाई विशेष रूपमा मान्ने गरिन्छ। तर यो वर्ष भारतबाट आउने साधुसन्तको संख्यामा केही कमी देखिएको कोषका सदस्यसचिव मिलन थापाले जानकारी दिए। उनका अनुसार तीन हजार साधुसन्त पशुपतिनाथ क्षेत्रमा आइपुगेका छन्। केही साधु आउने अनुमान गरिएको छ। आइपुगेका मध्ये करिब ‘६० जना नागा बाबा’ पशुपतिनाथ मन्दिरबाहिर छन् भने अन्य साधुसन्तहरू पशुपतिनाथको परिसरमा छन्। 

योपटक भारतबाट कम साधुसन्त आएका छन्। ‘१५ गतेदेखि साधुसन्तहरू आउँछन्, तर यो वर्ष साधुसन्तको संख्या अलि कमै छ, आउने क्रम पनि जारी छ,’ उनले भने, ‘यहाँ आएका साधुसन्त, मन्दिरको आसपास र वनकाली आसपासमा बस्छन्।’ उनका अनुसार पछिल्लो समय नेपालकै विभिन्न ठाउँबाट साधुसन्तको नाममा ढोंगी साधुसन्त आएर पशुपतिनाथ क्षेत्रमा बस्ने गरेका छन्। 

त्यसमध्ये भारतबाट आएका साधुसन्तको पहिचान गरिने र उनीहरूलाई कोषले गर्नुपर्ने सेवा गर्ने सदस्य सचिव थापाले बताए। कोषले साधुसन्तलाई एकादशीको दिन स्वागत गर्छ भने शिवरात्रिको भोलि वा पर्सिपल्ट विशेष दान दक्षिणासहित बिदाइ गर्छ। तर पछिल्ला वर्षहरूमा नक्कली साधुसन्तको संख्या धेरै रहेकोले खास साधुसन्तको यकिन गर्न कठिन परेको कोषले जनाएको छ।

गाँजा नबाँड्न निर्देशन
कोषले साधुसन्तहरू बस्नको लागि गत वर्षहरूकै ठाउँ तोकेको छ। त्यस्तै मन्दिर आसपासमा बसेका साधुसन्तलाई होहल्ला नगर्न र गाँजा नबाँड्न निर्देशन दिएको छ। साधुसन्तलाई मन्दिरको अगाडि आगो बाल्न निषेध गरिएको छ। त्यस्तै मन्दिर क्षेत्रको सुरक्षाको लागि नेपाली सेना र नेपाल प्रहरीको टोली मन्दिर आसपासमा खटाइएको छ। यसबाहेक भक्तजनको सुविधाको लागि विभिन्न क्लब, स्काउट, नेपाल प्रहरी, टोल सुधार समिति, धार्मिक तथा अध्यात्मिक संघसंस्था, अस्पताललगायतले विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने बताइएको छ।  

फूल, माला र पेन्टिङले सजावट 
महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्र सिंगारिएको छ। फूलमाला र विभिन्न चित्र आकृतिहरू कोरेर पाशुपत क्षेत्रलाई सजाइएको हो। भगवान शिवसँग जोडिएका विभिन्न पेन्टिङ तथा चित्रकला भित्ताहरूमा कोरिएको छ। त्यसलाई हातले नछुने र नबिगार्न कोषले भक्तजनलाई आग्रह पनि गरेको छ। 

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्र विकास कोषले यस क्षेत्रलाई गत वर्षभन्दा फरक तरिकोले सिंगारेको हो। त्यस्तै मन्दिर प्रवेशद्वार पनि झकिझकाउ पारिएको छ। ठाउँठाउँमा फूल र मालाको सजावटसहित प्रवेशद्वार निर्माण गरिएको छ।  उक्त कार्यमा ७५ लाख रुपैयाँ खर्च भएको कोषले जनाएको छ। 

८ लाख भक्तजनले दर्शन गर्ने अनुमान 
शिवरात्रिको दिन मंगलबार पशुपतिनाथमा करिब ८ लाख भक्तजन पुग्ने अनुमान कोषले गरेको छ। विगतका वर्षहरूमा भन्दा यो वर्ष भक्तजनको संख्या धेरै हुन सक्ने अनुमान गरिएको हो। सोहीअनुसार तयारी तथा व्यवस्थापन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। 

उनका अनुसार नेपालबाट मात्रै नभएर भारतबाट पनि धेरै भक्तजन आउने अनुमान गरिएको छ। बाह्य भक्तजनको संख्या बढ्ने भएकोले पनि यो वर्ष पशुपतिनाथको दर्शन गर्नेहरूको संख्या बढ्ने अनुमान गरिएको हो। 

वृद्धवृद्धा र अशक्त व्यक्तिले लाइन बस्न नपर्ने 
शिवरात्रिको दिन दर्शनार्थीको लागि कोषले तीनवटा ढोकाबाट मन्दिर प्रवेश गर्न दिइने जनाएको छ। विगतका वर्षहरूकै रुटअनुसार दशनार्थीले मन्दिर प्रवेश गर्न पाउनेछन्। त्यस्तै, शिवरात्रिको दिन पशुपतिनाथको दर्शन गर्न पुग्ने वृद्धवृद्धा र शारीरिक रूपमा कमजोरी भएका व्यक्तिले लाइन बस्न नपर्ने कोषले जनाएको छ। ती व्यक्तिहरूलाई स्वयंसेवकले सहयोग गर्नेछन्। तर छुट्टै लाइनको व्यवस्था भने गरिएको छैन।  

यसरी गरिएको छ ट्राफिक व्यवस्थापन 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रवरपरको ट्राफिक व्यवस्थापन सहज पारिएको जनाएको छ। महाशाखाले ट्राफिक व्यवस्थापन योजनाबमोजिम ट्राफिक सहजीकरण गरेको हो। ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले वैकल्पिक सडक प्रयोगसँगै सवारी व्यवस्थापन गरिएको बताए। 

उनका अनुसार दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था गरिएको छ। नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ। 

तर भक्तजनहरूको भिडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक सडकको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए। उनका अनुसार दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिनेछ। 

सवारी पार्किङ कहाँ गर्ने ? 
भक्तजनहरूका सवारीसाधनहरूलाई सिफल चौर, गौरीघाट करिडोर, गुहेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङकाे व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारीसाधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासबाहक सरकारी सवारीसाधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ। 

तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरीघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारीसाधनहरूलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइएको छ। शिवरात्रि अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन गरिनेछ। 

पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।